यतिबेला जनताहरुको जीवनमाथि चौतर्फी संकटहरु मडारिएका छन् । बजारमा आर्थिक संकट देखिएको छ । नेपाल राष्ट्र बैंकबाट जारी भएका नोटहरु एकाएक बजारबाट गायव हुन पुगेका छन् । डलर, भारु वा युवान जस्ता जहाँ लगे पनि साटिने नोट नेपालको होइन । तर, एक वर्षको अन्तरालमा ६४ अर्बभन्दा बढी नोट बजारबाट हरायो । यो पैसा कहाँ, कसले र किन लुकाएको छ ? यसको पछाडि गम्भीर राजनीतिक कारण देखिन्छ । कृतिम संकट–प्रायोजित विद्रोह–अमेरिकन योजना कार्यान्वयन यिनै खेलहरु श्रृंखलाबद्ध रुपमा नेपालमा खेलिँदैछन् ।
बैंकहरुको भूमिका उद्यमीहरुलाई मद्दत गर्दै राष्ट्रिय उत्पादकत्व वृद्धिमा उल्लेख्य सहायता गर्नु हो, तर यहाँ यस्तो देखिएन । बरु बैंकहरु लघुवित्तलाई अगाडि सार्ने र साधारण जनतामाथि अत्याचार मच्चाउने साधन बन्न पुगे । लघुवित्तहरु पञ्चायतले खटाइएका साहु महाजन झैं गणतन्त्र नामको पश्चिमा पपेट सञ्चालन गर्ने कारखानाका गुण्डा बनेका छन् । गरिबी निवारण गर्ने उद्देश्य अभिप्रेरित भनिएका यस्ता हजारौं लघुवित्तले यतिबेला नेपाली सर्वसाधारण जनताको हुर्मत काडिरहेका छन् । सायद यो हुर्मत नभोग्ने आज कुनै घर बाँकी नहोला ।
के नेपालका बैंक नेपाली उद्यमशिलता र नेपाली उत्पादकत्वको पक्षमा छन् ? के नेपाल राष्ट्र बैंक भनिएको अराष्ट्रिय प्रतिफल दिने संस्थाले नेपाली उत्पादकत्व र नेपाली उद्यमीहरुको हित हुने गरी सोच्न सक्यो ? यस्ता प्रश्नहरु हाम्रा अगाडि छन् । विचरा ! यिनीहरुले सक्ने कुरा पनि भएन । किनकि नेपाली सत्ता नै कमिशनखोर दलाल चरित्रका भएपछि बीचमा बसेर कमिशन खाने ढाँचाको मौद्रिक नीति तय गर्नु र सोही अनुसार काम गर्नु राष्ट्र बैंकको धर्म हो । यिनी बैंकहरुले नेपाली उद्यमी र उत्पादकत्वलाई कहिलै पनि प्रश्रय दिने र सहयोग गर्ने काम गर्न सक्दैनन् । जतिबेलासम्म पुँजीवादी सत्ता जिवित नै रहन्छ ।
झापामा एकजना युवा उद्यमीलाई भारतबाट ल्याउने मेसीन किन्न चार करोड ऋण प्रवाह बैंकले ग¥यो । शुरु अवस्थामा कामको योजनालाई सम्पूर्णरुपमा लगानी गर्ने सहमति गरेको बैंक जब उत्पादनको निम्ती उद्यमीलाई पैसा चाहिन्छ, तब लगानी गर्न नसक्ने भन्दै पछाडि हट्न पुग्छ । राज्य आफूले लिनुपर्ने राजश्व सबै लिन्छ, त्यसको गुणस्तर स्वीकृती दिन्छ । तर, उसलाई जब उत्पादन र बजारमा सहयोग गर्नुपर्ने समय आउँछ तब राज्यले त्यो उद्यमीलाई चिन्दैन । विदेशी लगानीका उद्योग, भारतीय नागरिकका ठूला–ठूला लगानीका उद्योग र उनीहरुको एकलौटी बजारमा कुनै नेपाली युवा उद्यमीबाट अलिकति मात्रै प्रभावित गर्ने कोशिस भयो भने व्यापारको कुरो त परै जाओस्, ज्यान बचाउन समेत मुश्किल रहेछ । राज्यको नीतिमा चलिरहेको बैंकसहितको सिण्डीकेट बजारले नेपालली युवा उद्यमीहरुको उद्योग चौपट पारिदिने, कालो सूचीमा निकाल्ने, आतंकित पार्दै धितो जफत गर्ने काम गरिरहेका छन् । अर्थात् बैंक साहु महाजन बनिरहेको छ ।
मिटरब्याजीको घिनलाग्दो मिटरले धेरैको जीवन उठिबास भएको छ । दर्जनौं परिवारको रुवाबासी र कारुणिक दृश्यसहितको उजुरी नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा आएका छन् । दुई लाख रुपैयाँ ऋण लिएर शुरु भएको कारोबार त्यही पैसा घुमाउँदै जबरजस्ती चेक लिँदै, धम्काउँदै, प्रहरीकै आडभरोसामा ५०औं लाख असुली गरेको दृष्टान्त पनि आँखै अगाडि आइरहेका छन् । मान्छे माथि मान्छेले यति ठूलो अन्याय सायदै गर्न नसक्ला । तर, यी मिटरे र यिनिहरुलाई साहयता गर्नेहरु कसरी मान्छे हुन सक्छन् र ? यी पशुवत व्यवहार गर्ने र तिनलाई सहयोग गर्नेहरुलाई न्याय र सच्चायीको पक्षमा उभिनेहरुले थुक्न सक्नु पर्छ ।
