कैलाली र कञ्चनपुरका पशुमा रेबिजको सङ्क्रमण

0
116

दोधारा चाँदनी,

पछिल्लो एक महिनायता कैलाली र कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण दर बढेको छ ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका अनुसार कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण बढेको छ । रेबिज सङ्क्रमणका कारण कञ्चनपुरमा भैँसी, गाई र बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले बताउनुभयो ।

उहाँले कैलालीका केही स्थानमा देखिए पनि कञ्चनपुरमा तीव्ररुपमा सङ्क्रमण फैलिन थालेको बताउनुभयो । “कञ्चनपुरको बेदकोट र भीमदत्तका विभिन्न स्थानबाट पशु मर्न थालेपछि हामीलाई खबर आयो हामीले गएर अनुसन्धान गर्दा रेबिजको सङ्क्रमण पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “मङ्गलबार मात्रै भीमदत्त नगरपालिका–१५ मा रेबिजको सङ्क्रमणबाट गाईको मृत्यु भएको छ ।”

रेबिजकै कारण भीमदत्त नगरपालिका–१३ मा बाख्राको मृत्यु भएको छ भने बेदकोट नगरपालिकाको चम्मापुरमा भँैसीको मृत्यु भएको छ । त्यसैगरी भीमदत्त नगरपालिकाको तिलकपुरमा पनि रेबिजकै कारण गाईको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जनाएको छ ।

“कैलालीको गौरीगङ्गा र धनगढीमा सङ्क्रमण देखिएको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भन्नुभयो, “कञ्चनपुरमा रेबिजको सङ्क्रमण बढी फैलिएको छ हामीले सबैलाई सचेत हुन आग्रह गरेका छौँ”, उहाँले सङ्क्रमण तीव्र देखिन थालेपछि प्रयोगशालाबाट निःशुल्क रुपमा खोप उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।

“स्याल र कुकुरको टोकाइबाट रेबिज सङ्क्रमण हुन्छ भने सङ्क्रमणपछि यसको कुनै उपचार छैन”, उहाँले भन्नुभयो, “सबैले कुकुरमा रेबिजविरुद्धको खोप लगाउन आवश्यक छ ।” भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले कञ्चनपुरमा रेबिजको सङ्क्रमण फैलिएको भन्दै सबै सचेत हुनुपर्ने बताउनुभयो । “रेबिजका कारण दुई÷तीन वटा गाई र कुकुर मरिसकेका छन्”, उहाँले भन्नुभयो, “एक महिनायता सङ्क्रमणदर बढ्दो छ ।”

भीमदत्त नगरपालिकाका-१४ अध्यक्ष भोजराज जोशीले रेबिजका कारण तीन वटा गाई मरेको बताउनुभयो । “रेबिजकै कारण तीन वटा गाईको मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “रातिको समयमा स्यालले या कुकुर कस्ले टोक्यो भन्ने थाहा भएन ।” कञ्चनपुरमा रेबिजका कारण गाईवस्तु मर्ने क्रम बढ्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here