झापा आन्दोलनका योद्धा र शहीद परिवारलाई सम्मान गर्न अक्षयकोषको स्थापना

0
228

अमित खम्बू
अर्जुनधारा,५१औं सुखानी शहीद स्मृति दिवसको सन्दर्भमा आइतबार आयोजित एक कार्यक्रममा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ ।
वि.सं.२०२८ देखि २०३० सालसम्म सञ्चालन भएको झापा आन्दोलनका योद्धा र शहीदका परिवारहरुलाई सम्मान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको बधाई तथा शुभकामना एवम अक्षयकोष घोषणा कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष टंकप्रसाद भट्टराईले बताए ।
प्रारम्भिक चरणमा पाँच लाख रुपैयाँबाट सुरु गरिने उक्त अक्षयकोषको लागि सोही कार्यक्रममा नेकपा एमाले पार्टी कोशी प्रदेश कमिटीका सचिव एवम् प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन” र पार्टी झापाका अध्यक्ष एवम् संविधान सभा सदस्य दीपक कार्कीले जनही २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रचनात्मक ढंगबाट शहीदका सपनाहरु पूरा गर्न बाँकी रहेको वर्तमान अवस्थामा प्रतिष्ठानले सुरु गरेको उक्त कार्य उदाहरणीय भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताए ।
अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा प्रतिष्ठानका अध्यक्ष अर्जुन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष समेत रहेका सभामुख घिमिरे र सल्लाहकार एवम् प्रतिनिधि सभा सदस्य प्रा.डा.कालुराम खम्बूलाई सम्मान पत्र र ढाकाको टोपी ओढाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा.खम्बू, प्रतिनिधि सभा सदस्यद्वय अमृतलाल राजवंशी र हर्कमाया विश्वकर्मा, नेकपा एमाले पार्टी झापाका अध्यक्ष कार्कीलगायतले मन्तव्य राखेका थिए । उद्यानका अध्यक्ष टंकप्रसाद बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव हर्कराज राईले गरेका थिए ।
त्यस्तै कार्यक्रम अघि उद्यान परिसरमा रहेको सुखानीका पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठको पूर्ण कदको शालिकमा सभामुख घिमिरेले माल्यार्पण गरेका थिए ।
त्यसैगरी सोही दिन नै झापा र इलामको सिमाना सुखानीमा रहेको शहीद शहादतस्थलमा पुगेर त्यहाँ रहेको शहीदहरुको शालिकमा पनि सभामुख घिमिरेले माल्यार्पण गरेका थिए । प्रजातन्त्रसँगै न्याय, स्वतन्त्रता र समानताको लागि पञ्चायत व्यवस्था विरुद्धको झापा आन्दोलनमा सहभागी उनीहरुको २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने क्रममा सुखानीमा हत्या गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here