
कुनै पनि देशको सञ्चालन कैयौं नीतिको सफल कार्यान्वयनमा हुन्छ । आर्थिक, सामाजिक, राजनीतिक आदि सबै पक्षबाट स्वीकार गरिएको यो तथ्य हो– राजनीति राज्य सञ्चालनको प्रमुख नीति हो र सबै नीतिहरुलाई निर्देशित गर्ने सर्वश्रेष्ठ नीति हो । अन्य नीतिले कार्यान्वयनलाई बढी जोड दिन्छन् भने राजनीति चाहिँ सबै नीतिलाई सैद्धान्तिक, दार्शनिक आधार प्रदान गर्ने नीतिमा पर्दछ ।
देश विकासको नीति र नियम, खाका र ढाँचा, योजना र परियोजना राजनीतिक नेतृत्वले दिने हो । राजनीतिलाई सही दिशाबोध दिने राजनीतिक दलहरूले हो । राजनीतिक दलहरूलाई दिशानिर्देश गर्ने मुलुकको संविधानले हो । संविधान मुलुकको तत्कालीन समयको शक्ति सन्तुलनको दस्तावेजीय रूप हो । संविधानले समाजको शक्ति सन्तुलन मात्र नभएर मुलुकको विकासको चरण, जनताको चेतना स्तर, समाजको वर्गीय धरातल र मुलुकले लिने भविष्यको तस्वीरको पनि प्रतिबिम्ब दिन्छ । संसारको इतिहासमा संविधान मुख्यतः तीन किसिमले निर्माण गरी जारी भएका छन् । शासकहरूले आफ्नो अधिनायकत्व प्रयोग गरी संविधान आफैं बनाई आफैं जारी गर्छन् । पक्ष–विपक्षका संविधानविद्हरूको प्रयत्न स्वरूप तयार गरिएका छन् वा जनताबाट संविधान निर्माणकै लागि चुनिएका जनप्रतिनिधिद्वारा अर्थात् संविधानसभाद्वारा जनताको रायसल्लाह लिँदै निर्माण गरिएका छन् ।
नेपालमा जारी भएको नेपालको संविधान २०७२ जनताबाट चुनिएका जनप्रतिनिधिबाट अर्थात् संविधानसभाबाट निर्मित हो । देशमा क्रियाशील सबै नियम, ऐन कानूनको मूल कानून संविधान हो । संविधान लोकतान्त्रिक, लचकदार र संविधानवादका मूलभूत विशेषताहरूलाई आत्मसात गरी बनाइएको छ भने त्यस्तो संविधानले मुलुकलाई अग्रगति दिन्छ । मुलुकलाई सही दिशामा डो¥याउन जनमुखी संविधानले मात्रै सक्दछ । नेपालको संविधान २०७२ ले अहिलेको राज्यव्यवस्थालाई समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र भनी परिभाषित गरेको छ । यसबाट संविधान पक्षधर सबै दलहरू समाजवाद पक्षधर रहेको प्रष्ट हुन्छ र सबै दलहरू समाजवाद निर्माणका लागि रणनीति, कार्यनीति र तात्कालिक विशिष्ट नीतिहरू बनाउन लाग्छन् भन्ने बुझिन्छ । अहिले हाम्रो देशमा समाजवादको पूर्वाधार निर्माणको काम भइरहेको संविधानले बोल्छ । लोकतन्त्र देशको शासन व्यवस्थामा जनता आफै वा आफ्नो प्रतिनिधि मार्फत् सहभागी हुने र निर्णय गर्न पाउने अधिकारसहितको शासन व्यवस्था हो ।

लोकतन्त्रमा जनताले लेख्ने, बोल्ने, छाप्ने, सभा सङ्गठन गर्न पाउने, पार्टी खोल्ने र त्यसमा सहभागी हुन पाउने, प्रतिनिधि चयन गर्न र सरकार बनाउन पाउने जस्ता नागरिक तथा राजनीतिक अधिकारहरू हुन्छन् । जनतालाई यति धेरै अधिकार प्राप्त हुने भएकोले सबैले लोकतन्त्रलाई राम्रो शासन प्रणाली मान्दछन् । त्यसैले नेपालमा पनि नेपाली जनताले आफ्नो लोकतान्त्रिक अधिकारलाई सुनिश्चित गर्न आन्दोलन मार्पmत आफ्नो अभिमत प्रकट गर्दै लोकतन्त्रका संस्थागत विकास र सम्बद्र्धनमा प्रत्यक्ष भूमिका खेल्दै आएका छन् ।
