कृतिको नाम बैंसको फूल तर यो कृति धेरैअघि नै फुलिसकेको फूल हो । कृतिभित्रका अक्षरहरु पनि लेटर प्रेसले छापिएका छन् । आहा ! कति सुन्दर अक्षरहरु । भनिन्छ नि पुस्तकमा छापिएका अक्षरहरु कालो अक्षर हुन् अनि कालो अक्षरहरुका अर्थ गहन हुन्छन् । साँच्चो लुक्स र अर्थको पुस्तक लाग्दछ यो कृतिको मुख पृष्ट र भित्री पृष्टहरु हेर्दा । देख्दैमा लोभलाग्दो छ बैंसको फूल ‘खण्ड काव्य’ । यो कृति उसको समयमा बैंसले धपक्कै परेको थियो होला ।
यस कृतिको विशेषता, गहनताबारे विभिन्न विद्वान साहित्यकारहरुका शब्दहरुबाट जानौ । विद्वान साहित्यकार डि. बि. इलामेका सिर्जनाहरु समेटिएको यस कृतिभित्र विद्वान साहित्यकार राजेन्द्र सुवेदीका उद्गारहरु प्रकाशित भएका छन्, जहाँसम्म नेपाली काव्य परम्परामा आधुनिकता पाएको समय भनेको मुनामदन लेखिएपछिको समय हो । यसै धर्म र प्रकृतिसँग साहृचार्य देखाउने प्रस्तुत कृति देवकोटाकै दृष्टिको नजिक रहेर रहस्यात्मक इश्वरीयता र संवेदनात्मक मानवताका किनारामा उभिएको छ ।
आजको वर्गशोषण, वर्गद्वन्द्व र सामाजिक संघर्षको युगमा उभिएर पनि प्रस्तुत कृतिले समाजका विकृतिका बिरुद्धमा द्वन्द्वको चेत नजन्माई पलायन र इश्वरीय अनुकम्पामा जीवन भगवर सरिक्षका भरमा अड्छ भन्ने निष्कर्ष निकालेको छ । यस कारण मानव भनेको प्रकृतिको रचना जगत्मा इश्वरीय दया र दृष्टिमा चल्ने एउटा आदर्श निरन्तरता हो । दैव संयोग नै जीवनको परिणति अभिव्यक्त हुन्छ भन्ने निष्कर्ष यस काव्यमा देखिएको छ । इलामेका काव्यात्मक प्रयासले रचनाको रुप पक्षमा निकै राम्रो सफलता पाएको छ र वस्तु पनि यथार्थमूलक चयन गरिएको छ ।
विद्वान धरणी गौतम (क्याम्पस प्रमुख, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम)–का शब्दमा, साहित्यकार इलामे र उनको यस कृति, इलामका हालका चर्चित साहित्यकार डि.बि. इलामेले लेख्नुभएको बैंसको फूल खण्ड काव्य पाँच चरणमा एउटै प्रवाहमा लेखिएको यो खण्ड काव्य लोकलयमा लेखिएको एक सामाजिक खण्ड काव्य हो । देवकोटाको मुनामदनको स्मरण गराउने लय र विषयांश देखिए पनि यसको आफ्नो छुट्टै मर्म रहेको पाइन्छ ।
जागीर र विदेशलाई ठूलो सम्झने नेपाली मानसिकतालाई झटारो हान्दै आफ्ना कृषिजन्य गौरवमा रहेको शान्ति र गौरवपूर्ण आर्थिक उन्नति र यसकै माध्यमबाट हुन सक्ने शैक्षिक र बौद्धिक विकासका गतिलाई यहाँ प्रस्तुत गर्दै पौरख नगर्ने सामन्ती व्यक्ति र दुव्र्यसनमा लाग्ने मान्छेले हाम्रा समाजमा भोगेका हालका यथार्थलाई पनि प्रस्तुत गरिएको छ । यस्तै इलामको कृषि र यसको अवस्था एवम् आसामे नेपालीको अवस्था पनि यसमा संकेत गरिएकोबाट यो आञ्चलिक काव्यको रुपमा पनि देखिन पुगेको छ । यस कृतिमा डि. बि. इलामेज्यूको यो सृजना स्तुत्य छ र काव्य पठनीय पनि ।
साहित्यकार जोदीराको विचार पनि मननिय छन्, सम्भवतः डि.बि.इलामेज्यूले लोकलयमा गाउनुभएको यो नेपाली भाखाको झ्याउरे गीतमा उहाँको जीवन र जगतसँगको उपयुक्त तादम्य कै परिणाम स्वरुप यो बैंसको फूल फक्रिन लागेको हो जस्तो मलाई लागेको छ । प्रकृतिलाई नै आफ्नो कृतिको रुप दिन उहाँले गर्नुभएको यो प्रयास नेपाली जनजीवनको अर्ध शताब्दीदेखिको जमर्कोको एउटा अर्को कडी पनि हो जस्तो मलाई लागेको छ । अभाव भोक, यात्रा विछोड, अवनति उन्नति यो आजको नेपालको यथार्थ पनि हो र स्वभाव र प्रकृति पनि ।
