कनकाईका बासिन्दालाई बसीबसी सुविधा

0
91

विनोद सापकोटा/ झापा,

झापाको कनकाई नगरपालिकाले सेवाग्राही नगरवासीका लागि अनलाइन डिजिटलाइज सेवा शुरु गरेको छ ।

झापाका १५ स्थानियतह मध्ये कनकाई नगरपालिकाले यो प्रविधि पहिलो पटक सुरु गरेको हो । नगरवासीले नगरपालिकाबाट पाउने अधिकांश सुविधा एप मार्फत अब घरमै बसेर अनलाइन पाउने नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले बताए । उनले भने,‘ कुनैपनि वडाका बासिन्दाले नगरबाट हुने कामका लागि समय खर्च गर्नु पर्दैन । सबै कामहरु अब घरमै बसेर पाउन सकिन्छ ।’

कुनैपनि सेवाग्राहीले नगरपालिकाबाट लिने सिफारिसलगायत घरबहाल कर, ब्यवसाय दर्ता, नविकरण, कर, सम्पत्ती कर, सूची दर्ता,लगायतका सेवा अनलाइनमार्फत लिन सक्ने कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रले जानकारी दिएका छन् । यस्तो सेवा देशभरका अन्य स्थानीय तहले सुरु गरेको आफूलाई थाहा नभएको उनले बताए ।

उनले भने,‘ मुलुकभरका स्थानीयतहमा के छ मलाई त्यो थाहा भएन । तर १ नम्बर प्रदेशमा भने कनकाई नगरपालिका यो प्रविधि भित्र्याउने पहिलो स्थानीय तह पक्का बनेको छ ।’
अनलाइन मार्फत नगरले सेवा दिएपछि विश्वका जुनसुकै कुनामा भएका कन्काई नगरवासीले आवश्यक सेवा लिन सक्ने मिश्रले सेतोपाटीलाई बताए ।

अधिकृत मिश्रका अनुसार स्थानीय सरकार सञ्चालन ऐनले ब्यवस्था गरे अनुसारका सवै प्रकारका सिफासिरहरु अनलाइनको प्रयोग गरी घरबाटै लिन अब सकिन्छ । त्यसका लागि सेवाग्राही प्रविधिमा पोख्त र साक्षर हुन जरुरी छ ।

अनलाइन सेवाका बिषयमा नगरबासीलाई जानकारी गराउने उदेश्यले फागुन १० गतेदेखि फागुन महिनाभर नगरका वडा तथा बिभिन्न स्थानमा प्रचारप्रसार कार्यक्रमको आयोजना गरिएको अधिकृत मिश्रले बताएका छन्।

गएको साउनेदेखि अनलाइन डिजिटलाइज सेवा नगरमा शुरु भएको थियो । तर,केही समस्या भएपछि यो सेवा रोकिएको मिश्रले बताए । ‘अहिले सबै समस्या हटेर लाभग्राहीले अनलाइन सेवा लिन थालिसकेका छन्,’ उनले भने ।

यो सेवा सुरु भएपछि वडा नं. १ बाट १०६०, २ बाट ७९५, ३ बाट १७७२, ४ बाट २३६, ५ बाट ५३७, ६ बाट ५६५, ७ बाट १११३, ८ बाट ६०६ र ९ बाट ४९३ वटा बिभिन्न सेवा अनलाइनमार्फत दिएको कनकाई नगरपालिकाको सूचना शाखाले जनाएको छ ।

नगरपालिकामा यो प्रविधि लागू भएपछि नगरवासीको व्ययभार बच्नुका साथै उनीहरु झन्झटबाट मुक्त भएका छन् । स्थानीयले भने ‘१ सय कर तिर्न पूरा दिन र ५ सय खर्च हुन्थियो ।अब, समय र पैसा दुवै बचत हुने भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here