जासुसी बेलुनको कथा उड्छ कता–कता

0
155

विकासोन्मुख देशहरुलाई त्यति चिन्ता नहोला आफ्नो देशमाथि कसैले त्यति धेरै जासुसी गर्लान् भनेर । यी देशहरु आफ्नै दैनिक गतिविधिमै सीमित रहन्छन् र विकासशील या विकसित हुने सपना बोकेर क्रियाशील रहन्छन् । अनि आफूमाथि अरु देशले जासुसी गरिरहेका होलान् भनेर समय दिने फुर्सद पनि हुँदैन र उनीहरुसँग उच्च प्रविधिका जासुसी या प्रतिजासुसी प्रणाली पनि हुँदैनन् ।

विकसित देशहरुको भने चिन्तै अर्कै । उनीहरु एकले अर्कालाई उछिन्न स्वस्थदेखि अस्वस्थ प्रतिष्पर्धामा हुन्छन् । विभिन्न षड्यन्त्रमा पनि लागेका हुन्छन् । उन्नतभन्दा उन्नत प्रविधिका साजो सामान बनाएर एक देशले अर्को देशको जासुसी गरिरहेका हुन्छन् । एक देशले अर्को देशको गोप्य गतिविधिहरु पत्ता लगाएर आफू अगाडि बढ्नुपर्छ । आफू नै विश्वको सुपेरियर बन्नुपर्छ भन्ने उद्देश्यले सुन्दै अचम्म लाग्ने जासुसी गतिविधि गरिरहेका हुन्छन् ।

केही दिनअघि अमेरिकाले आफ्नो हवाई क्षेत्रमा एउटा चिनियाँ बेलुन उड्यो भनेर खसालेको थियो । यो बेलुन सैन्य जासुसी गर्ने उद्देश्यले पठाइएको भनेर अमेरिकाले चीनलाई आरोप लगाएको छ । तर, चीनले अमेरिकी आरोपको खण्डन गर्दै बेलुन मौसम अध्ययनमा संलग्न रहेको बताएको छ । चीनको बेलुन अमेरिकी हवाई क्षेत्रमा उडेको घटना अहिले पत्ता लाग्यो, तर अमेरिका धेरै पहिले नै यस्तो हर्कतमा निकै अगाडि रहेको चाख लाग्यो घटना पत्ता लागेको छ ।

सन् १९५० को दशकतिरै अमेरिकाले आफ्नो जासुसी कार्यक्रम अन्तर्गत चीन र सोभियत संघमाथि तातो हावाको सहायताले उड्ने बेलुन पठाउने गरेको थियो । यो इतिहासको त्यो कालखण्ड थियो जब विश्वका दुई महाशक्तिबीचको तनाव चरमोत्कर्षमा थियो । अमेरिकामा यो चेतावनी बारम्बार जारी गरिएको थियो कि कुनै पनि बेला रुसबाट आक्रमण हुन सक्छ ।

अमेरिकाका राष्ट्रपति डेविड आइजनहावरले रुसको तर्फबाट हुनसक्ने हमलाको जासुसी गर्न कथित रुपमा एक ब्लाक अपरेशन शुरु गर्न अनुमति दिएका थिए । अमेरिकाले यस जासुसी कार्यक्रमको नाम सेन्सिन्ट (सेन्सिटिभ इन्टेलिजेन्स) राखेको थियो । यस अन्तर्गत बेलुन मार्फत शत्रु मुलुकका हवाई क्षेत्रमा गएर सूचना सङ्कलन गरिएको थियो । जहाँसम्म चीनको जासूसीको कुरा छ, अमेरिकाले सन् १९४९ देखि नै चीनलाई अस्थिर पार्न यस्तो गर्दै आएको थियो । चीनमा त्यसैसालतिर लामो क्रान्तिपछि कम्युनिष्ट नेता माओत्से तुङ्गले पुरानो सरकारलाई बर्खास्त गरी पिपुल्स रिपब्लिक अफ चाइनाको स्थापना गरेका थिए । तर, अमेरिका चाहन्थ्यो कि, चीनमा मानिसहरु माओको खिलाफ खडा होउन् र कम्युनिष्ट सरकारको तख्तापलट होस् ।

अमेरिकी राष्ट्रिय अभिलेखालयले सार्वजनिक गरेको कागजात अनुसार सीआईएले खतराबाट बच्न जेनेटिक्स नामक कार्यक्रम शुरु गरेको थियो । त्यस अन्तर्गत हवाईजहाजको साटो बेलुन पठाइएको थियो । त्यसमा हाई रिजोलुसन क्यामेरा जडान गरिएको थियो । ती बेलुनहरू शत्रु राष्ट्रहरूको हवाई क्षेत्रमा प्रवेश गर्थे र सैन्य गतिविधिहरूको तस्वीर लिन्थे । अमेरिकाका ती बेलुनहरू दुई सय फिट आकारका ठूला थिए । अमेरिकाले केही दिनअघि खसालेको भनिएको चिनियाँ बेलुन जत्तिकै ठूलो थियो । ती बेलुनलाई ८० हजार फिटसम्मको उचाईमा उड्न सक्ने बनाइएको थियो । प्रत्येक बेलुनको साथमा ठूला आकारका, बहु–कक्षीय उपकरण जडान गरिएका थिए, जसले बेलुन मिशनलाई २ हप्तासम्म टिक्न सहयोग गर्दथ्यो ।

