उँटकी करबट र राष्ट्रपति निर्वाचन

0
173

प्रारम्भ :

नेपालको राजनीतिमा अहिले राष्ट्रपतिको निर्वाचन चर्चाको केन्द्रमा छ । गत पुस १० गते ओली र प्रचण्डको बीचमा बालकोटमा भएको सहमतिलाई हेर्ने हो भने राष्ट्रपतिमा एमालेका उम्मेदवार जित्ने पक्का छ । तर, राजनीति सरल रेखाबाट बग्दो रहेनछ ।

बक्र रेखा मन पराउने राजनीतिको बहाब अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेकोले निर्वाचनको परिणाम पनि बक्र नै आउने अनुमान र विश्लेषण गरिँदैछ । तर, नेपालको राजनीति दैवले पनि जान्दैनन् भने सिद्धान्त, मूल्य, मान्यता र सहमतिको आधारमा विश्लेषण गर्न खोज्ने हामी बबुरा विश्लेषकहरुको अनुमान पुग्ने आशा गर्नु पनि व्यर्थै जस्तो लाग्छ ।

जे भए पनि विश्लेषण गरी राख्यो भने चिठ्ठा परेजस्तो मिल्न पनि सक्छ भनेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कसको पल्ला भारी होला भनेर सामान्य विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
राष्ट्रपतिलाई २०७२ सालमा जारी भएको संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सेरेमोनियल मानेको छ । तर, संविधान जारी भएपछिको गणतन्त्रकी राष्ट्रपति विद्यादेवी भण्डारीले भने आफू खुशी ब्याख्या गरेर कार्यकारी प्रयोग गरेकोले अब सबै दलको ध्यान, आउने राष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको हो ।

गणतन्त्र घोषणा भएपछि नयाँ संविधान जारी नहुँदै अन्तरिम संविधानले पनि राष्ट्रपतिलाई सेरेमोनियल मानेको थियो । तर, नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले पनि प्रधान सेनापति कटुवालको बर्खास्तीलाई थमौती गरेर एकपटक कार्यकारी अधिकार प्रयोग गरे । त्यसलाई आवश्यकताको सिद्धान्त भनी व्याख्या गरियो । नयाँ संविधान २०७२ जारी भएपछि राष्ट्रपति भएकी भण्डारीले संविधानको संरक्षकको नाताले भन्ने नवीन ब्याख्या गरेर संसदले दुई–दुई पटक पारित गरी स्वीकृतिका लागि पठाएको नागरिकता विधेयक रोकिन् ।

प्रचण्डको भूमिका :

जसले जस्तो ब्याख्या विश्लेषण गरे पनि अब बन्ने राष्ट्रपति माओवादी अध्यक्ष प्रचण्डको निर्णयमा हुने निश्चित छ । प्रचण्डले केही दिनयता राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा गरौं भन्ने प्रस्ताव गठबन्धनको बैठकमा राखेका छन् । उनको राष्ट्रिय सहमति ओलीले भने जस्तो एमालेको उम्मेदवारका लागि हुन सक्दैन भन्ने छैन, हुन्छ भन्ने पनि छैन । अर्थात प्रचण्डको राष्ट्रिय सहमति उनकै ब्याख्या अनुसारको हुन्छ । अरुले गरेको ब्याख्या काम लाग्दैन ।

राष्ट्रपतिमा कांग्रेसले च्याँखे थाप्ने निश्चित छ । एमालेले त उम्मेदवारी दिने नै हो । तेस्रो व्यक्तिले पनि उम्मेदवारी दिन सक्छ । तर, अहिलेको अवस्थामा दुईवटा उम्मेदवार नै होलान् भन्ने पंक्तिकारको ठहर हो । दुई उम्मेदवार हुँदा प्रचण्डको राष्ट्रिय सहमतिको ब्याख्या कांग्रेसको उम्मेदवारका लागि हो वा डेमोत्र्mयाट व्यक्तित्वका लागि हो वा माओवादीकै कुनै नेताका लागि हो अथवा ओलीकै उम्मेदवारका लागि हो, यसै भन्न सकिन्न ।

प्रचण्डले आफैंले निर्णय गर्न सके भने कांग्रेसका कुनै प्रभावशाली नेतालाई राष्ट्रिय सहमति गराऔं भन्न सक्ने भए होइन विदेशी प्रभुको निर्देशन माने भने बामपन्थी बाहेकको व्यक्तित्वलाई उनले राष्ट्रिय सहमतिका लागि कांग्रेस मार्फत अघि सार्न लगाउन सक्छन् । ओली प्रचण्ड बैठक बाक्लिँदोछ । सम्भावना सबैतिर छ । हिन्दीमा रहेको एउटा उखानलाई सापटि लिँदा भन्नुपर्छ– उँट उस समय किस करबट लेगी किसीको पता नहीं । किनकि नेपाली राजनीतिमा प्रचण्ड उँट हुन् र उनको भूमिका कस्तो हुन्छ भन्ने अड्कल काट्न सकिन्न ।

