दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

0
79

गलेश्वर,

झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीभm्याल, फलाँटे ढोका । नजिकै कलकल झरेको पानीको धारो । पश्चिमतर्फको ठाँठकीको कुनामा ढिकी र जाँतो । तलतिर म्याग्दी नदी । वरिपरि गहँु र केराउ फलिरहेको हरियाली फाँट । हेर्दै मन लोभिने खालको छ सीम गाउँ ।

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने यो गाउँ बेनी–दरबाङ सडकखण्डको नजिकै करिब पाँच सय मिटरको दूरीमा छ । यहाँ मल्लकालीन वास्तुकलाका छ वटा पुराना घर छन् । तीमध्ये एउटा घर दुई सय वर्ष पुरानो छ । त्यो घरलाई गाउँले र त्यहाँ पुग्ने पर्यटकले ‘बूढोघर’ भनेर भन्दछन् ।

सीमको गाउँ र खेतको फाँट नै एउटै परिवारको स्वामित्वमा छ । इतिहासको साक्षी बनेर रहेको सीम गाउँको इतिहास राणाकालीन समयको विर्ता प्रथासँग जोडिएको छ । विसं १८७० को दशकमा बागलुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबाट विर्ता स्वरुप यो गाउँ पाउनुभएको र उहाँले नै यहाँ घर निर्माण गर्नुभएको जानकार बताउँछन् । त्यतिबेला जुन निर्माण सामग्री र जुन स्वरुपमा निर्माण गरिएको थियो अहिले पनि यथावत् अवस्थामा नै ती घर रहेका छन् ।

विर्ता स्वरुप पाएको यो गाउँ कँडेलका सन्ततिले विसं १९७४ मा पोखराका लप्टन कोमलसिंह खत्रीलाई बिक्री गर्नुभएको र त्यसयता यहाँ कोमलसिंहका सन्तानको बसोबास रहेको छ । तीमध्ये ‘बूढोघर’ नाम दिइएको तीनतले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आउनुभएका लप्टन कोमलसिंहका नाति ६३ वर्षीय मनोजकुमार केसीले बताउनुभयो ।

यी घर पुरातात्विक र प्राकृतिक खोज तथा अनुसन्धानका लागिसमेत निकै महत्वपूर्ण भएकाले आफूले सम्पदाको संरक्षण गरेको उहाँले बताउनुभयो । घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी–दरबाङ सडक, वरिपरि फराकिलो खेतीयोग्य फाँट, सिँचाइकुलो, ढुङ्गा बिछ्याएर बनाइएको चिटिक्कको बाटो, घर वरपर आँप र विभिन्न फलफूलको बगैँचा, खानेपानी, विद्युत् र सञ्चारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ ।

यहाँका घरको इतिहास दुई सय वर्ष पुरानो रहेको र आफूहरु यी सम्पदाको संरक्षण गर्नका लागि बसाइँ सरेर कतै पनि नगएको कोमलसिंहकी नातिनी बुहारी विष्णु केसीले बताउनुभयो । खत्री परिवारका सदस्य अष्ट्रेलिया र अमेरिकामा छन् ।

जिल्लाकै प्राचीन सम्पदा र ऐतिहासिक महत्वको हुँदाहुँदै पनि सीम गाउँ ओझेलमा परेको र सरोकारवालाले कुनै चासो नलिएको खत्री परिवारका सदस्यको भनाइ छ । मल्लकालीन इतिहास, कला, संस्कृति र तत्कालीन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरको प्रचारप्रसार गरी यी सम्पदाको ऐतिहासिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्नसक्ने प्रवल सम्भावना रहेको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो ।

सीममा मात्रै होइन म्याग्दीका गौश्वारा, भिरमुनि, पुला, पन्थोक, रुम, देविस्थानलगायतका गाउँमा प्राचीन वास्तुकलाका घर अझैसम्म पनि रहेका छन् । ती इतिहासको साक्षी र पुर्खाको नासोका रुपमा रहेका घरको संरक्षण नहुँदा अलपत्र अवस्थामा देखिने गरेका स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here