अमेरिकाले सन् १९५६ को जनवरीमा टर्की र त्यसपछि पश्चिम जर्मनीबाट नौ वटा बेलुन पठाएको थियो । ती स्थानहरूबाट हावाको दिशाका कारण बेलुनहरू सोभियत संघ र चीनका केही भागहरूमा सजिलै पुग्न सक्थे र प्रशान्त महासागर क्षेत्रतिर सजिलै सर्न सक्थे । अमेरिकी कार्गो पानी जहाजहरू त्यहाँ तयार बस्थे, जसले बेलुनमा संलग्न जासुसी उपकरणहरु र क्यामेरामा कैद गरिएका फोटाहरू अन्य इलेक्ट्रोनिक सामग्रीहरू संकलन गरेर अमेरिका लग्दथे ।

एनआरओको रिपोर्ट अनुसार यो सम्पूर्ण जासुसी अभियान ग्लोबल मेटेरोलोजिकल रिसर्च प्रोग्रामको आडमा गरिएको थियो । यस कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय जियोफिजिकल वर्षको ढाँचामा वैज्ञानिक डेटा सङ्कलन गर्नु भनिएको थियो । एनआरओको रिपोर्ट अनुसार राष्ट्रपति आइजनहावर आफैले अन्तर्राष्ट्रिय भूभौतिकी वर्षको ब्याख्या गर्दै भनेका थिए, यो सम्पूर्ण विश्वका सबै मानिसहरू मिलेर काम गरिरहेको र सबैको भलाइका लागि एकजुट भएको सङ्केत हो । तर, सोभियत संघले अमेरिकाको यो चाललाई तुरुन्तै बुझ्यो । सोभियत संघले अमेरिकाको सो कार्यक्रमको निन्दा गर्दै यसलाई सोभियत संघको सार्वभौमिकता माथिको आक्रमण भनिदियो ।

आफ्नो हवाई क्षेत्रको उल्लङ्घनबाट क्रुद्ध भएर सोभियत संघले अमेरिकी बेलुनहरुलाई लखेटेको थियो । यससँगै सोभियत संघले अमेरिकालाई निकै क्रुद्ध सन्देश पनि पठाएको थियो । अमेरिकी साजुसीका परियोजनाका प्रतिनिधि जोन फोस्टरले पत्रकार सम्मेलनमा भने थिए, यो मिसन मार्फत हामी जेट स्ट्रिमसँग सम्बन्धित केही नयाँ र अति महत्वपूर्ण डाटा संकलन गरिरहेका छौँ । यो हाम्रो परियोजनाको एक भाग हो जुन सम्पूर्ण विश्वको लागि महत्वपूर्ण छ । तर, त्यसपछि राष्ट्रपति आइजनहावरले बेलुनबाट जासुसी गर्ने मिसन नै रोकेका थिए । जुन निर्णय रहस्यमय रह्यो ।
तर, आइजनहावर प्रेसिडेन्सियल लाइब्रेरीको अभिलेख हेर्ने डेभिड हायातका अनुसार राष्ट्रपतिको चिन्ता जासुसी कार्यक्रमका लागि गोप्य योजना बनाउन असफल हुनुभन्दा पनि जासूसी कार्यक्रमबारे सूचना चुहिएकोमा अमेरिका बढी चिन्तित थियो । केही स्रोतका अनुसार अमेरिकाले अपरेशनपछि पाँच सय १२ बेलुन उडाएको थियो । जसमध्ये ४५ वटा मात्र फिर्ता लिन सफल भएको थियो । ती मध्ये पनि ३२ वटा बेलुनले मात्र उपयोगी सूचना संकलन गर्न सकेको पाइएको थियो ।

यद्यपि, त्यस अपरेशनमा, एक तस्वीर या तथ्य निश्चित रूपमा प्राप्त भएको थियो जसको खुफिया महत्व पछि प्रकट भएको थियो । तस्वीरमा सोभियत रुसको साइबेरिया क्षेत्रमा एउटा गोप्य आधार निर्माण भइरहेको देखिएको थियो । यसको गहन विश्लेषणपछि सोभियत रुसले त्यहाँ आणविक रिफाइनिङ फ्याक्ट्री निर्माण गरिरहेको भन्ने निष्कर्षमा अमेरिका पुग्यो । तथापि, अमेरिकी वायु सेनाले सन् १९५८ सम्म जासुसी बेलुनहरू बनाइरह्यो । यद्यपि, त्यसले कुनै ठूलो सफलता प्राप्त गर्न सकेन । तर, आज यस प्रविधिको माध्यमबाट धेरै देशहरूले सूक्ष्मतम् विवरणसहित पृथ्वीको सम्पूर्ण सतहको तस्वीर लिन सफल भएका छन् ।

चीनको बेलुन अमेरिकी आकाशमा पुगेको घटनाले एकफेर पुराना जासुसी बेलुनका कथा याद गराएको छ । जसले युक्रेनसँग युद्धमा अल्झेको रुस पुराना घटना सम्झदै सतर्क बनेको होला । तर, अमेरिकामा निकै हल्लीखल्ली मच्चिएको छ । बेलुन घटनाले गर्दा अमेरिका र चीन दुबै देश बयानबाजीमा उत्रेका छन् । जसले गर्दा उनीहरुबीचको सम्बन्ध चिसिँदो छ । जसले विश्वलाई नै हानी पुग्ने अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here