बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

0
52

खोटाङ,

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्नेगरी सुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त आयोजनाको काम ८६ प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङका प्रमुख हीराकाजी महर्जनले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडा र सोही नगरपालिकाको वडा नं ८ सल्लेको महादेवबेँसीबाट वडा नं ७ महादेविस्थास्थित काभ्रेडाँडामा दूधकोसीको पानी पम्पिङ प्रविधिमार्फत तानेर गाउँका स्थानीय बासिन्दाको घरघरमा वितरण गर्नेगरी आयोजनाको काम सुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो ।

“सुक्खाग्रस्त क्षेत्र हलेसीका करिब पाँच हजार घर उभोक्ताका लागि लक्षित गरेर सुरु गरिएको बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको भौतिक पूर्वाधार निर्माणको काम करिब सकिएको छ”, उहाँले भन्नुभयो, “आगामी चैत मसान्तसम्म ठेकेदार कम्पनीसँग गरिएको सम्झौताको समयसीमा बाँकी छ । समयावधिभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । तोकिएको समयमा सम्पन्न नभए असार मसान्तभित्र जसरी पनि सम्पन्न गर्ने योजना बनाएका छौँ ।”

दूधकोसीको पानीलाई भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्ने ठेक्का दिवा–महादेव–खिम्ती जेभीले विसं २०७६ मङ्सिरमा सक्ने गरी विसं २०७४ असार २१ गते रु ३१ करोड ७६ लाख लिएको थियो । ट्याङ्की निर्माण, पाइपलाइन विस्तार, विद्युतीकरण, ट्रान्सफर्मर जडान, पम्प जडानलगायतका काम गर्नुपर्ने सम्झौताअनुसार उक्त निर्माण कम्पनीले तोकिएको कामलाई अन्तिम रूप दिएको उपभोक्ता समितिले जनाएको छ ।

उक्त निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीन, तीन लाख लिटर क्षमताको एक, एक लाख लिटरको पाँच ट्याङ्की र चार किलोमिटर पाइपलाइन तथा महादेवबेँसीबाट काभ्रेडाँडासम्म चार लाख लिटर क्षमताको तीनवटा, तीन लाख लिटरको एउटा र एक लाख लिटर क्षमताको पाँचवटा ट्याङ्की तथा आठ किलोमिटर मेनलाइनको पाइप विस्तार गर्ने योजना छ । प्राविधिक स्टिमेटअनुसार निर्माणको काम अन्तिम चरणमा पुगेको दिवा–महादेव–खिम्ती जेभीका साइट इञ्चार्ज (निर्माणस्थलमा खटिनुभएका प्रमुख) कुबेर साउदले जानकारी दिनुभयो ।

उक्त पम्पिङ खानेपानी आयोजनाअन्तर्गत ७३ वटा ट्याङ्की, डिसी÷डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार दुवै सेक्टरको वितरण लाइनको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ ।

लिलिमाबेँसीबाट भुम्जुडाडाँसम्म निकालिएको पानी वडा नं १, २ र ३ का दुई हजार चार सय नौ घरधुरीलाई वितरणको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । विसं २०७७ साउन–१ गते सक्ने गरी उक्त निर्माण कम्पनीले विसं २०७५ साउन १ गते रु ३७ करोड ९३ लाख लागतमा सम्झौता गरेको हो ।

महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरधुरीलाई वितरण गर्ने ठेक्का रमण–सगरमाथा–घिमिरे जेभीले लिएको छ । विसं २०७७ साउन १ गते सक्ने गरी उक्त निर्माण कम्पनीले विसं २०७५ साउन १ गते रु २६ करोड ७५ लाख लागतमा सम्झौता गरेको हो ।

लामा कन्स्ट्रक्सन र रमण–सगरमाथा–घिमिरे जेभीले मेनलाइनबाट उपभोक्ताको घरसम्म पु¥याउन साना पूर्वाधार (वितरण ट्याङ्की, पाइपलाइन, घेराबारलगायतका संरचना) निर्माणको काम गर्ने सम्झौतामा उल्लेख छ । दुवै निर्माण कम्पनीले पूर्वाधार निर्माणको काम सम्पन्न गरेर रङरोगन तथा घेराबारको काम गरिरहेका निर्माणस्थलमा रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

भुम्जुडाँडामा निर्माण गरिएका ट्याङ्कीमा पानी तान्नका लागि पम्प र विद्युत् जडानको काम सम्पन्न भइसकेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङका प्रमुख महर्जनले जानकारी दिनुभयो । “यो अन्तिम (फागुन मसान्त)सम्ममा काभ्रेडाँडाको काम पनि सम्पन्न हुन्छ । दुवै ठाउँमा परीक्षण सफल भएपछि उपभोक्ताका लागि वितरण गर्नेगरी कामलाई तीव्रता दिने योजना छ”, उहाँले भन्नुभयो, “उपभोक्तालाई वितरण गरिने पाइपलाइनको काम उपभोक्ता आफैँले गर्नुपर्ने हुन्छ । कन्ट्र्याक्टर (ठेकेदार)को काम आगामी चैत मसान्तसम्ममा सकिन्छ । त्यसपछि उपभोक्ता समूहले जति छिटो पाइपलाइनको काम सम्पन्न गर्छ उति नै छिटो उनीहरूको घरमा पानी पुग्छ ।”

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)का स्किम छुट भएकाले पुनः स्टिमेट गरेर मन्त्रालयमा पठाइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर रु १९ करोड ९५ लाखको स्टिमेट पेश गरिएको हो ।

दूधकोसीको पानी तानेर सिधै उपभोग गर्न उपयुक्त नहुने भएकाले ट्रिटमेन्ट अनिवार्य गर्नुपर्ने अवस्था आएको निर्माण उपभोक्ता समितिले जनाएको छ । ट्रिटमेन्ट प्लान्ट स्थापनाका लागि लिलिमाबेँसी र महादेवबेँसीमा नौ÷नौ रोपनी जग्गा व्यवस्था गरिएको उपभोक्ता समितिका अध्यक्ष एवं पूर्वनगरप्रमुख राईले बताउनुभयो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दा लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । ढिलै भए पनि दूधकोसीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत स्थानीय बासिन्दाको घरघरमा वितरण गर्नेगरी बृहत् खानेपानी आयोजनाको काम सुरु हुँदा उनीहरू हर्षित छन् ।

बर्सातको समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घटौँ लगाएर दूधकोसीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन् । कतिपय स्थानीय बासिन्दाले ट्र्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दूधकोसीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here