कन्काई माविमा प्राथमिक तह सुधारिने

0
179

संगीता उप्रेती,
सुरुङ्गा ।

कन्काई मावि सुरुङ्गाले प्राथमिक तहमा थप सुधार्ने गरी शैक्षिक गुणस्तर सुधारसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बुधबार भएको नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका अभिभावकको भेलाले प्राथमिक तहमा पूर्ण अङ्ग्रेजी माध्यममा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रधानता दिने र थप सुविधा विस्तारका लागि आवश्यक सहयोग जुटाउने विद्यालयको प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाई संयोजक र क्रान्ति सुवेदी, दीपक पाण्डे, खेमराज भट्टराई, वन्दना गुरागाईं, सुष्मा पाठक र विनिता प्रसाईं सदस्य रहेको पूर्व प्राथमिक तथा प्राथमिक तह स्तरोन्नति समितिद्वारा तयार पारिएको र विद्यालय व्यवस्थापन समितिद्वारा पारित प्रतिवेदनलाई अभिभावक भेलाले अनुमोदन गरेको हो ।

पूर्व प्राथमिक तथा प्राथमिक तहमा पनि अङ्ग्रेजी माध्यमबाट योग्य शिक्षकहरूद्वारा शिक्षण भए तापनि अपेक्षित रूपमा अभिभावकको मन जित्न नसकिएका कारण विद्यालयले थप सुधारको लागि कदम चाल्नु परेको कार्यक्रमको अध्यक्ष समेत रहेका पीटीए अध्यक्ष रमेश शेर्पाले बताए ।

आफ्ना बालबच्चा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा लिन सक्षम रहने छन् भनी विश्वास दिलाउन र आउने शैक्षिक सत्रदेखि विद्यालयमा पूर्वप्राथमिक तथा प्राथमिक तहमा विद्यार्थी टिकाउ दर बढाउनका निमित्त नवगठित विद्यालय व्यवस्थापन समितिको विशेष पहलमा शैक्षिक गुणस्तर अभिवृद्धिका निमित्त सुधारको कार्ययोजना अघि सारिएको आधारभूत तह (नर्सरी–कक्षा ५) का संयोजक खेमराज भट्टराई जानकारी दिए ।

कनकाई नगरपालिका–३ स्थित नमुना विद्यालयको रूपमा छनोटमा परेको कन्काई माध्यमिक विद्यालयमा हाल २ हजार ४ सय ९७ विद्यार्थी अध्ययनरत छन् भने ८६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटीले जानकारी दिए ।

प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयलाई नेपालकै उत्कृष्ट विद्यालयको रूपमा विकास गर्न आवश्यक आधारहरू तयार रहेको बताए । यसका लागि अभिभावक र विद्यालयको सम्बन्ध थप सुदृढ गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।

सोे कार्यक्रममा वार्षिक परीक्षा–२०७९ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा सुनिलाल टुडू, गणेशनारायण चौधरी, पार्वती चौधरी, शारदा मिश्र र पवित्राकुमारी कार्कीलाई वर्ष उत्कृष्ट अभिभावकको रूपमा सम्मान गरिएको थियो । सो अवसरमा हरेक कक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थी लगायत तृष्णा चौधरी, विपासा तामाङ, नियन राई, आर्यन थपलिया, सुजिता प्रधान र खुशी कार्कीलाई विद्यालयमा सबैभन्दा बढी दिन हाजिर हुने विद्यार्थीको रूपमा पुरस्कृत गरिएको थियो ।

समाजसेवी व्यक्तित्वहरू भक्तिप्रसाद पाठक, सीताराम न्यौपाने, कन्काई साहित्यिक समाजका उपाध्यक्ष सन्ध्या एक्तेन लगायतको आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरू कृष्ण भट्टराई र कुसुम ठटालले गीत प्रस्तुत गरेका थिए ।

नतिजा प्रकाशनपश्चात सहायक प्रअ हरिप्रसाद तिम्सिनाको संयोजकत्वमा छात्रवृत्ति छनोट समितिले विद्यार्थीहरूलाई छात्रवृत्ति रकम वितरण गरेको थियो । शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तीर्थराज खरेल र विद्यालयका अङ्ग्रेजी शिक्षक लोकन्द्रराज दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here