कर्णालीका दुई ठूला जलविद्युत नेपाली कम्पनीको पोल्टामा

0
106

काठमाण्डौं ।

चिनियाँ कम्पनीले दुई ठूला परियोजना अघि बढाउन नसक्ने भएपछि नेपाली कम्पनीलाई हस्तान्तरण गरेको छ।

चीनको सिचुवान वाङपिङ इनर्जीले कर्णाली– १ र कर्णाली– २ को लाइसेन्स नेपाली कम्पनी रुरु जलविद्युत आयोजनालाई हस्तान्तरण गरेको हो। त्यही भएर रुरुले यो आयोजनाको अध्ययन अघि बढाउने निर्णय गरिसकेको छ।

कम्पनी र कर्णाली वाटर पावर बीच सहमति गरेर नयाँ परियोजनाहरुको अध्ययन गरि लगानी गर्न लागिएको हो। कम्पनी सचिव किशोरप्रसाद घिमिरेले चिनियाँ कम्पनीसँग सर्वे लाइसेन्स लिएर अध्ययन प्रक्रिया अघि बढाउन लागिएको बताए।

उनका अनुसार चिनियाँ कम्पनीले लिएको भएपनि यी दुई आयोजना विभिन्न कारणले अघि बढाउन सकेन। अघि बढाउन नसक्ने निष्कर्षपछि रुरु हाइड्रोपावरले अघि बढाउन लागेको हो।

हुम्ला कर्णाली–१ जलविद्युत आयोजना २३५ जडित क्षमताको छ भने हुम्ला कर्णाली–२ ३३५ मेगावाट क्षमताको छ। दुवै गरि ५७० मेगावाट क्षमताका छन्।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले दुई आयोजनाको सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाउने निर्णय गरेको हो। चिनियाँ कम्पनीले यी दुवै आयोजनाको सर्वे लाइसेन्स २०७४ चैत २९ गते पाएका छन्। यो लाइसेन्सको अवधि २०७९ चैत २८ गतेसम्म मात्रै बाँकी छ। लाइसेन्स अवधि सकिन लाग्दा नेपाली कम्पनीलाई दिइएको हो।

रुरु जलविद्युतका अध्यक्ष आशिष सुवेदीले दुवै परियोजना लिन ‘नेगोसिएसन’ चलिरहेको बताए। उनका अनुसार यही महिनाभित्र लाइसेन्स लिइसक्ने गरि काम भइरहेको छ। ‘यही महिनासम्मको मात्रै चिनियाँ कम्पनीसंग लाइसेन्स छ। हामीले समय सकिनु अघि नै लिएर नविकरणको काम थाल्नुपर्नेछ, ‘ उनले भने, ‘सक्दो छिटो टुंग्याउनेमा छौं।’

कम्पनीले दुवै परियोजना लिएर अध्ययन गर्नेछ। अहिले दुवै आयोजनाको सर्वे र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआइए) अन्तिम चरणमा पु¥याएको जानकारी चिनियाँ कम्पनीले गराएको छ। ‘हाम्रो प्राविधिकहरुले उहाँहरुले गरेको अध्ययन हेर्नुपर्छ। सो आधारमा मूल्यांकन हुन्छ। हामी मूल्यांकनका आधारमा उहाँहरुलाइ लागत दिन्छौं, ‘ उनले भने, ‘ अध्ययन राम्रो छ भने अलि धेरै दिनुपर्ला। कमजोर छ भने थोरै दिन्छौ। अहिले नै यति नै भन्ने निर्णय भएको अवस्था होइन्।’

उनका चिनियाँ कम्पनीले ती दुई परियोजनामा लगानी गर्न नसक्ने भन्दै नेपाली प्रवर्द्धकहरु खोजिरहेको थियो। अन्यत्र समेत लगानी गरिरहेको र अहिलेको परिस्थितिमा नेपालका आयोजनामा लगानी गर्न सक्ने अवस्था नभएको भन्दै प्रवर्द्धक खोजेको हो। सो जानकारीपछि रुरु हाइड्रोपावरले दुवै आयोजना कर्णाली वाटर पावरसँग मिलेर अघि बढाउने निर्णय गरेको हो।

‘अध्ययनपछि मात्रै आयोजना कस्तो छ भन्न सकिन्छ। हामी दुई कम्पनी मिलेर अध्ययन गर्छौं,’ उनले भने,’ ठुला परियोजना भएकाले विकासका लागि अरु पार्टनरहरु पनि खोज्छौं।’

हुम्ला कर्णाली –२ को हुम्ला कर्णाली –१ क्यासकेड बनाउने योजना

यी दुवै आयोजना हुम्लाको कर्णाली नदीमा प्रस्तावित आयोजना हुन्। दुवै आयोजना सँगसँगै छन्।

हुम्ला कर्णाली–२ आयोजनाभन्दा तलतिर हुम्ला कर्णाली–१ जलविद्युत आयोजना प्रस्ताव गरिएको छ। कम्पनीले हुम्ला कर्णाली–१ लाइ हुम्ला कर्णाली–२ को क्यासकेड आयोजना बनाउने योजना बनाइएको छ।

क्यासकेड आयोजना बनाउँदा दोस्रो आयोजनाका हेडवर्क्स लगायतका संरचना बनाइरहनु पर्दैन। जसका कारण लागत समेत कम हुन आउँछ। पहिलो आयोजनाकै जलाशय प्रयोग गरे हुन्छ।

प्रारम्भिक अध्ययनले दुवै आयोजना अर्ध–जलाशय प्रकृतिको हुने देखाएको छ। २० देखि २२ करोड रुपैयाँ प्रतिमेगावाटमा निर्माण गर्न सकिने अनुमान गरेको सुवेदीले बताए।

अहिले कम्पनीले ५ मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना संचालनमा ल्याएको छ। नदी प्रवाहमा आधारित प्रकृतिको यो आयोजना गुल्मीमा अवस्थित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here