काठमाडौं ।

यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् ।
उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, इन्स्टाग्राम, भाइबर र टिकटकमार्फत पीडितलाई साथी बनाई आफू मलेशियाको नागरिक भएको र हाल यूकमा डेन्टिस्ट् (डाक्टर) पेशा गर्छु भनी पीडितहरुसँग मोबाइल नम्बर लिई वाट्सएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेका थिए ।
तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेन्टमा नोकरी लगाइ दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात बिभिन्न व्यक्तिहरुलाई पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लियरेन्स, इन्स्योरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकू काठमाडौं पठाइएको छ ।































