आफूभित्रको विकार हटाऔं

३ चैत्र २०७९, शुक्रबार मा प्रकाशित

पूर्वी नेपालको प्रशिद्ध शक्तिपीठ पाथीभरा माताको मन्दिरमा बलि चढाउने क्रम घट्दै गएको सु–समाचार प्रकाशमा आएको छ । बलि चढाउँदा माता खुशी हुने र इच्छित कामनाहरु पूरा हुने अन्धविश्वासमा वर्षेनि हजारौं पशुको बलि दिइने गरेकोमा अहिले त्यो संख्या ह्वात्तै घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । पशु बलिको क्रम घटेसँगै अहिले पाथीभरा मन्दिर क्षेत्र सफा, सुग्घर, दुर्गन्धरहीत र सुन्दर देखिन थालेको उनले बताए । त्यसो त वैदिक सनातन हिन्दू परम्परामा पशु बलि अनिवार्य मानिन्छ । एकथरी संस्कृतिविद्हरु देवीलाई बलि दिँदा देवदेवीहरु खुशी हुने र आफूले चिताएका कुरा पूरा हुन्छन् भन्ने मान्यता राख्छन् । यही विश्वासमा देवाली वा कुलपूजाका नाममा सयौं निरपराध पशुको बलि दिने गरिएको छ । यस्तो मान्यता र अन्धविश्वासले मानिसलाई क्रुर बनाएको छ । यस्ता कुरीति र कुप्रथाका कारण हाम्रो धर्म–संस्कृति माथि नै प्रश्न उठ्ने गरेको छ ।

हाम्रो सनातन धर्म, परम्परा र संस्कृतिमा सम्पूर्ण प्राणी ईश्वरका सन्तान हुन् । यस हिसाबले मानिस मात्र होइन विश्वभरका सम्पूर्ण प्राणी एकै परिवारका सदस्य हौं । हामी सबै उनै ईश्वरका सन्तान भएपछि सन्तानको बलि चढाउँदा माता कसरी खुशी हुन सक्छिन् ? सन्तानको रगत खाने आमा पनि हुन्छन् र ? प्रश्न यथावत छ । त्यसैले पनि बलि चढाउने, मांसाहार गर्ने प्रवृत्तिका कारण निर्दोष पशुको हत्या गर्ने, बलि चढाउने कार्य देवीको प्रशन्नताको विषय हुन सक्दैन, बरु दुःख वा विषादको कारक हुनसक्छ । हामी आफूलाई एक्काइसौं शताब्दीमा छौं भन्छांै र बलि जस्तो अन्धविश्वासलाई त्याग्न सक्दैनौं । यस्तो द्वैध चरित्रले न मयुर हुन सकिन्छ न त काग कै चिनारी सुरक्षित हुन्छ !

बलि दिएर धर्म हुने मान्यता त्याग्न नसकेसम्म अहिंसाको मार्ग पहिल्याउन सकिँदैन । त्यसैले निरपराध पशुको बलि दिएर धर्म प्राप्त गर्छु भन्नेहरुले आफूभित्रका क्रोध, लोभ, मोह, घृणा जस्ता विकारहरुको बलि दिनु पर्दछ । त्यसो गर्न सकिए हाम्रा आस्था, श्रद्धा र विश्वासका देबालयहरु बधशाला हुनबाट जोगिनेछन । यसका लागि हामीमा सांस्कृतिक जागरण आवश्यक छ । आत्मचेतनाको आलोकले हामीभित्रका दुर्गुण, कुप्रवृत्ति र हिंस्रक प्रवृत्तिको अन्त्य हुन्छ । त्यसका लागि राज्यले पनि पशु बलि जस्तो जघन्य अपराध रोक्ने नीति बनाउँदै अहिंसक मार्गलाई प्राथमिकता दिनु पर्दछ । पाथीभरा माताको मन्दिरमा घट्दै गएको पशु बलिको क्रमले त्यस ठाउँको सौन्दर्य उजागर गर्न र महिमा अझ व्यापक बनाउन मद्दत नै पुग्नेछ । त्यसकारण पनि यो चेतनालाई सुखद् मान्नु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here