पथरीशनिश्चरे -७ मा बौद्ध धर्म सम्बन्धित मायादेवी पार्क निर्माण गरिने

0
124

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे -०७ स्थित चुम्लुङ चोकमा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धकी माता मायादेवीको स्मृतिमा पार्क बनाईने भएको छ। शुक्रबार धार्मिक पर्यटन प्रवर्द्धन गर्दै स्थानीयहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मायादेवी पार्क निर्माण गरिने भएको हो ।

शुक्रबार बसेको कार्य समितिको वैठकले आगामी चैत ६ गते बौद्ध परस्परा अनुसार लामा गुरूद्वारा धार्मिक संस्कार गरि राजनीतिक व्यक्तित्वहरूबाट उद्घाटन कार्यक्रम तय गरेको छ।
सोहि बैठकले निर्माण सामाग्री खरिदका लागि पार्क संचालक समितिका उपाध्यक्ष ओम प्रसाद राईको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरेको छ ।

अघिल्लो प्रदेश सरकार अन्तर्गत पर्यटन,उद्योग तथा वाणिज्य मन्त्रालयबाट सो क्षेत्रमा पार्क निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको निवर्तमान प्रदेश सांसद् कृष्ण कुमारी राईले बताउनुभयो ।

सोहि क्रममा उहाँले आफु प्रदेश सांसद हुदाँ यो योजनाको लागि पहल गरेको बताउनुभएको थियो। सो रकम आर्थिक वर्ष २०७९/०८० मा निवर्तमान मुख्य मन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा रहेको प्रदेश सरकारबाट विनियोजन भएको र स्थानीय बासिन्दाहरूको ४ लाख बराबरको श्रमदान सहित कूल २८ लाख रुपैयाँको बजेटले उक्त पार्क निर्माण सम्पन्न गरिने संचालक समितिका सचिव जोन लिम्बुले जनाएका छन्।

पार्क निर्माणको लागि पथरीशनिश्चरे -७ को मंगलबारे डांडा स्थित पथरी खोला आसपासमा वर्षौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा ८ घर परिवारले मिलेर कूल १८ कठ्ठा क्षेत्रफलको जग्गा निशुल्क प्रदान गरेका हुन्।

निशुल्क अनुदान सहयोग गर्नेहरूमा क्रमशः विष्णु कुमारी राई (५) ,निर बहादुर विक (५ कठ्ठा), मन माया तामाङ (२.१० धुर),गंगा माया तामाङ (२ कठ्ठा), जग माया राई (१कठ्ठा) ,श्रीमाया लिम्बु (१ कठ्ठा), धनमाया लिम्बु (१) र छविलाल लिम्बु (१० धुर ) रहनुभएको छ।

पार्कको हाताभित्र मायादेवीको शालिक सहितको प्रवेशद्वार, घेराबारा, बाल बालिकाहरूको लागि मनोरञ्जनात्मक खेलौनाका स्थलहरू, आकर्षक बगैंचा आदि पुर्वाधारहरु निर्माण गरिने योजना रहेको पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले जानकारी दिनुभयो।

पुर्वाधारहरु चालु आर्थिक वर्षको असार अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने गरी संझौता भएको अध्यक्ष विकले बताउनुभयो। उक्त अवसरमा पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी विकको अध्यक्षतामा भएको बैठकमा वडा सदस्यहरु क्रमशः नरेश बहादुर राई र मनिस सुब्वा ,उपाध्यक्षद्वय चन्द्र बहादुर थापा र ओम प्रसाद राई , सल्लाहकार सदस्यहरुको पनि उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here