चिनियाँ अर्बपतिहरू किन बेपत्ता भइरहन्छन्

0
104

काठमाण्डौं ।

चिनियाँ प्रविधि उद्योगमा चर्चामा आएका बाओ फ्यान गत महिना बेपत्ता भएपछि चीनमा अर्बपति व्यवसायी हराउने क्रमबारे चिन्ता बढेको छ।

बाओ फ्यान संस्थापक र प्रमुख कार्यकारी रहेको चाइना रेनासान्स होल्डिङ्सले टेनसेन्ट, अलिबाबा र बाइडु जस्ता प्रमुख कम्पनीहरूलाई आफ्नो ग्राहक बनाएको थियो।

हराउनुभन्दा चार दिन अघि मात्रै उनले “जनवादी गणतन्त्र चीनको प्रशासनले गरिरहेको एक अनुसन्धानलाई सहयोग गरिरहेको” उनको कम्पनीले बताएको थियो।

उनीमाथि कुन सरकारी निकायले अनुसन्धान गरिरहेको थियो र अहिले उनी कहाँ छन् भन्ने जस्ता जानकारी समेत सार्वजनिक भएका छैनन्।

हालैका वर्षहरूमा अलिबाबाका ज्याक मा सहितका चिनियाँ व्यापारी पनि हराएको घटनाले चीनमा अर्बपतिहरू बेपत्ता भएका घटना रहस्यमयी बन्ने गरेका छन्।

अर्बपतिहरू बेपत्ता भएको घटनाले मानिसहरूको ध्यान ताने पनि चीनमा सरकार विरोधी प्रदर्शनहरूमा सहभागी मानिसहरू र मानव अधिकार अभियानकर्मीहरू बेपत्ता हुने घटना भने नौलो होइन।

बाओ बेपत्ता भएको घटनालाई कतिपयले चीनको अर्थतन्त्रमा आफ्नो नियन्त्रण बढाउने राष्ट्रपति सी जिनपिङको शैलीको रूपमा पनि चर्चा गरेका छन्।

संयोग के छ भने उनी यस्तो समयमा बेपत्ता भए जति बेला चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन मार्फत देशको आर्थिक नियमन प्रणालीमा अहिलेसम्मकै ठूलो हेरफेरको तयारी भइरहेको थियो।

खर्बौँ डलरको चिनियाँ अर्थतन्त्रको निगरानीका लागि नयाँ नियमनकारी निकाय गठनको घोषणा गरिएको छ जसले धेरै वटा निकायहरूबाट भइरहेका कामहरूलाई एकत्रित गर्ने ठानिएको छ।

व्यापारी बेपत्ताको शृङ्खला

चीनमा यसअघि पनि कैयौँ व्यापारीहरू कैयौँ दिनसम्म बेपत्ता भएका थिए।

चीनका वारेन बफेट पनि भनेर चिनिने फोसुन समूहका संस्थापक गुओ ग्वान्चाङ पनि छन् जो सन् २०१५ मा कैयौँ दिन हराएका थिए। इङ्लिस प्रिमियर लिगको एउटा क्लबको स्वामित्व लिएपछि उनी पश्चिमा मुलुकमा पनि चिनिएका व्यवसायी हुन्।

उनी बेपत्ता हुनुभन्दा अघि पनि उनको कम्पनीले सरकारी अनुसन्धानमा उनले सहयोग गरिरहेको बताएको थियो।

त्यसको दुई वर्षपछि सन् २०१७ मा चिनियाँ-क्यानडिअन व्यवसायी स्यो जिअनह्वालाई हङकङको एउटा सुविधा सम्पन्न होटेलबाट नियन्त्रणमा लिएको थियो। चीनका सबैभन्दा धनी मध्येका ती व्यापारी गत वर्ष भ्रष्टाचारको आरोपमा जेल चलान भए।

चिनियाँ राष्ट्रपति सी जिनपिङको कोभिड व्यवस्थापनको आलोचना गर्दै उनलाई “जोकर” भनेको केही समयपछि सन् २०२० को मार्चमा चीनका घरजग्गा व्यवसायी रेल जिच्याङ गायब भए। गत वर्ष एक दिनको सुनुवाइपछि उनलाई भ्रष्टाचारको आरोपमा १८ वर्षका लागि जेल चलान गरियो।

