सबैका मनमा बसेका कलाकार

0
213

डेनी डेन्जोङ्गपा अर्थात् डेनी कामको खोजीमा सन् १९७० तिर बम्बई पुगेका थिए । उनलाई बीआर चोपडाले आफ्नो नयाँ फिल्म धुन्दमा कलाकारित शुरु गर्न टिममा लिए । बीस–एक्काइस वर्षका ठिटो डेनीले बीआर चोपडा जस्ता अनुभवी निर्देशकको फिल्ममा खेल्न पाए । डेनीका लागि शुरुमै शुभ संकेतको घटना थियो त्यो ।

फिल्ममा डेनीले निकै राम्रो अभिनय गरेकाबारे फिल्मवृत्तमा चर्चा चल्यो । जसले गर्दा डेनी फिल्म धुन्दबाटै चर्चित भए । खासमा डेनीले सकारात्मक रोल पाएका थिए । तर, डेनीले नकारात्मक रोल रोजे जसले गर्दा चोपडा निकै आश्चर्यमा परेका थिए । रोल छोटो र नकारात्मक भए पनि प्रभावकारी हुने डेनीले ठानेका थिए । डेनीले भारतको पूणेमा फिल्मी कोर्स गर्दै थिएँ । कोर्ष पूरा गरेपछि भेट्न आउनु है भनेर चोपडाले डेनीलाई भनेका थिए । डेनी चोपडालाई भेटन गए फिल्ममा रोल पनि पाए ।

के डेनीको भाग्य अमिताभ बच्चनले काम गर्न नभ्याएका कारण चम्केको हो ? यति मात्र होइन सत्रुघ्न सिन्हाले व्यस्तताका कारण काम गर्न नभ्याएकाले पनि शुरुका दिनमा डेनीले फिल्ममा काम गर्ने मौका पाए । तर, फिल्म क्षेत्रमा यस्तो त भै नै रहने कुरा हुन् । डेनीले पनि अरु युवाहरु जस्तै लाहुरे बन्ने लक्ष्य राखेका थिए । तर, डेनीका आमाले मानिनन् । तब डेनीको भाग्यको मार्ग बद्लियो । खासमा संगीतप्रतिको रुचीले डेनीलाई पूणेको इन्स्टिच्यूटसम्म पुर्याएको थियो । बलिउडमा परम्परागत नायकको छविका बीच पहाडी भेग सिक्किमबाट आएका डेनी त्यतिबेला पूणे र फिल्मी दुनियाँमा अपवाद जस्तै थिए ।

डेनीको नाम कसैले पनि उच्चारण गर्न सकेनन् । डेनी जब पूणेको फिल्म इन्स्टिच्यूट पढ्न भर्ना भए, विद्यार्थी साथीहरु माझ आफ्नो नाम सेरिङ्ग फिन्सो डेन्जोङ्गपा हो भनेर बताए । तर, उनका साथीहरुले डेनीको नाम उच्चारण गर्न सकेनन् । डेनीलाई साथीहरुले अचम्मले हेरेका थिए । एउटा राम्रो संयोग, डेनी पढ्ने इन्स्टिच्यूटमा जया भादुरी (जया बच्चन) पनि पढ्दै थिइन् । जयाले डेनीलाई सजिलो नाम राख्न सुझाव दिइन् । डेनीले आफ्नो लामो नामबाट डेनी रोजे । यही नामबाट डेनी चर्चित भए ।