जबर्जस्ती चेकमा हस्ताक्षर गराएर चेक लिने मिटरेब्याजी साहुको ठगीबाट पीडित एक युवा प्रहरीका डिएसपीलाई भेट्न जान्छन् । डिएसपी भन्छन्– तिमी नाबालक केटाकेटी हौ र ? होइनौ भने किन चेक दियौ ? तिम्रो कमजोरी छ, हामी तिम्रो समस्या हेर्न मिल्दैन भनेर पन्छिन पुग्छ । यो कुरा कसरी सही हुन सक्छ । जस्तोसुकै घटना गराउने अपराधीले के जबरजस्ती चेक लिन सक्दैनन् ? यदि त्यसो भएर त्यो कुराले कसैको जीवन, घरपरिवारमा गम्भीर समस्याहरु आएका छन् भने त्यो अपराध हो कि होइन ? यदि अपराध हो भने प्रहरीले उजुरी लिएर अनुसन्धान गर्नुपर्छ कि पर्दैन ? प्रहरी यति सजिलै पन्छिन् पुग्छ होला त ? के प्रहरी यिनै केही थान साहु महाजनहरुको प्यादा भएको हो ? होइन भने प्रहरीले यस्ता गम्भीर अपराध माथि अनुसन्धान गर्नुपर्छ ।
यतिबेला हरेक जनता समस्याबाट ग्रस्त छ । प्रहरी, पालिका, दल, नेता, सिडीओ, अदालत सबैतिरका ढोका ढक्ढक्याएको जनताले कतैबाट न्याय प्राप्त गर्दैन । सबैतिरबाट निराश भएर जीवनको पारीभाषा खोजिरहेको जनताले आत्महत्या होइन जीवन नै रोज्ने रहेछ । त्यसैले जीवन अर्थात् विद्रोह, संघर्ष रोजेर आज हाम्रो पार्टीको नेतृत्वमा सञ्चालित जनसंघर्षहरुमा जनताको सहभागिता बढेको छ । जनताले गाउँबाट लघुवित्तहरुलाई लखेटेका छन् । बैंकहरुको चर्को ब्याजदरबिरुद्ध जनताले आन्दोलन गरिरहेका छन् ।
मिटरब्याजीहरुलाई जनताले कारवाही गर्न थालेका छन् । हामी यो राज्यलाई भन्न चाहन्छौं– जनतामाथि जताततै भइरहेका यस्ता अत्याचार रोक्न, अपराधीलाई दण्डित गर्न र जनतालाई न्याय दिन सक्छौ कि सक्दैनौ ? यदि जनतालाई न्याय दिऔं भन्ने हो भने सहकार्य गरौं । जनताले आत्महत्या होइन, जीवन रोजिसकेका छन्– जीवन विद्रोह हो, विद्रोह शक्तिशाली हुन्छ । यदि जनतालाई न्याय नदिने हो भने विद्रोही जनताको तातो आगोमा हरेक आवरणका मिटजरब्याजी जलेर खरानी हुनुपर्नेछ ।
यी सबै समस्याको मुख्य कारकतत्व पुँजीवादी सत्ता हो । यो सत्तामा पैदा भएको गम्भीर संकटपछि जनताले उठाउने वास्तविक मुद्दा र गर्ने विद्रोहको बलियो सम्भावाना देखापरेको छ । त्यसैले आफ्नो सत्ता गुम्ने त्रासमा पश्चिमाहरु काँपिरहेका छन् । उनीहरु यो संकटलाई आफ्नो अनुकूलतामा बदलेर सत्ताको चाबी आफ्नै हातमा राख्न चाहन्छन् । यसको निम्ति जनतालाई केही नयाँ दिए जस्तै गरेर कार्यकारी राष्ट्रपति, राजा वा यस्तै केही एजेण्डा अगाडि सारेर प्रायोजित विद्रोह हुँदै जनतालाई हामीले नयाँ दियौं भन्दै आफ्ना सैन्य स्वार्थहरु नेपालमा अब लागू गर्न गइँदैछ । यदि हामीले यी षड्यन्त्रसँग जोडिएका सम्पूर्ण गतिबिधिलाई चिनेर पुँजीवादी सत्तालाई खारेज गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानलाई अगाडि बढाउन सकेनौं भने हामीले र हाम्रो आगामी पुस्ताले भयावह अवस्थाको सामना गर्नुपर्नेछ ।
वित्तीय क्षेत्र समाजलाई जिवन्त प्रभावित पार्ने स्रोत हो । यो क्षेत्रलाई बेलगाम छाड्नु, वित्तीय अपराध उच्च हुनु, अर्बाैं नेपाली नोट बजारबाट एकाएक गायव पारिनु, वित्तीय क्षेत्रमा अभाव सिर्जना गर्ने कार्यलाई राज्यले अंकमाल गरिरहनुले यो सत्तालाई साहु महाजन र मिटरब्याजीको सहायक भन्न सकिन्छ । नेपाली जनताले यस्ता गतिविधिलाई खरानी नपार्ने हो भने न आफू सुरक्षित हुन सक्छन् न त यो देश नै । औलामा गन्न सकिने जनबिरोधीले सत्तालाई ध्वस्त गर्ने एकीकृत जनक्रान्ति र यसका कार्यक्रमहरुमा सहभागी हुनु नै यतिबेला जनताका वास्तविक काम हुन् । आउनुस् यो महान आन्दोलनमा हातेमालो गरौं ।