‘निष्ठाको शतक’ सार्वजनिक

0
184

बिर्तामोड ।

प्रजातन्त्र सेनानी टुङ्गबहादुर बस्नेतको आत्मकथा सहितको स्मृति ग्रन्थ ‘निष्ठाको शतक’ (शब्दचित्रमा टङ्गबहादुर बस्नेत) विमोचन गरिएको छ ।

बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा कांग्रेस नेता केशवकुमार बुढाथोकीले उक्त पुस्तकको विमोचन गरे । बढाथोकीले टुङ्गबहादुर बस्नेतको सामाजिक राजनीतिक व्यक्तित्व माथि चर्चा गर्दै बस्नेतले देशका अग्रज नेतासँग जीवनभर सम्पर्कमा रहेर पनि कहिल्यै पदको आशा नगरेको बताए ।

बुढाथोकीले भने– ‘उहाँ देशमै केही गर्नुपर्छ भनेर सबैलाई उक्साउनुहुन्थ्यो । उहाँले आफ्ना छोरानातीलाई विदेश जान नदिइ आफ्नै माटोमा केही गर्न प्रेरणा दिनु भयो । त्यसकारण उहाँको परिवार झापाकै सफल परिवार भएको छ ।’ झापा पहाडबाट बसाइँ सरेर आउनेहरुको मात्र नभएर यहाँका आदिबासीहरुको पनि योगदानको खोजी गर्ने बेला आएकोमा उनको जोड थियो ।

पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै समालोचक विष्णुकुमार भट्टराईले यो कृति बस्नेतका बारेमा मात्र नभएर तत्कालिन समाजको ऐनाको रुपमा रहेको बताए । समीक्षक तारा विविधले पुस्तकमा सबै क्षेत्रका लेखकहरु समावेश भएकाले पुस्तकको ओज बढेको बताए । प्रकाशकलाई धन्यवाद दिँदै उनले भने– ‘यस्ता आत्मकथा र स्मृति ग्रन्थले समाजलाई बाटो देखाउँछन् ।’ अग्रज पत्रकार चन्द्र भण्डारीले बस्नेतको जस्तै आत्मकथा र स्मृतिग्रन्थ सबैको लेखिनु पर्ने बताए । लेखेर छापिए पछि मात्र मानिस जीवन्त बन्नेमा उनको जोड थियो ।

पुस्तकका सम्पादक समीरबाबु कट्टेलले ‘मौकामा केही छपाइहालौं’ भनेर लेखिएका लेखहरुले स्मृति लेखन परम्पराको धज्जी उडाएको बताए । स्मृति लेखनको न्यूनत शर्त सम्बन्धित व्यक्तिसँगको उठबस, हिमचिम, चिनजान, संगत पनि हो । सामान्य सम्पर्क पनि नभएको व्यक्तिको लेखले स्मृति ग्रन्थको न्याय गर्न सक्दैन’– उनले भने ।

कार्यक्रमका सभापति माननीय गोपाल कुमार बस्नेतले पुस्तक लेखन, सम्पादनदेखि विमोचनसम्म आइपुग्दा योगदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भने– ‘यो यहाँहरु सबैको सहयोग र शुभेच्छा र जोडबलकै कारण सम्भव भएको छ ।’

कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत, बरिष्ठ अधिवक्ता लीला उदासी, युद्धप्रसाद वैद्य लगायतले बस्नेतको जीवनका विविध पक्षबारे धारणा राखेका थिए ।

प्रजातन्त्रवादी नेताहरु तोयनाथ भट्टराई, पूर्णानन्द शर्मा प्राज्ञ कोमल निरौला, इलाम नगरपालिकाका मेयर केदार थापा, कवि प्रकाश थाम्सुहाङ लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन डम्बरबहादुर बस्नेतले गरेका थिए भने विनोद बस्नेतले स्वागत गरेका थिए ।

कार्यक्रममा टुङ्गबहादुर बस्नेत र उनकी धर्मपत्नी पूर्णकुमारी बस्नेतको अर्धकदको प्रतिमा समेत अनावरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here