तीब्र विकासमा ध्यान देऊ

0
183

प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शनिबार आफ्नो पार्टीको पदाधिकारी बैठकमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको थियो । त्यसैगरी नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि सरकारमा सहभागी हुनेहरुको नामावली आइतबारसम्ममा टुंगो लगाउने निर्णय गरेको थियो । त्यसका लागि नेतृत्व चयन गर्ने विषयमा सहमति भइनसकेको बताइएको छ । संसदमा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेपाली कांग्रेसले आठ वटा मन्त्रालयको दावी गरिरहेकोले प्रधानमन्त्री दाहाल दावी गरेको मन्त्रालय दिएरै भए पनि सरकार विस्तारका लागि छलफलमा व्यस्त छन् ।

विश्वासको मत प्राप्त गरेको यतिका दिनसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्नुका पछि साना दलहरुको दाबी मुख्यकारण रहेको जोकोहीले अनुमान गर्न सक्ने कुरा हो । राष्ट्रपति निर्वाचनदेखि विश्वास प्रकट गर्ने अवस्थासम्म प्रधानमन्त्री दाहाल र सत्ता गठबन्धनलाई साथ दिएका कारण उनीहरुको दाबीलाई उपेक्षा गर्न सक्ने अवस्थामा प्रधानमन्त्री छैनन् । साना दलहरुले उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालयको दाबी गरिरहेकाले सरकार विस्तारमा ढिलाइ भइरहेको स्रोतले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रपतिकोे निर्वाचनमा सत्ता गठबन्धनलाई साथ दिएको र प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिएकोले उसको दाबी अनुसार यसपटक पनि तीन वटा मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री दाहाल लागेका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्ता गठबन्धनका दलहरुका बीच भएको सहमति अनुसार कांग्रेसले आठ, माओवादीले पाँच, जसपा र एकीकृत समाजवादीले दुई–दुई वटा मन्त्रालय पाउने छन् । त्यस्तै सत्ता साझेदार साना दललाई एक–एक वटा मन्त्रालय दिने गठबन्धनका दलहरुका बीच सहमति भएको छ । सरकार विस्तार नभएकैले सरकारले आफ्ना गतिविधिहरुलाई तीब्र बनाउन सकेको छैन । त्यसैले मन्त्रिपरिषद्को विस्तारको कामलाई टुंगोमा पु¥याएर सरकारलाई गति दिने प्रधानमन्त्री दाहालको योजना छ । गत पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहाल त्यसलगत्तै कांग्रेससँग नजिकिएपछि राप्रपा र एमालेले समर्थन फिर्ता लिँदा अल्पमतमा परेका थिए । जसका कारण दाहाल दोस्रोपटक विश्वासको मत लिने बाध्यतामा पुगे । त्यसयता साना दलको दवाव र दाबीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो । सरकारको अबको लक्ष्य सुशासन, तीब्र विकास र विद्यमान आर्थिक संकटबाट उन्मुक्ति भएकाले तत्काल कार्ययोजनासहित काम अघि बढाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here