हात्तीपाइले : ९ लक्षण र लाग्नै नदिने ७ उपाय

0
208

हात्ती पाइले रोगबिरुद्धको औषधि आजबाट झापामा सञ्चालन हुँदैछ । हात्तीपाइले रोगविरुद्धको १२औं चरणको आम औषधि सेवन अभियान आजबाट शुरु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा ११औंपटकसम्मको अभियानले सफलता प्राप्त गर्न नसकेपछि १२औंपटकको आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । देशभरका १५ जिल्लामा हात्ती पाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन गरिने जनाइएको छ । मुलुकमा अझै पनि ३० हजार नागरिक यो रोगबाट संक्रमित रहेको जनाइएको छ ।

हात्तीपाइले रोग भनेको के हो ?

हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो र यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

हात्तीपाइले रोग कसरी सर्छ ?

– लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारीदिन्छ ।
– यसरी लामखुट्टेले हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिलाई सार्ने काम गर्दछ ।

हात्तीपाइले रोग लाग्दा देखिने लक्षणहरु के–के हुन् ?

शुरूशुरूमा यो रोगको परजीवी मानिसको शरीरभित्र भएता पनि हात्तीपाइले रोगको कुनै लक्षण देखिँदैन । लामो समयपछि एक वर्ष वा त्योभन्दा बढी समयपछि मात्र रोगको लक्षणहरू देखिनसक्छ ।

– ज्वरो आउनु
– जाडो लाग्नु
– शरीरमा विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्नु
– हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु
– महिलाहरूलाई यो रोग लागेको भए स्तन
फुलेर ठूलो हुनु
– पुरुषहरुलाई यो रोग लागेको भए अण्डकोष
ठूलो हुन वा हाइड्रोसिल हुनु
– बिरामीका यौन अंगहरू सुन्निनु
– रोग पुरानो हुँदै गएमा गोडा फुलेर
हात्तीको जस्तो ठूलो हुनु

– बिरामीको पिसाब सेतो रंग वा दही जस्तो हुनु यो रोगले शारीरिक असमर्थता पनि हुने भएकोले मानसिक तनाव । बढी भई कामकाज गर्न सकिँदैन ।

हात्तीपाइले रोग लागेमा के गर्ने ?

– हात्तीपाइले रोगका लक्षणहरू देखिएमा सेवा, सल्लाह तथा उपचारको लागि तुरून्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

– यो रोगबाट बच्नको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा कार्यक्रम लागू भएका जिल्लाहरूमा प्रत्येक वर्षमा एकपटक गरी ६ वर्षसम्म लगातार औषधी सेवन गर्नुपर्छ । स्थानीय तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम्सेवकहरूमार्फत औषधि वितरण केन्द्र तथा घरदैलोमा गई निःशुल्क वितरण गरिने औषधि सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपयुक्त उपाय हो । यो औषधि वर्षको एकपटक गरी ६ वर्षसम्म लगातार सेवन गर्नुपर्छ अनि मात्र आफू र आफ्ना सन्तानहरूलाई पनि यो रोगबाट बचाउन सकिन्छ ।

हात्तीपाइले रोग नै लाग्न नदिन के गर्ने ?

हात्तीपाइले लामखुट्टेको टोकाइबाट लाग्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न यी निम्न उपायहरू अपनाउनु पर्छ ः
– सुत्ने बेलामा सँधै झुल प्रयोग गरी सुत्ने
– पुरा बाहुला भएको लुगा र सम्पुर्ण शरीर छोप्ने लुगा लगाउने
– घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मलम लगाउने।
– लामखुट्टे भगाउने धुप बाल्ने लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने
– झ्यालढोकामा मसिनो जाली लगाउने
– गाउँ नजिकै पोखरी भएमा लामखुट्टेले फूल(लार्भा) नपरोस् भन्नाका लागि लार्भा खाने माछा पाल्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here