नेपाली युवा

११ चैत्र २०७९, शनिबार मा प्रकाशित

हे नेपाली युवा नजाउन उता फर्केर आऊ यतै
आमाको गर सुश्रुसा अब तिमी भागी नजाऊ कतै
यही माटोसँग मित् लगाउन बरु जान्छौ नि व्यर्थै पर
बाँचौला सब साथमा युवक हो फर्केर आऊ घर ।

यही हिमाली धरा बनाउँ टहरा छानो खरैको गरी
हावा शीतल भै बहन्छ नि सधैँ आनन्द जीवनभरि
बोल्छन् पंक्षीहरु मधुर ध्वनिमा मिठो गराई स्वर
बाँचौंला सब साथमा युवक हो फर्केर आऊ घर ।

बाबाको मन रुन्छ हरदम यहाँ टाढा छ छोरो भनी
आमाको दिल जल्छ हर्हरी सदा देखिन्न स्वप्ना पनि
एक्ली बिरहिणी ती पत्नी बबुरा रुन्छिन् सधैँ धर्धर
बाँचौला सब साथमा युवक हो फर्केर आऊ घर ।

बाटो हेर्दछ पुत्र त्यो तिमी बिना जाँदैन विद्यालय
खै बाबा भनि सोध्छ त्यो दिनदिनै के दिनु लौ उत्तर
हामी वृद्ध भयौँ ठेगान नहुने कसको छ पर्नु भर
बाँचौला सब साथमा युवक हो फर्केर आऊ घर ।

जो जे मिल्छ अगाडि सोही गरुँला काम्को विचारै गरी
जे भेटिन्छ ऊ खाउँला मिलिजुली त्यै हुन्छ अमृत सरी
आप््mनै देशमहाँ बगाऊ पसिना जाँदैन व्यर्थै खेर
बाँचौंला सब साथमा युवक हो फर्केर आऊ घर ।

घरको छानो चुह्यो बलाहरु टुटे गाई कटेरो लड्यो
सिंगारे खसी बाघले लगिदियो भैँसी भिरैमा लड्यो
के–के भो भनिसाध्य छैन नि यहाँ लाग्दैछ मनमा डर
बाँचौला सब साथमा युवक हो फर्केर आऊ घर ।

– योगेन्द्र खतिवडा
बिर्तामोड नगरपालिका वडा नं. १

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here