अर्जुनधारामा प्रभावकारी बन्दै ‘खायन आलु उत्पादन कार्यक्रम’

0
353

अमित खम्बू,
अर्जुनधारा ।

कृषकहरुलाई प्रविधिमैत्री बनाउँदै उत्पादनमा वृद्धी गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा यस आर्थिक वर्षदेखि सुरु भएको ‘खायन आलु उत्पादन कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

कृषकहरुसँग ५०–५० प्रतिशत साझेदारीमा सञ्चालन भएको उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्ष ०७९÷०८०मा संघीय सशर्त अनुदानबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि विकास शाखाकी प्रमुख एन्जीला बेडारीले जानकारी दिइन् ।

गत साउनदेखि सुरु भएको उक्त कार्यक्रमको लागि भदौमा जारी गरिएको सूचनामार्फत् कृषक समूहहरुबाट प्राप्त भएको मागको आधारमा कार्यक्रम सञ्चालन गरिएको हो । शाखा प्रमुख बेडारीका अनुसार कार्यक्रमको प्रथम चरण अन्र्तगत मंसीरमा ११ लाख बराबरको लालगुलाब, कार्डीनल र एनएमएस जातका आलुका बीउहरु २१ वटा कृषक समूहलाई वितरण गरिएको थियो ।

प्रथम चरणमा बीउ वितरण गरेको शाखाले कृषकहरुलाई दोस्रो चरणमा दुई लाख रुपैयाँ बराबरको विषादी निशुल्क वितरण गरेको थियो । यसैबीच शाखाले तेस्रो चरणमा कृषक समूहहरुलाई कृषि यन्त्र वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिका कार्यालयको प्राङ्गणमा शुक्रबार आयोजित कार्यक्रममा ११ वटा कृषक समूहलाई पाँच लाख २८ हजार रुपैयाँ बराबरको वीडर(आलु र मकै गोड्ने तथा ड्याङ बनाउन मिल्ने यन्त्र) र एक लाख १७ हजार रुपैयाँ बराबरको विद्युतीय स्प्रे वितरण गरेको थियो ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले उक्त यन्त्रहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको उद्देश्यअनुसार कृषकहरुलाई आवश्यक बजेट, प्राविधिक सेवासँगै प्रविधि हस्तान्तरण गरिएको कारण कृषकहरु पनि उत्साहित भएको तथा आलु उत्पादन वृद्धी हुनेमा आफू विश्वस्त रहेको प्रमुख बेडारीले बताइन् । उनी भन्छिन्–“नगरपालिकाभित्रै चिस्यान केन्द्रको निर्माण तथा सञ्चालन गर्न सक्दा कृषकहरुको लागि अझ राम्रो हुन्थ्यो ।”

उक्त कार्यक्रम अन्र्तगत हालसम्म अनुमानित २० लाख रुपैयाँको कार्य सम्पन्न भएको शाखाको तथ्याङ्क छ । विनियोजन भएको कुल बजेटमध्ये अझै चार लाख २७ हजार पाँच सय रुपैयाँ बाँकी भएको हुँदा त्यसको विषयमा समूहसँग छलफल गरि आवश्यक कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here