निर्वाचन प्रक्रिया :

२०७९ साल फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता हुँदै छ । त्यो उम्मेदवारी पछि र मतदान हुँदासम्म पनि प्रचण्डले कस्तो निर्णय लिन्छन् यसै भन्न सकिन्न । तर, नयाँ राष्ट्रपति को हुन्छ भन्ने मोटामोटी जानकारी उम्मेदवारी दर्ता भएपछि थाहा हुने छ । भन्न त फागुन १० गतेभित्र माओवादी केन्द्रको बैठक बस्ने र निर्णय लिने भन्ने चर्चा भएकोले त्यो भयो भने त्यसबाट पनि ओलीको उम्मेदवारले जित्ने वा हार्ने थाह लाग्छ ।

जे होस यसपटक राष्ट्रपति प्रचण्डको समर्थनको हुने लगभग पक्का नै छ । राष्ट्रपतिको निर्वाचनले अहिलेको ओली प्रचण्ड गठबन्धन भत्किने वा थामिने कुरा पनि निर्भर हुने भएकोले यसको व्यापक चर्चा भएको हो । राष्ट्रपतिको निर्वाचन गर्न प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुको मतबाट हुने व्यवस्था संविधानमा भएको र त्यो गोप्य मतदानका आधारमा हुने भएकोले जसले पनि जित्न सक्छ । प्रतिनिधि सभामा विद्यमान मत दिन पाउने सदस्य दुई सय ७१ र प्रदेश सभाका पाँच सय ५० गरी आठ सय २१ मत रहेको छ । तर, प्रतिनिधि सभा र प्रदेश सभाको मत भार फरक हुन्छ ।

प्रतिनिधि सभाका सदस्यको प्रति सदस्य ८४ मतभार छ भने प्रदेश सभाका प्रति सदस्यको मतभार ४८ रहेको छ । अर्थात दुबैको गरेर ४९ हजार पाँच सय मत हुन्छ । तर, प्रतिनिधि सभाका चार जना सदस्यले मत हाल्न पाउँदैनन् । रवि लामिछानेको सदस्य बदर भएको, एमालेका एकजना सदस्य फरार रहेको कांग्रेसका एकजनाले मत हाल्न नपाउने र नागरिक उन्मुक्तिका एक सदस्य पक्राउमा परी जेलमा रहेकोले जम्मा मत ४९ हजार एक सय ६४ मत हुन्छ । जम्मा मतभारको पचास प्रतिशत मत कटाउने उम्मेदवार विजयी हुन्छ । यसैले विजयी हुन कम्तीमा २४ हजार सात सय ५१ मत ल्याउनुपर्ने हुन्छ ।

कांग्रेसको उम्मेदवार जित्न कसको कति मत :

कांग्रेसका प्रतिनिधि सभाका मत हाल्न पाउने ८८ र प्रदेश सभाका एक सय ७४, माओवादीका प्रतिनिधि सभामा ३२ र प्रदेश सभामा ८३, माधव नेपालको पार्टीका प्रतिनिधि सभामा १० र प्रदेश सभामा २४, लोसपाका प्रतिनिधि सभामा चार र प्रदेश सभामा १२, राजमोका प्रतिनिधि सभामा एक र प्रदेश सभामा एक गर्दा यस्तो गठबन्धन भयो भने यसको मत भार २५ हजार चार सय ५२ हुन्छ ।

यो बाहेक कांग्रेस उम्मेदवारलाई जसपा र जनमत पार्टी को पनि समर्थन हुन सक्छ । यसो भयो भने यसमा तीन हजार ५० मत थप हुन सक्छ । यस मतले कांग्रेसको उम्मेद्वार राष्ट्रपतिमा सहजै विजयी हुन्छ । होइन एमालेको गठबन्धनमा माओवादी कायमै रह्यो भने र अहिलेको सत्ता गठबन्धन कायमै भयो भने एमालेको राष्ट्रपतिको उम्मेदवार सहजै विजयी हुन्छ ।

त्यसैले प्रचण्डको मत राष्ट्रपतिमा निर्णायक भएको हो । तर, माथि नै उल्लेख भइसक्यो प्रचण्ड उँट हुन् कुनवेला कता करबट बदल्छन् थाह हुन्न । तर,यो आलेख तयार पार्दासम्मको राजनीतिक परिस्थिति र प्रचण्डको बोलीको टुंगो भयो भनेका आधारमा विश्लेषण गर्दा यसपटक एमालेको राष्ट्रपति हुने आशा झिनो छ । यात कांग्रेसको हुन्छ अथवा कुनै डेमोत्र्mयाट व्यक्तित्व राष्ट्रपति हुन्छ । यसका लागि फागुन २५ सम्म पर्खनैपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here