भारतका सुरक्षा सल्लाहकार ‘अजित डोभाल’

0
137

भारतका सुरक्षा सल्लाहकार अजित (अजितकुमार) डोभाल निकै चर्चित छन् । यी चर्चित व्यक्तित्व को हुन् त ? उनी किन चर्चित छन्, उनको काम कस्तो छ, विशेषता कस्तो छ ? तर, उनी आफ्नो काममा निकै सक्षम छन् ।

भारतका सुरक्षा सल्लाहकार डोभाल एक प्रभावकारी सुरक्षा सल्लाहकार मानिन्छन् । उनी जुन विषयमा, जो सँग वार्ता गर्छन् सफल बनाइहाल्छन् । डोभाल आफ्नो देशका लागि राम्रो हुने गरी काम गर्न निकै सिपालु मानिन्छन् । डोभाल विभिन्न देशका प्रमुखहरुसँग सिँधै कुराकानी गर्न जान्छन् । उनलाई राष्ट्र प्रमुखहरुसँग कुराकानी अर्थात् वार्ता गर्न सिँधै पठाइन्छ या निम्ता नै दिइन्छ । भन्नुको मतलब डाइरेक्ट एक्सेस छ । कतिपय वार्ताकारहरुले कसै, कुनै तह मार्फत मात्र इन्डाइरेक्ट तवरमा वार्ता गर्न पाउँछन् । तर, डोभाल सिँधै राष्ट्रप्रमुखहरुसँग कुराकानी गर्न सक्ने खुबी भएका व्यक्तित्व हुन् । त्यसैले पनि उनी चर्चामा छन् । भर्खरै मात्र रुसका राष्ट्रपतिसँग नै कुराकानी गरेका छन् । रुसका राष्ट्रपतिले नै डोभालसँग कुरा गर्न तिम्ता दिएका हुन् । यसको सिधा अर्थ यो हुन सक्छ कि, डोभाल विदेशीलाई फकाउन सिपालु छन् र डोभालको वार्ता शैली निकै प्रभावकारी या लोभलाग्दो छ ।

भारतको उत्तराखण्ड राज्यमा जन्मिएका अजित डोभाल सन् १९६८ मा भारतीय प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले सन् १९७० र ०८० को दशकको उत्तरार्धमा मिजोरम र पञ्जावमा विद्रोह विरोधी अभियानहरूमा प्रमुख भूमिका निभाएका थिए । डोभाल सन् १९८४ मा खालिस्तानी वा सिख उग्रवादलाई निस्तेज पार्न ‘अपरेसन ब्लु स्टार’ का लागि गुप्तचर सूचना सङ्कलन गर्ने एक प्रमुख व्यक्ति थिए । उनी सन् १९९० मा जम्मु–कश्मीर गए र कट्टरपन्थी लडाकुहरूलाई प्रतिविद्रोही बन्न राजी गराए, जसले सन् १९९६ मा अशान्त सीमावर्ती राज्यमा चुनाव गर्ने आधार तयार भयो । सन् १९९९ को अन्त्यमा, डोभालले आईबीमा अतिरिक्त निर्देशकको रूपमा काम गरे । त्यस समय तालिबान नियन्त्रित कान्दाहारमा, अपहरण गरिएको इण्डियन एयरलाइन्सको फ्लाइट ८१४ बाट १५५ यात्रुहरूको रिहाईका लागि तीन वार्ताकार मध्ये एकको रुपमा डोभाललाई पनि पठाइएको थियो । डोभाल सम्मिलित वार्ता टोलीले अपहरित यात्रुहरु सकुशल भारत फर्कन सफल बनायो । यस बाहेक उनले सन् १९७१ देखि हालसम्म भारतीय विमान अपहरणका कम्तीमा १४ वटा अन्य घटनाको समस्याहरु सफलतापूर्वक समाधान गरिसकेका छन् ।

सन् २००५ मा आईबी प्रमुखको पदबाट अवकाश लिएपछि उनले विवेकानन्द इन्टरनेसनल फाउन्डेशन (भीआईएफ) नामक राष्ट्रवादी थिंक ट्यांकको स्थापना गरे । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएपछि उनी राष्टिूय सुरक्षा सल्लाहकार बनाइए । त्यसको केही समयपछि डोभाल चर्चामा आए ।

