खेलाडी उत्पादनसँगै पर्यटकीय स्थलको प्रबद्र्धन गर्न कराते प्रतियोगिता

0
221

अर्जुनधारा ।

भीमले सितोरियो कराते डोजोको आयोजनामा यही वैशाख ८ र ९ गते प्रथम भीमले अन्तरपालिका महिला तथा पुरुष जिल्लास्तरिय कराते प्रतियोगिता हुने भएको छ ।

सुगम पालिकाको दुर्गम क्षेत्रकोरुपमा रहेको भीमलेमा कराते खेलाडीहरु उत्पादनसँगै त्यस क्षेत्रमा रहेको पर्यटकीय स्थल ‘हलुवागढ–कालीखोला पर्यापर्यटन क्षेत्र’लाई प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बिहीबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

पर्यापर्यटन क्षेत्रको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगितामा आयोजक डोजोसहित अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाँउपालिका र हल्दिबारी गाँउपालिकाका जम्मा आठ टिमको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद्का कराते प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए । उनका अनुसार एक सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा २५ जना रेफ्री परिचालन हुने छन् ।

प्रतियोगिता अन्र्तगत पुरुषतर्फ २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४२ केजी, ५२ केजी, ५७ केजी र ६२ केजी तथा महिलातर्फ २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी तौल समूहमा खेलहरु हुने आयोजक डोजोकी प्रशिक्षक मथुरादेवी तामाङले जानकारी दिइन् ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित लागत तीन लाख ८५ हजार रुपैयाँ लाग्ने प्रतियोगिता आयोजक समितिका संयोजक महेन्द्र बरालले जानकारी दिए । उनले लागत खर्च जुटाउन अर्जुनधारा नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, अन्य संघ–संस्था र दाताहरुसँग समन्वय गर्ने बताए ।

संयोजक बरालको अध्यक्षता र एसीयन कराते रेफ्री एवम् नगर कार्यपालिका सदस्य कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश आर्थिक समितिका सदस्य एवम् नगर सभा सदस्य मदन लिमेल मगरले गरेका थिए । प्रतियोगिताको प्राविधिक विषयमा राखेप प्रशिक्षक निरौलाले जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन आर्थिक समितिका संयोजक तीवेन्द्र काफ्लेले गरेका थिए ।

प्रतियोगितामार्फत् हलुवागढ–कालीखोला पर्यापर्यटन क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने हुँदा प्रतियोगिता सञ्चालन हुने दिन खेलाडीहरुलाई प्रवेश निःशुल्क गरिएको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउनारायण राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here