नेपालको संविधान २०७२ पूर्ण छैन, तर अपूर्णता र अपुग कुरालाई समयसन्दर्भ अनुसार रूपान्तरण गर्दै लैजानु पर्नेमा संविधानका बिरुद्धमा जनमत निर्माण गर्ने र हरेक पटक ध्वंशको बाटोमा लाग्ने हो भने मुलुकको समग्र विकास कसरी हुन्छ ? वास्तवमा दलको नेतृत्व युगको आवाजलाई सुन्न सक्ने जनसेवक नेतृत्व हुनुपर्छ । के नेपालमा हामीले आशा गरे जस्तो राजनीतिक नेतृत्व छ ? देशविकासको प्रेरणा पनि जनताले नेतृत्वबाटै ग्रहण गर्ने हो । नेतृत्वमा रहनेहरूले आफूलाई समाजका विभिन्न क्षेत्रबाट आशाको नजरले हेरिरहेका छन् भन्ने बुझेमा मात्र साँचो अर्थमा पार्टी र मुलुकको नेतृत्व सम्भव हुन्छ । व्यक्तिगत स्वार्थ, गुटगत षडयन्त्र र हीनताबोधबाट माथि उठेर चिन्तन गर्ने हो भने मात्र राजनीतिको सच्चा सारथी हुन सकिन्छ र चुनावमुखी नेता होइन, मुलुकको राजनेता हुन सकिन्छ ।
समुदाय वा आफ्नो जनशक्तिको मनमस्तिष्कमा सकारात्मक हस्तक्षेप गरी उनीहरूलाई आफ्नो योजना अनुरूप निर्दिष्ट दिशातिर डो¥याउन सक्ने आफ्नो क्षेत्रको नेता हुन्छ । सबैबाट आएका असल विचारलाई संश्लेषण गरी सबैको साझा विचार निर्माण गर्नसक्ने र सोही विचार अनुरूप सबैलाई निर्दिष्ट लक्ष्यतर्फ डो¥याउनु नै नेतृत्वको गुण हो । नेतृत्व भनेको जनतालाई असल बाटोमा डो¥याउने कला हो । कुनै संस्था वा संगठनको लक्ष्य प्राप्ति गर्ने सिलसिलामा आफ्ना अनुयायीलाई प्रभावित गर्ने कला, सीप, क्षमता र दक्षता नै नेतृत्व हो । अनुभव, तालिम, स्वाध्ययन, शिक्षा आदिको कमी भएमा नेतृत्व असफल हुन्छ । अनुयायीलाई उत्प्रेरित गर्दै उनीहरूलाई पथप्रदर्शन गर्ने, मानव संशाधनको उचित व्यवस्थापन गर्ने योग्यता र क्षमता नेतृत्वमा हुन्छ । यो कुरालाई राजनीतिक नेतृत्वले मनन गरी जनताको वीचमा गई जनसेवा गर्नु जनताका सुखदुःखमा साथै रहेर काम गर्नुको विकल्प छैन ।
हामीले के दिन सक्यौं भनेर दलका नेतृत्वले आफैंले आफैंसँग प्रश्न गर्नुपर्छ, आफूलाई जनता र देशले के दियो भनेर सोच्ने मानिस मुलुकको असल देशभक्त नेता बन्न सक्दैन । नेपाली जनताको सुख–दुःखमा साथ दिनुको सट्टा सत्ताको फोहोरी खेलदेखि टाढा बस्न र अन्याय–अत्याचारको बिरुद्धमा सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न सकेमा नेतृत्वको गरिमा स्थापित हुन्छ । महाधिवेशनका दस्तावेज र संविधानसभाका घोषणापत्र र प्रतिबद्धतापत्रमा परिवर्तनका सुन्दर वर्णन गरेर मात्र के नेपाल परिवर्तन हुने हो ? नयाँ नेपाल बनाउन नयाँ सोच चाहिन्छ । राजनीतिक नेतृत्वका नीति र व्यवहारका कारण जनता उपेक्षाका शिकार भएका हुन् । जनता राज्यको जातीय, क्षेत्रीय, भाषिक लगायतका उत्पीडनमा परेको यथार्थलाई राज्यको बल प्रयोग गरेर पनि दबाउन सकिँदैन ।