सोही वर्षको जुनमा उनले इराकको तिकरितस्थित एक अस्पतालमा फसेका ४६ जना भारतीय नर्सको रिहाईका लागि वार्ता गरेका थिए । सन् २०१४ जुलाई ५ मा ती नर्सहरुलाई सुरक्षित रुपमा भारत फर्काउने मिसन सफल भयो । अपरेशनको सफलता एनएसएको रूपमा डोभालको पहिलो उपलब्धिहरू मध्ये एक थियो, जसले उनको शक्ति र प्रभाव वृद्धिलाई चिह्नित गरिदियो । यसरी उनी काममा सफल हुँदै आए ।

डोभाल एक अति राष्ट्रवादीको रुपमा पनि मानिन्छ । डोभालको रणनीतिक दृष्टिकोणको छाप उनी एनएसए हुनुभन्दा धेरै अघि नै सार्वजनिक डोमेनमा थियो । डोभालले सन् २०१५ मा म्यान्मारमा, तत्कालीन भारतीय सेनाप्रमुख जनरल दलवीर सिंह सुहागसँग मिलेर प्रतिबन्धित नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन) का लडाकुबिरुद्ध सफल सैन्य अभियानको नेतृत्व गरेका थिए । सन् २०१६ मा लडाकुको लन्च प्याडमा गरिएको ‘सर्जिकल स्ट्राइक’ र सन् २०१९ मा आतंकवादी प्रशिक्षण शिविरमा गरिएको हवाई हमला डोभालको निगरानीमा भएको थियो । उनले सन् २०१७ मा भारतीय रक्षा बल र चीनको पिपुल्स लिबरेशन आर्मीबीच भएको डोक्लाम विवाद अन्त्य गर्न पनि सहयोग गरेका थिए । उनले पाकिस्तानमा सक्रिय लडाकू समूहबारे गुप्तचर सूचना संकलन गर्न सात वर्ष काम गरे ।

अक्टोबर २०१८ मा, मोदी प्रशासनले रणनीतिक नीति समूहलाई पुनर्जीवित गर्ने निर्णय ग¥यो । एक एजेन्सी जसले राष्ट्रिय सुरक्षा र रणनीतिक चासोका मामिलाहरूमा प्रधानमन्त्रीलाई सल्लाह दिने काम गर्दछ, डोभाललाई यसको अध्यक्षको रूपमा उक्त समूहलाई राष्ट्रिय सुरक्षा परिषद्लाई सहयोग गर्ने र दीर्घकालीन रणनीतिक प्रतिरक्षा पुनरावलोकनमा सहयोग गर्ने जिम्मेवारी दिइएको थियो । यो कदमले डोभाललाई सन् १९९८ मा एनएसए पद सिर्जना भएयता भारतको सबैभन्दा शक्तिशाली नोकरशाह बनायो । यो समूह राष्ट्रिय सुरक्षा नीति–निर्माणमा अन्तरमन्त्रालय समन्वयको मुख्य संयन्त्र बनेको छ र प्रधानमन्त्रीमा डोभालको निर्बाध पहुँचले उनलाई मोदी क्याबिनेटका धेरै मन्त्रीहरू भन्दा धेरै शक्तिशाली बनाएको छ ।

सन् २०१९ मा डोभाललाई थप पाँच वर्षका लागि एनएसएको रूपमा पुनः नियुक्त गरिएको थियो र मोदी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारको दोस्रो कार्यकालमा उनलाई क्याबिनेट दर्जा दिइएको थियो । डोभाल परम्परागत रूपमा भारतप्रति शङ्का गर्ने विदेशी शक्तिहरूलाई रिझाउने, उनीहरुसँग कसरी ब्यबहार गर्नुपर्छ भन्ने कुशल सीप, शैली या विचार उनमा उच्च छ । यो पनि अनुमान गरिएको छ कि, डोभालको सिद्धान्त अनुसार जम्मू र कश्मीरमा आन्तरिक सुरक्षा चुनौतिहरू नियन्त्रण हुन सफल भएको छ ।

