राधिका मावि ‘सेटिङ’मा नियुक्ति प्रकरण : बुझायो छानबिन समितिले प्रतिवेदन

0
106

छविराज ढकाल/ उर्लाबारी,

मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयमा “सेटिङ“मा शिक्षक तथा कर्मचारी नियुक्ति गरिएको विषयमा छानबिन समितिले नगर प्रमुख गंगाप्रसाद खरेललाई प्रतिवेदन बुझाएको छ ।

सो विद्यालयमा “सेटिङ“मा शिक्षक तथा कर्मचारी नियुक्त गरिएको विषयमा समाचार तथा नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिका संयोजक नगरपालिकाका अधिकृत मुरारीप्रसाद घिमिरे, सदस्यहरु नगर शिक्षा समितिका सदस्य पुर्णप्रसाद घिमिरे र जिल्ला शिक्षा विकाश तथा समन्वय इकाईका अधिकृत दिनेश बरालले संयुक्त रुपमा सो प्रतिवेदन नगर प्रमुख खरेल, उपप्रमुख मिना खतिवडा पौडेल र प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलाई बुझाउनुभएको हो । प्रतिवेदन अध्ययन गरेर चाँडै नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने नगर प्रमुख खरेलले बताउनुभएको छ ।

विद्यालयको मावि तृतिय सरहको प्रशिक्षक, प्रावि तृतिय सरहको ल्याब सहायक र कार्यालय लेखा सहायक पदमा “सेटिङ“मा नियुक्त गरिएको समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

“सेटिङ“मा प्रशिक्षक पदमा विद्यालयकै प्रधानाध्यापक कुमार पोख्रेलकी छोरी प्रतिमा पोख्रेल, ल्याब सहायकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईका छोरा अभिषेक राई र लेखा सहायक पदमा विद्यालयकै व्यवस्थापन समिति सदस्य दिपेन्द्र थापाको भाई नाता पर्ने प्रकाश थापालाई नियुक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here