पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धन सम्बन्धि योजना तयारी अभिमुखीकरण माईमा सम्पन्न

0
121

विमल दहाल , इलाम ।

पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागी योजना तयारी अभिमुखीकरण माई नगरपालिका इलाममा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय इलामको आयोजनामा भएको गोष्ठीमा बोल्दै माई नगरपालिकाका नगर प्रमुख खम्बा सिं लिम्बुले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न तथा गुणस्तरिय सेवा प्रदानका लागी सवै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यकर्मीले अगुवाइ गर्नुपर्ने बताउनुभयो। बालबालिका स्वास्थ्य नभए सवै क्षेत्र कमजोर हुने बताउनु हुदै मेयर लिम्बुले स्थानीय सरकार समेत स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको जानकारी दिनुभयो। मेयर लिम्बुले स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरियताका लागी विभिन्न योजना सहित बजेट विनियोजन गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका प्रमुख डाक्टर आदित्य शाक्यले स्थानिय तहले स्वास्थ्यलाई विकासको विषयलाई प्राथमिकता दिनु पर्ने बताउनु भएको छ । उहाँले हरेक पालिका र वडाले स्वास्थ्यलाई समेट्ने गरि कार्यक्रम निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । पालिका र जिल्ला पुर्णखोप घोषणा भएपनि कार्यान्वयन प्रक्रिया कमजोर भएकोले सबै मिलेर कार्यान्वयनमा लाग्नु पर्ने बताउनु भयो।

कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर निरीक्षक गंगाधर पण्डितले खोपको अवस्था , खोपको महत्व , पूर्ण खोप कार्यक्रमको उद्देश्य , पूर्ण खोप सुनिश्चितता घोषणाको प्रक्रिया लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो ।

यस्तै माई नगरपालिका प्रमुख प्रशासनिक अधिकृत गणेश अधिकारीले स्वास्थ्यकर्मीले ० देखि १५ महिना र १६ देखि ५९ महिना सम्मको बालबच्चाको अबस्थाको तथ्यांक संकलन गरी कार्ययोजना निर्माण गर्न, थप खोप केन्द्र चाहिने नचाहिने एकिन गर्न र नगरको थप सहयोग आवश्यक हो होइन निर्णय गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिनुभएको छ।

माई नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुष्कर कट्टेलले नगरपालिका भित्र खोपको अवस्थाको बारेमा जानकारी गराउदै अभिलेखमा खोपको पहुँच कम देखिए पनि सवैले खोप पाएको बताउनुभयो । उहाँले पछिल्लो दुई बर्षको अवधिमा नगरका अधिकतम जनता खोपको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक गर्नुभयो । प्रमुख कट्टेलले तथ्याङमा अभिलेख नराखेका कारण कम प्रतिशत खोपमा पहुँच देखिएको समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्तिताका लागि सवै वडामा आगामी असार महिना भित्र घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँच सम्म पुर्याउने निर्णय गरिएको छ ।

माई नगरपालिकाको सभाहलमा भएको गोष्ठिमा नगर भित्रका वडा अध्यक्ष , कार्यपालिका सदस्य , स्वास्थ्यकर्मी, स्वास्थ्य शाखाका कर्मचारी , स्वास्थ्य स्वयम सेविका लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख डाक्टर आदित्य शाक्यको अध्यक्षतामा भएको गोष्ठी माई नगरपालिकाका नगर प्रमुख खम्बा सिं लिम्बुको प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here