कालो मोसो अभियान बन्द गर

0
96

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन हुँदैन । कर्जा तिर्न ढिला हुनसक्छ । कोभिड–१९ को अर्थतन्त्र माथिको प्रभाव अझै सकिएको छैन । त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरूसँग छलफल गरी लिलामी नीतिलाई परिमार्जन र परिवर्तन गरी रोक्न सक्छ । बैंक तथा वित्तीय क्षेत्रबाट पनि खराब काम हुनुहुँदैन । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिन्छ । वित्तीय संस्थाले कर्जा बुझाउन नआउने ऋणीको तस्वीरसहित राखेर ऋण तिर्न आउन वा लिलामीको सूचना प्रकाशित गर्दै आएका छन् । बैंकले सार्वजनिक सूचनामा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नपाउने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जाको ब्याजदर मनोमानी ढंगबाट अत्यधिक मात्रामा वृद्धि गरेका कारण उद्यमी, व्यवसायी तथा कर्जा उपभोग गर्ने ऋणीलाई समेत अत्यन्तै ठूलो मर्का परेको छ । यसका कारण उद्योग व्यवसायी दिनानुदिन धरासायी भएको छ भने कतिपय व्यवसायीहरू पलायन र आत्मदाह गर्नेसम्मको अवस्था सृजना भएको छ । नेपाल सरकार तथा राष्ट्र बैंकले व्यापारी–व्यवसायीका माग प्रति सकारात्मक नहुने हो र अनियन्त्रित रूपमा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर नघटाउने हो भने व्यवसाय कर्मबाट पलायनको अवस्था आउनेमा शंका छैन । व्यवसायीको माग बमोजिम बैंक तथा वित्तीय संघ–संस्थासँग कर्जाको पुनर्संरचना, पुनः तालिकीकरण, आंशिक धितो फुकुवा, कर्जा लिँदा बखतको ब्याजदर कायम गर्ने दिशामा नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक लाग्न आवश्यक छ ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउने क्रम बढेर गएको छ । जे–जस्तो नाम दिए पनि बैंक, सहकारी, लघुवित्त तथा वित्तीय संस्थाका कर्मचारीलाई कालो मोसो दल्ने, हतोत्साही गर्ने जस्ता भौतिक कारवाहीमा उत्रनु, हुलइज्जत गर्नु मानवता विरोधी कार्य हो । यो गतिविधि गलत भएको सबैको मत रहे पनि यसलाई रोक्नुको सट्टा मलजल गर्ने प्रवृत्ति झागिँदो छ । पछिल्लो समय बैंकको ब्याजदर नतिर्ने र बैंक, सहकारी र लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्न समूह बनाउने कामले समाज विभाजित भइरहेको छ । असल व्यापारी र व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना गर्न सक्दैनन् । वास्तवमा कर्जा तिर्दिनँ भनेर सुख नै छैन । त्यसको परिकल्पना गर्नु भनेको दिइएको कर्जा रकम नेपाली दाजुभाइ दिदीबहिनीहरूले बैंकमा राखेको निक्षेप हो भनी नबुझ्नु हो वा बुझेर पनि नबुझे झैं गर्नु हो । तसर्थ, बैंक तथा अन्य वित्तीय संस्थाबाट भइरहेका गलत गतिविधि बन्द हुनुपर्छ । गलत नियतका साथ गलत प्रक्रियाबाट असल परिणामसहितको गन्तव्यमा पुग्न सकिँदैन । असल लक्ष्यमा पुग्न असल मार्ग हिँड्न आवश्यक छ । राजनीतिक वा व्यक्तिगत स्वार्थपूर्तिका लागि सञ्चालन गरिएको कालो मोसो अभियान बन्द हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here