मास्कोले भारतलाई तेलको विक्री बढाउने सम्झौताको घोषणा

0
116

एजेन्सी,

युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकहरु संगको तनावलाई मध्यनजर राख्दै मास्कोले इनधनको नयाँ खरिदकर्ताको खोजी गरिरहेको समयमा रुसी उर्जा कम्पनी रोसनेफ्टले  भारतलाई तेलको विक्री बढाउने सम्झौताको घोषणा गरेको छ ।

क्रेमलिनले गत फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना तैनाथ गर्ने निर्णय गरेपछि कीभका सहयोगीहरूले रूसी तेल क्षेत्रमा प्रतिबन्ध लगाएपछि युरोपेली बजारमा रूसको हिस्सा धराशायी भएको थियो । रोसनेफ्टले एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत इगोर सेचिनले भारत भ्रमण गरी ‘इन्डियन आयल कर्पोरेसनका प्रमुखसँग सम्झौता गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, रोसनेफ्ट आयल कम्पनी र इन्डियन आयल कम्पनीबीच तेलको आपूर्तिमा उल्लेखनीय वृद्धि गर्न र भारतमा ग्रेड विविधीकरण गर्नका लागि एक आवधिक सम्झौतामा हस्ताक्षर भएको छ । रोसनेफ्टले सम्झौतामा उल्लेखित मात्रा र यसको मूल्य निर्दिष्ट गरेको छैन । रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत वर्ष मस्कोले भारतलाई तेल बिक्री २० गुणाभन्दा बढीले वृद्धि गरेको बताएको थियो ।

रोसनेफ्टका अनुसार दुई तेल कम्पनीका प्रतिनिधिहरूले ‘राष्ट्रिय मुद्रामा भुक्तानी गर्ने सम्भावना बारे पनि छलफल गरेका थिए । यसले रूसको अर्थव्यवस्थालाई डि–डलराइज गर्ने प्रयासलाई इङ्गित गर्दछ ।

ओपेक तेल आपूर्तिको प्रमुख उत्पादक तथा प्रमुख सहयोगी रूसले पश्चिमी प्रतिबन्धको जवाफमा यस महिना कच्चा तेलको उत्पादनमा प्रति दिन पाँच हजार ब्यारेल कटौती गरेको छ ।
रूसविरुद्ध पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण रोसनेफ्टले यस महिनाको सुरुमा वार्षिक नाफामा भारी गिरावट आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here