शोले फिल्म डेनीको हातबाट उम्कियो । फिल्म शोलेमा गब्बरले खेलेका रोलका लागि डेनीलाई लिन मन पराइएको थियो । वास्तवमा शोले फिल्म बन्ने बेलामा डेनीले फिरोज खानलाई फिल्म धर्मात्माका लागि डेट दिएका थिए । त्यसैले गब्बर सिंहको भूमिका अमजद खानको पोल्टामा गएको थियो । अमजद खानले जस्तै डेनीले पनि खलनायकको भूमिकामा निपुर्णता हासिल गरेका थिए । सन् १९९२ को फिल्म द्रोहीमा डेनीले राघव नाम गरेका एक खतरनाक अपराधी गुरुको भूमिका निभाएका थिए । यो फिल्म गर्दा डेनीले १९७३ मा बनेको फिल्म खून खूनको सम्झना गर्दथे । डेनीलाई देव आनन्दको फिल्म ये गुलिस्तान हमारामा अभिनय गर्ने भूमिका दिइएको थियो । पछि यो भूमिका जोनी वाकरको पोल्टामा गयो तर एसडी बर्मनले फिल्ममा जोनी वाकरको लागि डेनीलाई गीत चाहिँ गाउन लगाए । ‘मेरा नाम आवो, मेरे पाश आओ…’ गीतको बोल थियो । डेनी एक गायकका रुपमा पनि चिनिन सफल भए । डेनीले हिन्दी र नेपाली चलचित्रमा गीत गाएका छन् र उनले मोहम्मद रफी, किशोर कुमार, लता मंगेशकर र आशा भोसले जस्ता महसुर गायकगायीकाहरुसँग गीत गाएका छन् ।

डेनी नेपालीबीच पनि उत्तिकै लोकप्रिय छन् । सन् १९७०, ८०, ९० को दशकमा हिन्दी फिल्महरु नेपालका हलमा लाग्दा अनि जब डेनी पर्दामा आउँदा दर्शकहरु डेनी डेनी भनेर चिच्याउँथे, कराएर हल नै उचाल्थे । डेनीलाई एक झल्को हेर्न मात्र पनि दर्शकहरु टाढा–टाढाबाट पैदल, साइकल, गोरुगाडा, ट्याक्टर र ट्रकमा रातबिरात भए पनि फिल्म हेर्न टाकिजहरुमा जान्थे । डेनीको क्रेज छुट्टै थियो । सायद डेनीमा नेपालीपन पाउँथे होलान् नेपाली दर्शकहरुले । डेनीले नेपाली नेपाल गीत गाएका छन् र नेपाली फिल्ममा अभिनय पनि गरेका छन् । डेनी नेपालीहरुबीच अहिले पनि प्रिय नै छन् ।

डेनीले फिल्महरुमा खलनायकको रुपमा प्रभुत्व नै जमाए । उनले बायोस्कोप वाला, इत्तफाक, फ्रोजन जस्ता फरक किसिमका फिल्ममा पनि काम गरे । ७० र ८० को दशकमा डेनीले हरेक ठूला नायक (मिथुन, राजेश खन्ना, धर्मेन्द्र, राजकुमार) सँग खलनायक वा साइड रोलको रुपमा काम गरे । चाहे त्यो धार्मिक आत्मा होस्, कमाण्डो होस्, नझुक्ने प्रेम होस वा जलिरहेको रेल । तर, त्यस युगका सबैभन्दा ठूला स्टार अमिताभ बच्चनसँग डेनीको वास्तविक आमनेसामने सन् १९९० मा अग्निपथमा भएको थियो । यसपछि सन १९९१ मा फिल्म हममा बख्तावरको भूमिकामा अमिताभसँग उनको टक्कर भयो । खुदा बख्शको भूमिका उनको भिलेन लुकभन्दा फरक थियो, जसका लागि उनले फिल्मफेयर अवार्ड पनि प्राप्त गरेका थिए ।

