सत्तास्वार्थमा रुमलिएको राजनीति

0
128

निक्कै पेचिलो बनेको राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता भएसँगै विगतको अन्यौलको पनि अन्त्य भएको छ । नेपाली राजनीतिमा देखिएको सत्तालिप्साको बिद्रुप रुप पनि अनुभूत गर्न पाए सबैले । सत्ता बिना बाँच्नै नसक्ने नेपाली राजनीतिक दलहरुको चरित्र पनि देखायो यसबीचको गतिविधिले । आमनिर्वाचनले दिएको परिणामका आधारमा एकल सरकार बनाउन नसक्ने दलहरु गठबन्धन गरेर पनि एकअर्कामा विश्वास गर्न नसक्दा विभाजित भए । सिंगो र बलियो जनाधिकारसहितको नेकपा टुक्रिएर कांग्रेसको नेृतत्वमा सरकार निर्माण गर्न गएकै दिनदेखि बढेको आशंका अन्ततः प्रधानमन्त्री निर्वाचनका दिन प्रकट भयो । ‘बाप बैरी’ सरहको एमालेसँग गठजोर गरी कार्यकारी प्रमुख बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जनादेश नहुँदा नहुँदै पनि प्रधानमन्त्री भए ।

सत्ताको केन्द्रमा रहने उनको लालसाले विगतमा नेपाली कांग्रेससँगको कार्यगत एकता टुक्रियो । परिणाम अनपेक्षित हुने नै हो । तर, आमजनताले त्यति सजिलै र सहजै समीकरण फेरिएला अनुमान पनि गरेका थिएनन् । यद्यपि नेपाली राजनीति सत्ता, शक्ति, सुख र व्यक्ति स्वार्थबाट सञ्चालित छ भन्ने विगतका घटनाहरुले प्रमाणित गरेकै थियो । तर, पनि गल्तीबाट सिकेर, सच्चिएर अब चाहिँ राजनीतिक व्यवहार र चरित्र फेरिन्छ कि भन्ने झिनो आशा चाहिँ बाँकी थियो । तर, राष्ट्रपति पदका लागि यही फागुन २५ गते हुने निर्वाचनका लागि वर्तमान सत्ता गठबन्धनका दलहरुका बीच मतैक्यता नहोला– धेरैले चिताएकै थिएनन् । तर, आखिरी समयमा त्यही भयो अर्थात् सहमतीय राष्ट्रपति खोज्ने र सबै दललाई सत्ता सझोदार बनाउने स्वार्थमा र भागबण्डा मिलाउने दाउमा सत्ताको सबैभन्दा ठूलो दल एमाले पछि प¥यो ।

राष्ट्रपति निर्वाचनका विषयमा पटक–पटक भएको वार्ता, छलफल र भेटघाटले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई लाभ हुनु अनौठो चाहिँ होइन । तर, आलंकारिक पद प्राप्तिलाई नै ‘जीवन–मरण’को विषय बनाउनु कांग्रेसका लागि गौरवको कुरा हुँदै होइन । वर्तमान सत्ता समीकरण तोड्न शुरुदेखि नै लागेको कांग्रेसले यसैलाई जित ठान्यो भने इतिहासकै लागि यो दुर्भाग्यपूर्ण हुनेछ । होला तत्काल संघीय र प्रादेशिक सत्ता समीकरण फेरिएला, तर सत्ता बिना बाँच्नै सक्दैन भन्ने ‘दाग’ उसको निधारबाट कहिल्यै मेटिँदैन । सत्ता प्राप्तिको यो लुछाचुँडी र कुटीलताले नेपाली राजनीतिलाई घिनलाग्दो, फोहोरी र स्वार्थपूर्तिको दाउपेचका रुपमा परिभाषित ग¥यो भने नेपाली राजनीतिले निर्बिध्नताको यात्रा तय गर्न सक्ने छैन । जे भए पनि मनोनयन दर्ता भएपछि भोलि नयाँ राष्ट्रपति निर्वाचित हुनेछन्, तर तिनले राष्ट्रिय एकताको प्रतीक बनेर राष्ट्रको गरिमा कति उठाउँछन् भविष्यले स्पष्ट गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here