कसरी हामी विदेश जान बाध्य छौँ, कसरी हामी आफ्नो श्रमले देश बनाउन चाहेर पनि असमर्थ छौँ, कसरी हामी घमण्डले चूरचूर भएर मासिन्छौँ भन्ने कथनलाई लेखकले आफ्नो अदम्य धैर्यका साथ नेपाली समाजमा उभ्याउने प्रयास गर्नुभएको छ । यो नेपालको पूर्वी पहाडको एक छेउदेखि ब्रम्हपुत्रको किनारसम्मको अर्को छेउलाई अंगालेको सुस्केरा हामी सबैको सुसेली जस्तो मलाई लागेको छ । जसरी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनले हाम्रो लाहुरे यथार्थमा नेपालको वाणी उरेल्नु भएको थियो, त्यो यथार्थ एक्काइसौँ शताब्दीमा पुग्ने नेपालमा पनि उस्तै छ त ? जवाफको लागि यो बैंसको फूल सार्थक हुनेछ । यी विचारहरुबाट डि. बि.इलामेको यस कृति महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन जस्तै विशेषता भएको बुझ्न सकिन्छ ।
भन्न मन लागेको कुरा शीर्षकमा, कृति सिर्जनाकार इलामे यसरी मनका कुरा भन्छन्– यस बैंसको फूल नामक खण्ड काव्यमा दुःख–सुखका दुई बैंसहरु फूलेको मैले महशुस गरेको छु । जब साहुको पूर्वकालीन खानदानी रवाफ र ज्ञानुको दरिद्री काल दृष्टान्त दिँदै समयमा मैले भन्नुपर्दा जेठा साहू जस्ता ग्रामीण खानदानी परिवारको रवाफ र अमानवीय व्यबहारले जीवनको अन्त्यकालमा भोग्नु परेको दुर्गति र अर्थोपार्जनार्थ एउटा सामान्य ज्ञानु जस्तो व्यक्तिले निरन्तर प्रयास गर्दा हुन गएको उत्तराद्र्ध कालीन जिजिविषामूलक प्रगतिले पक्का पनि अबिरल परिश्रमले सफलता मिल्छ । नचाहिँदो आडम्बर, कुलतपूर्ण व्यवहारले मानिसलाई अधोगतितिर धकेल्छ भन्ने एउटा सामाजिक चेतनाको जागृति नव पिँढीहरुमा गराई सभ्य, शिष्ट समाजको सृजना गर्न यो बैंसको फूल नामक खण्ड काव्यले अवश्यमेव मद्दत पुर्याउला र समस्त साहित्यानुरागी, शिक्षार्थी र पाठक मित्रहरुमा केही न केही यथार्थवादी भाव र शब्द लयले प्रभावकारी मिठास अनुभूति गराउला भन्ने जहाँसम्म आशा लिएको छु ।
यस खण्ड काव्यकारका यी उद्गार र अन्य विद्वान साहित्यकारहरुका विचारबाट प्रस्तुत कृतिबारे धेरै कुरा जान्न सकिन्छ । यस कृतिभित्रका काव्यको पहिलो चरण अन्तर्गत पहिलो चारहरफ काव्य यहाँ प्रस्तुत गर्दछु– ‘बाबुको छोरा, त्यै ज्ञानु मोरा ! बालकै टुहुरो, दाजु र भाइ एक–एक जनाबीचको मुजुरो । आमाको साथ बढेको खास नछोडी लगानी, गरेथ्यो काम जुराई माम चढेछ जवानी ।’ अब अर्को चार हरफ पढौँ– ‘घरलाई छोडी मायालाई तोडी मुटु नै पगाली, श्रीमती छोरी आमालाई हेरी पयरै उचाली, पर्देशतिर पाइला चाल्यो बनेर पराई, तरङ्ग बोकी चिन्ताले कठै ! बेदना चलाई ।’ यी हरफहरुबाट, आमाबाबुले सन्तानलाई दुःखजिलो गरि हुर्काउँछन् बढाउँछन् अनि विदेश पठाउन बाध्य हुन्छन्, देशमा अवसर नभएपछि यसरी विदेशिन बाध्य छन् नेपाली युवाजन, यस्तै यथार्थ कथा व्यक्त गर्छन् यी काव्यहरुले ।
यस खण्ड काव्यको द्वितीय चरण अन्तर्गत प्रकाशित काव्यहरु मध्येका चार हरफ यहाँ प्रस्तुत छ– ‘उसकी मैना ! देख्दछ ऐना अन्तर दृष्टिमा, फुल्नु र फल्नु उसको लक्ष्य, यो मत्र्य सृष्टिमा । हिन्दूको धर्म, गरेर कर्म, जिउन उसले, खटेको कठै ! पर्देश तिरै सहेर उसले । अब खण्ड काव्यको अन्तिम चार हरफ पढौं– ‘भोगाइबाट मथेर ज्ञान उत्रन्छ बाहिर, त्यै ज्ञान ! काव्य सृजना भई लेखिन्छ आखिर, साँचो र झुट्टा सज्जन मित्र ! बुझेर बेकामे, कर्मलाई छोड भन्दछ यहाँ यो डि. बी. इलामे ।’
नेपाली समाजभित्रका यथार्थ चित्रण गर्दछ यस खण्ड काव्यले । लामो कालखण्डदेखिका अहिलेसम्मका नेपालीहरुका बाध्यता, वेदना, क्रन्दन र राज्यको अकर्मन्यता उजागर गर्दछ यो खण्ड काव्य । यो खण्ड काव्य पढ्नुको आनन्द नै अर्कै लाग्दछ । सुन्दर छ यो कृति । नेपाली खण्ड काव्य जगतमा एक गहन काव्यको रुपमा उभिएको छ यस पुरानो कृति । डि. बि. इलामेका अरु धेरै गहन कृतिहरु पनि प्रकाशित भएका छन् । जसले पाठकवर्गमा धेरै आयामका सुन्दर सन्देश प्रवाह गर्दछन् ।