‘कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौँ’

0
132

धरान,

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताउनुभएको छ ।

एक्स्पो संयोजक समेत रहनुभएका उहाँले एक्स्पो समापनमा बोल्दै यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताउनुभयो । “एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्रदेशमा लगानी भित्र्याउने प्रयास भयो, आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो ।

एक्स्पो सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको थियो । एक्स्पोमा रू तीन करोड बराबरको कारोबार भएको छ भने तीन लाखभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।

समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा केही पनि छैन भन्ने तर्क हाबी हुन थालेको भन्दै यसलाई सबै मिलेर चिर्न आवश्यक रहेको बताउनुभयो । “धरान लाहुरेको सहर, फेसनको सहर, कला–संस्कृतिको सहरका रुपमा परिचित छ, धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्छ ।”

धरान एक्स्पोलगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग पुग्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उहाँको भनाइ छ । “किमाथाङसँग जोड्ने सडक, चतरा, तमोर कोरिडोरले धरानको विकास कुरिरहेको छ । हामी आत्तिनुपर्ने अवस्था छैन”, मन्त्री किरातीले भन्नुभयो, “विकासका लागि आवश्यक बहस, विचार, विमर्श गर्दै निष्कर्ष निकाल्नुपर्छ । धरान, सुनसरी क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ ।”

समापनमा पर्यटनमन्त्री किराती, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्मा, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हर्षराज शाक्यलगायतले बोल्नुभएको थियो ।

एक्स्पोका अतिथि मीन विश्वकर्माले धरानको विकास गर्न नसकिएको भन्दै यसतर्फ सबैले आवश्यक ध्यान दिन आग्रह गर्नुभयो । “सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन सकेनौँ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ” उहाँले भन्नुभयो, “पर्यटन मन्त्रीले धरानको विकासमा सहयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।”

प्रकृतिले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्यलगायत सङ्घ संस्थाले समृद्धिका लागि निरन्तर प्रयास गरिरहेको भए पनि दलीय मतभेद–विरोध, सङ्घीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको विश्वकर्माको भनाइ थियो ।

व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद दिनुभएको थियो ।

उहाँले धरानमा सम्भावनाका मात्र कुरा नगरेर यहाँका समस्याबारे पनि उजागार गदैँं समाधानतिर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले धरानको खानेपानी समस्या टार्न कोसीको पानी ल्याउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो । एक्स्पोले रैथाने उत्पादनको बजारीकरणमा पु¥याउन सहयोग गर्ने अपेक्षा गर्नुभयो । साथै अन्य स्थानका उत्पादन र उद्यमी धरान आउँदा त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा उहाँले प्रशंसा गर्नुभयो । धरानकै उद्योगी व्यवसायीले लगानी बढाएर धरानको विकास गर्नुपर्ने उहाँको जोड थियो ।

“एक्स्पोले रैथाने उत्पादनको बजारीकरण र व्यवसायीकरणमा सहयोग पु¥याएको छ । त्यसबाहेक अन्य क्षेत्रका उद्यमी यहाँ आउँदा उहाँसँगै धरानमा सीप, उत्पादन, उद्यमशीलता पनि आएको छ । यसले पार्ने सकारात्मक प्रभाव सराहनीय छ”, प्रमुख साङपाङले भन्नुभयो ।

धरानबाट नेपालमा श्रम संस्कृति सुरु भएको भन्दै प्रमुख साङपाङले देशभर यसको बजारीकरण गरिनुपर्नेमा जोड समेत दिनुभयो । “सबै मिलेर काम गरे मात्र समृद्ध नेपाल सम्भव छ । त्यसका लागि धरानमा श्रम संस्कृति सुरु भएको छ । यसको पनि बजारीकरण होस् भन्ने मेरो कामना छ” उहाँले भन्नुभयो ।

एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो । दश दिनसम्म चलेको एक्स्पोलाई धरान उपमहानगरपालिका र कोसी प्रदेशको विशेष सहयोग थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here