हिन्दी फिल्ममा धेरै भिलेन र क्यारेक्टर एक्टर्सले आफ्नो स्थान बनाएका छन् । तरm डेनीको सफलता निकै फरक र महत्वपूर्ण छ । भारतको पूर्वोत्तर राज्यका कुनै पनि कलाकारका लागि यो सफलता अद्वितीय छ । आज पनि उत्तरपूर्वका केही कलाकारले मात्र हिन्दी फिल्ममा स्थान बनाउन सकेका छन् । डेनीको सबैभन्दा प्रसिद्ध खलनायकी भूमिकाहरू धुन्द, ३६ घन्टे, बन्दिश, जियो और जीने दो, धर्म और कानून र अग्निपथमा छन् । उनका सबैभन्दा राम्रा ज्ञात सकारात्मक भूमिकाहरू फकिरा, चोर मचाए शोर, देवता, कालीचरण, बुलुन्डी र अधिकारमा छन् । उनको निर्देशनमा बनेको फिल्म फिर वही रात हिन्दी सिनेमाको शीर्ष पाँच उत्कृष्ट हरर सस्पेन्स फिल्ममध्ये एक मानिन्छ ।

डेनीले सन् १९७१ बाट फिल्ममा अभिनय गर्न शुरु गरे । २००४ र २००६ मा छ–छ वटा फिल्म, १९७५ र १९८३ मा नौ–नौ र १९८९ मा त १० वटासम्म फिल्म खेलेका थिए । उनले २०२२ सम्म फिल्म खेलेका छन् । उनले केही अन्तर्राष्ट्रिय चलचित्रहरूमा पनि अभिनय गरेका छन्, सबैभन्दा प्रसिद्ध तिब्बतमा सेभेन इयर्स हो जहाँ उनी ब्राड पिटसँग देखा परेका थिए ।

डेनी बाँकी जीवनमा सिक्किमको जंगलको रमणीय वातावरणमा बस्न मन पराउँछन् मुम्बईको भागमभागबाट टाढा । डेनी भन्छन्– अब जब कार आइसकेको छ, एसी आइसकेको छ, मानिसहरु टिभीको अगाडि बस्छन वा एसी कारमा यात्रा गर्छन्, तर मैले हिँडडुल गर्न छोडेको छैन । वास्तविक जीवनमा पनि म सिक्किमको जंगलमा रुखमा चढेर हिँड्छु । यो नै मेरो स्वास्थ्यको रहस्य हो । जोगारिला नामको उनको बंगला निकै प्रसिद्ध छ । उनकी जीवनसंगिनी सिक्किमकी राजकुमारी हुन् । डेनीले हाल फिल्म नगरे पनि शान्त र खुशी छन् । सायद डेनीलाई लाग्छ कि हालका दिनहरुमा डेनीका लागि सही फिल्मी भूमिका छैनन्, लेखिँदैनन् । डेनीले हालै उच्छी फिल्ममा काम गरे तर यसका लागि डेनीले धेरै कुरामा कन्भिन्स गर्नुप¥यो ।

सिक्किमको युकसोममा एक बौद्ध परिवारमा २५ फेबु्रअरी १९४८ मा डेनीको जन्म भएको हो । उनी एक भारतीय अभिनेता, गायक र चलचित्र निर्देशक हुन् जसले मुख्यतयाः हिन्दी र कहिलेकाहीँ बङ्गाली, नेपाली र तमिल चलचित्रहरू गरि १९० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । सन् २००३ मा डेनीलाई भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित गरियो । वेष्ट सपोर्टिङ्ग एक्टर, वेस्ट पर्फरमेन्स इन नेगेटिभ रोल जस्ता पुरस्कारबाट पुरस्कृत तथा सम्मानहरु गरिएका छन् ।

डेनीले बिड़ला विद्या मन्दिर नैनीतालमा स्कूलको शिक्षा पूरा गरे र १९६४ मा सेन्ट जोसेफ कलेज दार्जिलिङमा कलेजको कोर्षवर्क पूरा गरे । डेनी चित्रकार, लेखक र मूर्तिकार पनि हुन् । डेनी सबैको मनमा बस्न सफल सिने कलाकार हुन् । डेनीको कलाकारिताबाट नेपाली कलाकारहरुले धेरै कुरा सिक्न सक्छन् । (सामग्रीहरु अध्ययनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here