झापा ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुबिरुद्ध ठगीसँगै लिखत सम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसूरमा मुद्दा अघि बढाउने भएको छ ।
ब्यूरोले बुधवार पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरुमाथिको अनुसन्धान सकिएको जानकारी दियो । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी स्थापना गरी विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमाजोनको बिल भुक्तानी जस्ता निहूँमा इमेलमार्फत सम्पर्क स्थापित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट भेटिएका थियो ।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार त्यस समूहले पीडितलाई फोन सम्पर्क गरी नियमित गतिविधिको निगरानी गर्ने र अन्तर्राष्ट्रिय पद्धति भएकाले ‘रिमोट एक्सेस’ दिनुपर्छ भनी पीडितलाई विश्वासमा पारेर डिभाइसमा नक्कली बैंक स्टेटमेन्ट पठाई रकम जम्मा भएको देखाउने र उक्त रकम फिर्ता गर्न लगाई ठगी गर्ने गरेको थियो ।
त्यस समूहले विशेषगरी क्यान्सर पीडित तथा जेष्ठ नागरिकहरुलाई लक्ष्य बनाएको थियो । पृथ्वी बहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरुको बैंक खाताहरुमा विदेशी नागरिकहरुलाई ठगी गरी ‘स्वीफ्ट’ मार्फत जम्मा गर्न लगाएको विदेशी मुद्राको रुपान्तरित नेपाली रुपैयाँ ३८ करोड ८६ लाख ६२ हजार मध्येबाट निज पृथ्वीबहादुर शाहले जग्गा खरिद, घर निर्माण, शेयर तथा सुन खरिद गर्नाका साथै कम्पनी दर्ता तथा बीमा लगायतका क्षेत्रहरुमा लगानी गर्ने गरेको प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।
ठगी र संगठित अपराधका आरोपित पृथ्वीबहादुर शाह र विजयबिक्रम शाहसमेत ७ जनालाई पक्राउ गरिसकिएको छ । अन्य १३ जना भने फरार छन् । अनुसन्धानका क्रममा उनीहरुबाट पीडित भएकाहरुको संख्या ५६ जना रहेको भेटिएको थियो भने उनीहरुबिरुद्ध २४ बटा जाहेरी वा सूचना प्राप्त भएको थियो ।
यसैबीच हिरा, सुनका गहना र विभिन्न किसिमका पत्थरहरूसहित चितवन प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरू चढेर आएको भारतीय नम्बर प्लेटको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन प्रहरीले बुधबार दिउँसो भरतपुरको जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन राखेर बरामद भएका गहना, कार र नियन्त्रणमा लिएका व्यक्तिहरू सार्वजनिक गरेको हो । सुन जस्तो देखिने विभिन्न प्रकारका ११ थान गहना, हिरा जस्तो देखिने ७ थान गहना र ३६ थान विभिन्न खाले पत्थरहरूसहित मंगलबार राति १ बजे उनीहरूलाई महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
भारतीय कारबाट अवैध ढंगले गरगहना ओसारपसार हुन लागेको सूचनाका आधारमा जाँच गर्दा डब्लुबी १२ एभी ५५६६ नम्बरको कारबाट ती सामग्रीहरू फेला परेका हुन् । चितवनका सुनचाँदी व्यवसायीलाई देखाउँदा ती सामग्री सुन र हिराका भएको एकीन गरेकाले मूल्य निकालिएको डिएसपी पण्डितले बताए । सुनका गहना ६३ तोलाभन्दा धेरै र हिराका गहना २२ तोलाभन्दा धेरैका छन् ।
चालक बस्ने सिटको पछाडिको सिटमुनि, गियर बक्स र एयर फिल्टरभित्र लुकाएर ती सामग्रीहरू ल्याएको पण्डितले बताए । भारत पश्चिम बंगाल राज्यको कोलकाताबाट ती गहनाहरू काठमाडौं लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी पण्डितले बताए । पक्राउ पर्नेमा कारका चालक भारत उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थानाका ४२ वर्षीय बिनोदप्रसाद, पश्चिम बंगाल राज्यका हौंडा जिल्ला गोलाबाडी थाना सल्किया स्कूल रोड कोलकाता बस्ने ४२ वर्षका नरेश बर्मा र ५१ वर्षका गणपतकुमार तोसावर रहेका छन् ।
बरामद गहना बारा पथलैयामा रहेको राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाउने चितवन प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारबाही प्रक्रिया सोही कार्यालयले अगाडि बढाउने डीएसपी विजयराज पण्डितले जानकारी दिए ।































