नेपाललाई ‘हिन्दु राष्ट्र घोषणा गरेका’ शङ्कराचार्य काठमाडौंमा

0
92

काठमाडौं,

भारतको अयोध्यास्थित पुरीमा रहेको गोवद्र्धन मठका शङ्करार्चा स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौं आएका छन्।

नेपाललाई मात्र नभइ भारतलाई समेत हिन्दु राष्ट्र बनाउने अभियानमा लागेकाहरूका निम्ति निश्चलानन्द सरस्वती चिरपरिचत नाम हो।

आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चारवटा मठमध्ये गोवद्र्धन मठ एक हो। हिन्दुहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवद्र्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्।

तर गोवद्र्धन मठका शङ्कराचार्य नेपालमा मामिलामा विशेष चर्चामा आइरहन्छन्। उनी यसअघि पनि पटकपटक नेपाल आइसकेका छन्। यसपटक शिवरात्रीको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन्।

पशुपति क्षेत्र विकास कोषको निम्तोमा आएका उनको सुरक्षाको प्रबन्ध सरकारले मिलाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका स्वकीय सचिव बेनुप खत्रीले जानकारी दिए।

शनिबार महाशिवरात्रीका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ। यो कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर हुने छन्।

त्यसअघि शुक्रबारदेखि आइतबारसम्म बिहान ११ः३० बजेदेखि दिउँसो १ बजेसम्म उनको उद्वोधन कार्यक्रम राखिएको छ।

शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम पनि राखिएको विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन्।

शङ्कराचार्य निश्चलानन्द सरस्वती विश्वका विभिन्न देशहरूलाई हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा मत राख्ने गरेका छन्। तीन वर्षअघि उनले संयुक्त राष्ट्र संघले भारत, नेपाल र भुटानलाई हिन्दु राष्ट्रको मान्यता दिनुपर्ने धारणा राखेका थिए।

गत वर्ष जनकपुरमा आयोजित एउटा कार्यक्रममा उनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न कुनै नेता आवश्यक नपर्ने बताउँदै भनेका थिए,‘म घोषणा गर्दछु–नेपाल हिन्दु राष्ट्र हो।’

भारतीय सञ्चार माध्यमका अनुसार उनले सन् २०२५ सम्म भारत हिन्दु राष्ट्र बन्ने घोषणा पनि गरेका छन्।उनले नेपाल र भारतबीच रहेको सीमा विवादबारे पनि आफ्नो धारणा सार्वजनिक रूपमा व्यक्त गर्ने गरेका छन्।

नेपालसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सिमाना विवाद मित्रवत् रूपमा सुल्झाउन उनले भारतको केन्द्र सरकारलाई अपिल गरेका थिए।

नेपाल र भारतबीच गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्बन्ध रहेको भन्दै द्विपक्षीय समझदारीमा विवाद सुल्झाउनुपर्ने उनको आग्रह थियो।

शङ्कराचार्य निश्चलानन्द सरस्वतीको गोवद्र्धन मठ रहेको जगन्नाथ मन्दिरसँग नेपाली राजसंस्थाको पनि पुरानो सम्बन्ध छ। स्वामी निश्चलानन्दले आफू मठका शङ्करार्चा नियुक्त भएको २५ औं वर्ष गाँठको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई २०७४ सालमा निम्त्याएका थिए।

गोवद्र्धन मठका अनुसार शङ्कराचार्य निश्चलानन्दको जन्म नेपालसँग सिमाना जोडिएको बिहारको मधुबनी जिल्लाको हरिपुरमा विक्रम संवत २००० मा भएको हो। उनी विद्यार्थी कालमा बिहार र दिल्लीमा विद्यार्थी परिषदका पदाधिकारी थिए।

दिल्लीमा गौ रक्षा आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर उनले तिहाड जेलमा ५२ दिन बिताएका थिए।

करिब ३१ वर्षको हुँदा हरिद्वारमा स्वामी करपात्रीजी महाराजबाट सन्यास सम्पन्न भएपछि निलाम्बर झा ‘निश्चलानन्द सरस्वती’ बन्न पुगे। र, अहिले उनी मठका १४५ औं शङ्करार्चा छन्। आयाेमेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here