चीन,

चीनले बारम्बार चेतावनी दिँदा पनि ताइवानकी राष्ट्रपति साई इङ वेन अमेरिका पुगेकी छिन् । न्युयोर्क राज्य पुगेकी साईलाई चीनले बुधबार मात्र अमेरिकाको भ्रमण नगर्न र त्यहाँका प्रतिनिधिसभा अध्यक्ष केभिन म्याकर्थीलाई नभेट्न धम्की दिएको थियो ।
यदि ताइवानी राष्ट्रपतिले म्याकर्थीलाई भेटेको खण्डमा चीनले गम्भीर कदम चाल्न सक्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको थियो । न्युयोर्कमा साईले म्याकर्थीलाई भेट्ने सम्भावना भएको बताइएको छ । यद्यपि यसबारे कुनै जानकारी दिइएको छैन ।
न्युयोर्कमा साईलाई धेरै समर्थकले स्वागत गर्दा केही चिनियाँ नागरिकहरूले विरोध पनि जनाएका छन् । साईलाई गद्दार भनिएका ब्यानरहरू देखाइएको थियो ।
राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा बुधबार अमेरिकातर्फ प्रस्थान गरेकी थिइन् । न्युयोर्कमा उनको ट्रान्जिट पर्ने बताइएको छ । तर, चीनले न्युयोर्कमा ट्रान्जिट नभएर ताइवानले अमेरिकी प्रतिनिधिहरूसँग भेट्ने बहाना बनाएको विश्लेषण गरिरहेको छ ।
अमेरिकाले साईको न्युयोर्क भ्रमणमा चीनले कडा टिप्पणी गर्नुलाई चाहिनेभन्दा बढी प्रतिक्रिया भनेको छ । चीनले ताइवानलाई आफ्नो टापु भएको बताउने गर्छ । यद्यपि ताइवानले आफू एक सार्वभौम राष्ट्र भएको बताउँछ । ताइवानसँग व्यापारिकसँगै राजनीतिक सम्बन्ध राख्दा तेस्रो राष्ट्रले आफूूसँग अनुमति लिनुपर्ने चीनको भनाइ छ । तर, ताइवानले चीनको ‘एक देश दुई प्रणाली’ आफ्नो देशमा लागू नहुने निरन्तर रूपमा बताइरहेको छ ।
केही वर्षयता ताइवान र चीनबीच युद्धको अवस्था नै निम्तिएको छ । खासगरी अमेरिकाले ताइवानलाई शक्तिशाली हतियारहरू बेचिरहँदा चीन ताइवानप्रति झनै क्रुद्ध बन्दै गइरहेको अवस्था छ । गत वर्षको अगस्ट २ मा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि त झन् चीनले ताइवानमा कुनै पनि बेला आक्रमण गर्न सक्ने आकलन गरिएको छ ।
चीन यतिबेला विश्वमै सबैभन्दा शक्तिशाली नौसेना भएको राष्ट्र हो । चीनसँग शक्तिशाली युद्धपोत, पनडुब्बीहरू र स्टिल्थ फाइटर जेट छन् । अमेरिकाभन्दा पनि चीन नौसेनाको क्षमतामा अगाडि रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यतिबेला चिनियाँ फाइटर जेटहरू दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन् । सन् २०१९ मै चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान अलग्याउन चाहने शक्तिहरू सक्रिय भएकाले आफ्नो सेनालाई हरेक समय युद्धका लागि तयार हुन निर्देशन दिइसकेका थिए । चीनले जहिले भए पनि एक दिन ताइवान मुख्य क्षेत्रमै विलय हुने बताउँदै आएको छ । बीबीसीको सहयोगमा