चीनमा सबैभन्दा चर्चित व्यवसायी बेपत्ता भएको घटना अलिबाबाका संस्थापक ज्याक मा हराएको प्रसङ्ग हो। सन् २०२० को अन्त्यतिर नियामक निकायबारे आलोचनात्मक टिप्पणी गरेको केही समयपछि चीनका तत्कालीन सबैभन्दा धनी व्यवसायी तीन महिना सर्वसाधारणहरू सामु देखा परेका थिएनन्।

उनी डिजिटल कारोबार कम्पनी एन्ट फाइन्यान्सिअललाई सेअर बजारमा सूचिकृत गर्ने चरणमा थिए तर त्यसपछि उनी पछि हटे।

त्यसयता पनि ज्याक मा विगत दुई वर्षयता चीनमा देखा परेका छैनन्।

उनी कहाँ छन् भन्ने प्रस्ट जानकारी नभए पनि उनी पछिल्ला महिनाहरूमा जापान, थाइल्यान्ड र अस्ट्रेलियामा देखा परेको विवरण आएका छन्।

किन गायव हुन्छन् अर्बपतिहरू

चीन सरकारले धनाढ्य व्यवसायीहरूमाथि हुने कानुनी कारबाही भ्रष्टाचारसँग जोडिएको बताउने गरेको छ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको देशमा हुने यस्ता गतिविधिहरूलाई केही दशकअघि मात्रै सुरु भएको अर्थतन्त्रको उदारीकरणसँग पनि जोडेर हेर्ने गरिएको छ।

यो उदारीकरणले अर्बपतिहरूको समूह निर्माणको बाटो खोलिदिएको जसले आफ्नो सम्पत्तिको बलमा चीनको शक्तिलाई नै चुनौती दिन सक्ने सम्भावना देखिएको चर्चा हुने गरेको छ।

कतिपय जानकारहरूले राष्ट्रपति सी नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले सत्ताको शक्ति पुन: फिर्ता ल्याउन चाहेका कारण रहस्यमयी ढङ्गले व्यवसायीहरू बेपत्ता भएका हुनसक्ने बताउने गरेका छन्।

ठूला व्यावसायिक घरानाहरूले सी भन्दा अघिका सरकारहरूको पालामा आफ्नो शक्ति बढेको ठानेका थिए। तर सीले अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयाससँगै नियमनका उपायहरू बढाएका छन्।

“कहिलेकाहीँ चासो समूहहरूलाई सन्देश दिन पनि यस्ता घटनाहरूको मञ्चन गरिन्छ,” इकोनोमिष्ट इन्टेलिजेन्स ग्रुपका निक मारोले बीबीसीसँग भने।

“यसको अन्तिम उद्देश्य भनेको अर्थतन्त्रको निश्चित क्षेत्रमा पहुँच कायम गर्ने नै हो र यो सीको शासनकालको विगत दशकमा पनि देखिइसकेको छ।”

सरकारी नियन्त्रणको नीति

प्रविधि नीतिबारे विश्वव्यापी परामर्श दातृ संस्था अलब्राइट स्टोनब्रिज ग्रुपका चीन प्रमुख पल ट्राइलो भन्छन्, ”बेइजिङले ठूला प्रविधि खेलाडीहरूलाई आफ्नै ब्रान्ड नबनाउन र प्रभाव नबढाउन र बेइजिङको इच्छा विपरीत जान नदिन ध्यान दिइरहेको छ।”

समाजवादी सैद्धान्तिक आधार रहेको चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख सीलाई पनि धनी र गरिबबीचको खाडल कम गर्नुपर्ने दबाब पार्टीभित्रका कट्टर वामपन्थीहरूले दिने गरेका छन्।

अर्बपति व्यापारीहरू बेपत्ता प्रकरण र व्यवसायमा नियन्त्रण कायम गर्ने बेइजिङको शैलीले अनपेक्षित परिणामहरू पनि निम्त्याउने व्यापक चिन्ता भइरहेका छन्।

चीनबारे अध्ययन गरिरहेका कतिपय मानिसहरू चीन सरकारको कदमका कारण व्यावसायिक प्रतिभा रोकिन सक्ने जोखिम औँल्याउँछन्।

“अर्ब पतिहरूलाई जसरी बेइजिङले निशाना साँधिरहेको छ यसले प्रविधि व्यवसायीहरूलाई अर्को ज्याक मा हुन नहुने दबाब पनि पर्न सक्छ,” ट्राइलो भन्छन्। bbc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here