संविधान अनुसार राष्ट्रिय सार्वभौमिकता, अखण्डता र जनताको सार्वभौमसत्ता बाहेक सबै विषय आवश्यकता अनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने अवस्था छ । सच्चा समाजवादको प्रतिनिधित्व गर्ने क्रान्तिकारी शक्ति लोकतन्त्र पक्षधर हुन जरुरी छ । शान्तिपूर्ण प्रतिस्पर्धा एवम् शान्तिपूर्ण जनआन्दोलनको बाटोबाट अघि बढ्ने दृढ चाहना, प्रतिबद्धता र नीतिले बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचनमा भाग लिएर जनअभिमतका माध्यमबाट आफ्नो श्रेष्ठता देखाउन अभिप्रेरित गर्दछ । सबैले बुझ्नुपर्ने कुरा के हो भने खुलापनले झ्यालबाट किरा पनि आउँछन्, मौरी पनि आउँछन् ।
समाजवादलाई एकदलीय राज्य प्रणाली र निजी सम्पत्तिको औपचारिक उन्मूलन, राष्ट्रियकरण तथा राज्यनियन्त्रित समाजवादी आर्थिक प्रणालीका रूपमा सीमित गरी गलत ढंगले लिनु हुँदैन । अबको समाजवाद उन्नत समाजवाद हुनेछ । अबको समाजवादमा लोकतन्त्र वा जनवादको अभ्यास कुण्ठित हुनुहुँदैन । आम जनसमुदायको बीच लोकतान्त्रिक अधिकारको उपभोग, मुख्यतः संगठन, अभिव्यक्ति, आलोचना वा विरोध सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिनुपर्छ । साथै, राज्यसत्ता सञ्चालनमा आम जनसमुदायको संस्थागत सहभागिता एवम् निर्णायक भूमिकालाई सुनिश्चित गरिनुपर्छ । त्यसका निम्ति विचार र कार्यक्रमका आधारमा राजनीतिक पार्टीहरूको गठन, सञ्चालन र बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई अवलम्बन गरिनुपर्छ । राजनीतिक क्षेत्रमा पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाका अतिरिक्त समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउन थप प्रभावकारी विधि, संयन्त्र एवम् उपायको विकासमा ध्यान दिइनुपर्छ ।
पददलित, भोकानाङ्गा, शोषितपीडित, राज्यको मूलधारबाट अलग्गिएका, विकासको प्रवाहबाट वञ्चितीमा परेका उत्पीडितहरूका आवाजलाई सुनेर तिनीहरूको साथ नछोडी अघि बढ्न आवश्यक छ । जनतालाई केन्द्रविन्दुमा राखेर सबै पार्टीका नेतृत्वले आत्मसमीक्षा गर्ने हो र पार्टी शुद्धीकरण र सुदृढीकरण गर्ने हो भने मुलुकमा जनताको पक्षमा काम हुुन सक्छ । उपेक्षित तह र तप्कासँग सम्बन्ध स्थापित गरी भोगबिलास र अहम्को मातबाट आफूलाई मुक्त गर्नुपर्छ । आवाजविहीनहरूको आवाज र गरिब निमुखाको आँट र हिम्मत बन्न सक्ने मात्र असल नेतृत्व हुन्छ । सामाजिक विकृति विसंगतिको बिरुद्धमा परिवर्तनको झण्डा लिएर अघि बढ्न त्यति सजिलो छैन, तर नेतृत्वका लागि विरोधी छालबिरुद्ध उभिन जरुरी छ ।
नेतृत्वको मूल्याङ्कन चुनौतिपूर्ण घडीमा मात्र होइन, अति नै सहज र सुखका दिनमा पनि गर्नुपर्छ । जीवनमा एक–दुई वटा असल काम गर्न सकिन्छ, तर जीवन भर असल काम गर्न गा¥हो हुन्छ । केही समय सत्ताको नजिक हुने बित्तिकै जनताको निम्ति बिरानो हुने, जनतासँग आफूलाई नजोड्ने र मात्र चुनावका बेला जनताको घरदैलोमा पुगी गुलिया तर असम्भव सपना बाँड्ने कुराबाट राजनीतिक दल र तिनका नेतृत्व मुक्त हुन जरुरी छ । नेतृत्वले योजना निर्माण गर्दा सदैव जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, वर्गीय उत्पीडिनमा परेका हेपिएका, दलिएका र विभेदको शिकार भई उपेक्षामा बाँचिरहेका जनतालाई सम्झनुपर्छ ।


























