बिर्तामोड ।

बिर्तामोड एजुकेशन फाउण्डेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।
शैक्षिक क्षेत्रमा काम गर्दै आएको बिर्तामोड एजुकेशन फाउण्डेशन प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरता जेसीजसँग सहकार्य गर्दै २० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न लागेको फाउण्डेशनका अध्यक्ष राज कार्कीले जानकारी दिए ।

विपन्न लक्षित कार्यक्रम अन्तर्गत विभिन्न तालिम तथा शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनले वार्षिक उत्सवको पूर्व सन्ध्याएको अवसर पारेर मंगलबार वीरता जेसीजसँग सम्झौता गरेको छ । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी र फाउण्डेशनका अध्यक्ष कार्कीबीच सम्झौता भएको हो ।
जसअनुसार वीरता जेसीजले २० जना विद्यार्थी फाउण्डेशनलाई सिफारिस गर्ने र उनीहरुलाई फाउण्डेशनले निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने सहमती भएको छ । कम्प्युटर शिक्षा ९० दिनको हुने अध्यक्ष कार्कीले जानकारी दिए । विद्यार्थीहरुलाई सफ्वेटर तथा हार्डवेयरका विषयमा शिक्षा प्रदान गरिने जनाइएको छ ।

वीरता जेसीजका अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुनुवार, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर लगायतले फाउण्डेशन र जेसीजबीच भएको सम्झौताको प्रशंसा गरे ।
व्यक्तित्व विकासका लागि जेसीजले गरेको कामप्रति फाउण्डेशनले गरेको सहयोगलाई उनीहरुले अझ व्यापक बनाउनुपर्ने धारणा व्यक्त गरे । कम्प्युटर शिक्षा आजको अपरिहार्यता भएकाले यो तालिम फलदायी हुने विश्वास लिएका थिए ।

निःशुल्क कम्प्युटर शिक्षा तालिम सम्बन्धी सम्झौता घोषणा कार्यक्रमका संयोजक दीपक साफीले वीरता जेसीजले जेहेन्दार तथा गरीब विद्यार्थीलाई सिफारिस गरेपछि शिक्षा शुरु गर्ने जानकारी दिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जीवन खड्काले गरेका थिए ।






























