शिवसताक्षीमा अन्तराष्ट्रिय प्रविधिको फोहोर डढाउने ‘मेसिन’

0
349

विनोद सापकोटा,
झापा ।

स्थानीय सरकारलाई फोहोर व्यवस्थापनगर्न चुनौती बनिरहेको बेला झापाको शिवसताक्षी नगरले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन शुरू गरेको छ । नगरका ११ वटा वडाका मुख्य बजार र चोकबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न नगरले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय प्रविधि भित्र्याएको हो ।

‘इन्सिनरेटर मेसिन’ जडान गरेर नगरबाट उत्पादन हुने फोहोरलाई प्रदुषण रहित रुपमा व्यवस्थापन गर्न नगरले सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । यस अघि नगरबाट उत्पादन भएको फोहोर रतुवा माई बृक्षा रोपण आयोजनाको जंगल हातामा खाल्डो खनेर व्यवस्थापन गरिदैँ आएको थियो । नगरबाट दैनिक कम्तिमा २ टन फोहोर उत्पादन हुने गरेको छ ।
नगरबाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि नगरले १ करोड रुपैँया खर्चेको छ । घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको शिवसताक्षी नगरपालिकाले जानकारी दिएको छ ।

मेसिनको ‘कन्भेयर बेल्ट’ मार्फत प्राईमरी चेम्बरमा फोहोर खसालिन्छ । त्यहाँबाट जलेको फोहोरको खरानी सेकेन्डरी चेम्बरमा खस्छ । पहिलो चेम्बरमा १००० डिर्गीको तामक्रमले फोहोर जलाउने गरेको छ भने सेकेन्डरी चेम्बरकोे १००० डिग्रीको तामक्रमले खसेको खरानीलाई बाफ बनाउने गरेको यसका प्राविधिकले बताए । मेसिनले १ घन्टामा ३०० किलोग्राम फोहोरलाई बाफ बनाएर चिम्नी मार्फत हावामा उडाइदिने गरेको इन्जिनियर मोहम्मद नसिम अलिले बताएका छन् ।

शिवसताक्षी नगरका प्रमुख मेघाहाङ (रोषन) थोप्राका अनुसार ७ नम्बर वडाको मानव रहित स्थानमा उक्त मेसिन जडान गरिएको छ । अन्तरदेशिय हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापनगर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यो प्रविधि उपयुक्त हुने ठानेर मेसिन ल्याइएको नगर प्रमुख थोप्राले बताए ।

शिवसताक्षी नगरको फोहोर जलाउने मेसिन भारतको दिल्लीबाट ल्याईएको यसका सप्लायर्स राज ट्रेड कन्सर्नका संचालक राजेन्द्र ढकालले बताएका छन् । उनले भने, ‘फोहोर जलाउने यो प्रविधि भारत लागयत अन्य विकसित मुलुकमा केहि वर्ष देखि सुरु भएपनि नेपालमा भने यो पहिलो हो ।’ उनका अनुसार काठमान्डौको गोकर्णेस्वर नगरपालिकाले प्राइमरी लेवलको चेम्बर भएको मेसिन जडान गरेको छ । यसको तुलनामा शिवसताक्षी नगरपालिका तीनवटा चेम्बर भएको मेसिन जडान गर्ने मुलुकका स्थानिय तहमा पहिलो भएको उनले बताए ।

यस प्रविधिमा घरहरूबाट निस्कने आगोमा बल्ने सबै प्रकारका फोहोरलाई एकीकृत गरी नगरको ल्यान्डफिल्ड साइडमा फोहोर ब्यवस्थापन गर्ने ट्याक्टरले ल्याउँछ । ट्याक्टरलेखसालेको फोहोरको झोला फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीले मेसिन सम्म पुर्याएर फोहोरलाई धुँवारहित रुपमा जलाउने गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । यो मेसिनमा फलाम र सिसा बाहेकका सबै फोहोर लगाएर जलाइने नगरका प्रमुख प्रसाशकीय अधिकृत अमृतवहादुर राईले जानकारी दिएका छन् ।

नगरका कन्ट्र्याक्ट बेस इन्जिनियर मोहम्मद नसिम अलिका अनुसार आगोले जलाउने सबै प्रकारका फोहोरलाई मेसिनले धुँवारहित रूपमा जलाउने बताए ।मेसिनले फोहोरबाट निस्केको धुँवालाई मेसिन भित्रै फिल्टर गरेर धुँवा शुद्धीकरण गरी चिम्नी मार्फत वाफको रुपमा बाहिर फाल्छ । यसले मानव र पशुको स्वास्थ्यलाई असर नगर्ने उनले बताए ।

मेसिनले एक घन्टामा तीन सय केजी फोहोर जलाउँछ । यो मेसिन २४ सैं घन्टा पनि चलाउन सकिने इन्जिनियर अलिले बताए । उनले भने, ‘मेसिनले दैनिक ५ टन कुहिने र नकुहिने दुवै प्रकारको फोहोर जलाएर खरानी र बाफ बनाउँछ। मेसिनले फोहोरलाई सुकाएर जलाउने काम गर्छ ।’

‘कन्भेयर बेल्ट’मा फोहोर लगाउने २ जना र मेसिन अपरेटर १ जना गरेर दैनिक ३ जना जनशक्ति आवश्यक हुने उनले बताए । डिजेलबाट चल्ने यो मेसिनले सुख्खा फोहोर भयो भने १ घन्टामा ५ लिटर र चिसो अर्थात पानी भरिएको फोहोर भए १० लिटर सम्म इन्धन खपत गर्ने ईन्जिनियर अलिले जानकारी दिएका छन् ।

फोहोर व्यवस्थापन चुनौती बनिरहेका हरेक सहरमा यो प्रविधिको मेसिनले प्रदूषणरहित रूपमा फोहोरको व्यवस्थापनगर्न अब सकिने भएको छ । अहिले नगरपालिकाले परीक्षणको रूपमा फोहोर जलाउने कार्य गरेको र प्रारम्भिक परीक्षण प्रभावकारी भएको प्राविधिकले बताएका छन् ।

नगरपालिकाले यस अघि निशुल्क फोहोर संकलन गर्दे आएको थियो । फोहोर व्यवस्थापन गर्ने उचित ठाँउ नहुँदा साप्ताहिक रुपमा नगरका बजार र चोकबाट फोहोर संकलन हुँदै आएको नगरपालिकाले जनाएको छ । अब, यो प्रविधि सक्सेस भयो भने नगरले फोहोर संकलन कर नगरबासीबाट असुल गर्ने नगरको राजश्व साखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here