धेरै स्तम्भकार, रक्षा विश्लेषक र डोभालका पूर्व सहकर्मीहरूले उनलाई बाजको संज्ञा दिएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीको नीतिसँग मेल खाने गरी जानीजानी कट्टर राष्ट्रवादलाई अगाडि बढाएको र त्यसको प्रभाव विदेश नीतिमा पनि देखिन थालेको भन्दै उनको आलोचना पनि हुने गर्दछ । यो विश्वास गरिन्छ कि डोभाल शक्ति सुँघ्न माहिर छन् । उनी र मोदी एकअर्काका लागि मात्र बनेका हुन् भन्ने जस्ता विचार पनि व्यक्त भएका छन् । द्वन्द्व व्यवस्थापनप्रति उनको कथित उपेक्षा र कथित मानव अधिकार उल्लङ्घनका कारण आलोचकहरूले उनको आलोचना गर्ने गरेका छन् । यदाकदा उनको आलोचना हुने गरेपनि उनले उच्च स्थानहरूबाट प्रशंसा नै पाएका छन् । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले विदेश नीतिमा डोभालको प्रमुख भूमिकालाई जोड दिएका छन् । नेभर गिभ एन इञ्च ः फाइटिङ फर द अमेरिका आई लभ नामक पुस्तकमा उनले डोभालको वासिङ्टनदेखि मस्कोसम्मको सामान्य स्वीकारोक्तिलाई स्मरण गरेका छन् ।

सन् २०१७ देखि २०१८ सम्म टूम्प प्रशासनमा सेन्टूल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का निर्देशक र त्यसपछि सन् २०१८ देखि २०२१ सम्म विदेशमन्त्रीको रूपमा काम गरेका पोम्पेओले लेखेका छन्, भारतीय पक्षका लागि मेरा मूल समकक्षी भारतीय विदेश नीति टोलीका महत्वपूर्ण खेलाडी थिएनन् । बरु, मैले प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र एनएसए अजित डोभालसँग धेरै नजिकबाट काम गरेँ ।
भारतका सुरक्षा सल्लाहकार अजित डोभाल र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा हालै एक्लाएक्लै भेटवार्ताले भएको छ । पुटिनले भारतका पाँचौं एनएसए तथा अवकाशप्राप्त इन्टेलिजेन्स ब्युरो (आईबी) प्रमुख डोभाललाई भेट्ने समय निकालेर विदेश नीतिका केही विज्ञलाई आश्चर्यचकित पारे । साङ्घाई कोअपरेसन अर्गनाइजेशनको तत्वावधानमा आयोजित अफगानिस्तान सम्मेलनको साइडलाइनमा उनीहरुबीच एक घण्टा लामो भेटवार्ता भएको थियो । डोभाल रुसी राष्ट्रपतिसँग व्यक्तिगत भेटघाट गर्ने दोस्रो भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । यस भन्दा पहिला सन् २००१ मा एनएसए ब्रजेश मिश्रले पुटिनलाई भेटेका थिए । भारतका सबै उच्च पदस्थ अधिकारीमध्ये प्रधानमन्त्रीहरूले मात्र पुटिनसँग प्रत्यक्ष भेटघाट गरेका छन् । वर्तमान विदेशमन्त्री सुब्रमण्यम जयशंकरसहित देशका विदेशमन्त्रीहरूलाई समेत बाहिर राखिएको छ ।

रुसी राष्ट्रपति पुटिनले डोभालसँग अझ बढी आत्मीयता महशुस गर्न सक्छन्, जो मोदीका सबैभन्दा विश्वसनीय सहयोगी हुन् । डोभालसँग प्रत्यक्ष सम्बन्ध राख्नुको व्यवहारिकताको अर्थ नै बैग्लै हुन्छ । जसले सजिलोपन ल्याउँछ । डोभाल नेपाल पनि आएका छन् र सफल वार्ता गरेका छन् । किन चर्चित छन् अजित डोभाल ? किनकि उनी आफ्नो देशका लागि सही र सफल काम गर्छन् त्यसैले चर्चित छन् । नेपाली कुटनीतिकारहरुले डोभालको वार्ता, कार्यशैलीबाट धेरै कुरा सिक्न सक्छन् ।

(सामग्रीहरु अध्ययनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here