जोखिम व्यवस्थापनमा एकीकृत प्रतिकार्य आवश्यक

0
98

चैत, बैशाखमा हुने विपद् र प्राकृतिक प्रकोपका बीचमा हामी छौं यतिबेला । वर्षा ऋतु पनि शुरु हुन थालेको छ । हरेक वर्ष प्राकृतिक प्रकोपले प्राकृतिक सम्पदा तथा भौतिक संरचना र धनजनको क्षति हुने गरेको छ । विपद्बाट धनजनको संरक्षण, सम्बद्र्धन एवम् प्रबद्र्धन गर्न नेपाल सरकारको प्रतिबद्धता छ । तर, विगतका विकास प्रक्रियामा जोखिम न्यूनीकरणको अवधारणालाई मूल प्रवाहीकरण गर्न नसक्दा धनजनको ठूलो नोक्सानी मात्र नभई पूर्वाधार संरचनाहरूमा पनि क्षति पुग्न गएको देखिन्छ । साथै देशमा हुने बाढी, पहिरो, आगलागी जस्ता प्रकोपका घटनाबाट हजारांै मानिसहरूले बर्षेनि विनासको दुःखद् नियति भोग्नु परेको छ । जथाभावी निर्माण हुने घर तथा संरचनाहरूबाट पनि प्रकोपका घटनाहरूमा वृद्धि हुन पुगेकाले विपद् जोखिम व्यवस्थापनमा सरकारको भूमिका मात्र पर्याप्त नभई हरेक व्यक्ति एवम् समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

रणनीतिलाई मूल प्राथमिकता र सहायक क्रियाकलापहरू समेत स्पष्टरूपमा परिभाषित गर्न आवश्यक छ । यसका लागि हरेक क्षेत्रगत निकायको जिम्मेवारी छ भने मुख्यतः स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । विपद् बाजा बजाएर आउँदैन र विपद्ले राजा वा राष्ट्रपतिदेखि रङ्क वा जनतासम्म सबैलाई प्रभावित गर्दछ । विपद् कुनै एक देशको सीमानाभित्र मात्र सीमित नरही भौगोलिक तथा प्राकृतिक रूपमा यसको द्विपक्षीय, बहुपक्षीय तथा अन्तर्राष्ट्रिय प्रभाव रहन्छ । यो तथ्यलाई सबैले मनन गर्न जरुरी छ । यस जिम्मेवारीलाई कार्यरूपमा परिणत गर्न एउटा ठोस, सारभूत एवम् एकीकृत प्रतिकार्य रणनीति तर्जुमा गरी स्थानीय तहले प्रादेशिक र सङ्घीय सरकारको आर्थिक, प्राविधिक सहयोगमा विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाउन जरुरी छ ।

राष्ट्रका अमूल्य प्राकृतिक स्रोतको वैज्ञानिक र उचित उपयोग तथा त्यस्ता प्राकृतिक स्रोत तथा सम्पदाहरूको संरक्षणका लागि प्रकोपका जोखिमहरूलाई स्वीकार्य र सम्भाव्य तहमा घटाउन तथा प्राकृतिक वा गैरप्राकृतिक प्रकोपहरूबाट पर्ने प्रतिकूल प्रभावको अल्पीकरण, पूर्व तयारी तथा प्रभावकारी प्रतिकार्य गर्न जरुरी रहेको छ । वस्तुतः विपद् व्यवस्थापनमा साझेदारीको भावनालाई मूर्तरूप दिन विपद् जोखिम न्यूनीकरणका लागि आगामी दिनमा गर्नुपर्ने एकीकृत प्रयासका लागि रणनीति बनाउन आवश्यक छ । आगलागी, बिजुली सर्ट लगायतका प्रकोपदेखि हावाहुरी, असिना, अधिक वर्षा, बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका घटना न्यूनीकरण र घटनापछिको प्रतिकार्यका लागि जनप्रतिनिधि, राष्ट्रसेवक र आम जनताको एकताबद्ध प्रयत्न आवश्यक हुन्छ । स्थानीय सामाजिक संघ–संस्था, नागरिक समाज, नेपाल रेडक्रस, स्थानीय तह, अभियन्ताहरू, सञ्चारकर्मी, बुद्धिजीवी सबैको एकीकृत प्रयत्नबाट प्रकोपका घटनालाई कम गर्न र घटना घटी हालेमा नकारात्मक प्रभाव घटाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here