बिर्तामोड ।

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम शुरु गरेको छ ।
आफ्ना सदस्यलाई सहकारीको नियम कानून तथा सहकारीको वर्तमान अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शुरु गरिएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।
मुख्य कार्यालय बिर्तामोडमा रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको लक्ष्मीपुर शाखाले बुधबार सदस्य शिक्षा कार्यक्रम गरेको हो । सहकारीका शिक्षा समिति सदस्य ज्ञानेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडा सदस्य टुमानाथ काफ्लेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका सहकारी तथा सामाजिक विकास शाखाका प्रमुख डिल्लीप्रसाद दाहाल, भक्तिप्रसाद रिमाल, रमादेवी निरौला काफ्ले लगायतको आतिथ्य रहेको थियो । छ करोड शेयर पुँजी रहेको सहकारीमा एक हजार छ सय ५३ जना ऋणीको संख्या रहेको सहकारीले जनाएको छ ।
आप्mना शेयर सदस्यलाई सहकारीको जानकारी गराउनुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सहकारी शिक्षा शुरु गरिएको शिक्षा शाखा सदस्य अधिकारीले जानकारी दिए । सहकारी शिक्षाको सहजीकरण बिर्तामोड नगरपालिका सहकारी तथा सामाजिक विकास शाखाका प्रमुख दाहालले गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ सदस्य नरमाया तिवारी, चित्रादेवी निरौला, बलराम गिरी, वेदमाया उपाध्याय, रुद्रकुमारी लक्सम, लीलादेवी भण्डारी, कृष्णमाया शिवाकोटी, ईश्वरा कार्की र डम्बरकुमारी पौडेललाई लौरो उपहार दिँदै सम्मान गरिएको थियो ।
ज्येष्ठ सदस्य मध्ये उपाध्याय र पौडेलले सबै मापदण्ड पूरा गरेकाले उनीहरुलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिएको थियो । लक्ष्मीपुर शाखामा एक हजार चार सय एक जना शेयर सदस्यहरु रहेको बताइएको छ । सुजता कार्की फुयालले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मीपुर शाखाका प्रमुख बुद्धिराज अधिकारीले गरेका थिए ।































