विव्यस महासङ्घको केन्द्रीय सदस्यमा प्रसाईं

२५ चैत्र २०७९, शनिबार मा प्रकाशित

सुरुङ्गा ।

कन्काई मा.वि. सुरुङ्गा, झापाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको केन्द्रीय सदस्य पदमा चयन भएका छन् ।

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनबाट प्रसाई सदस्यमा सर्वसम्मत रूपमा चयन भएका हुन् । ‘हामी सुधार्छौं, हाम्रो विद्यालय’ मूल नारासहित जाग्रत अभिभावक नै विद्यालय सुधारको मूल आधारलाई जोड दिँदै सम्मेलन सम्पन्न भएको थियो ।

उक्त सम्मेलनबाट निर्विरोध रूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । समितिमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल, प्रदेश उपाध्यक्षहरूमा देवराज सुवेदी (कोशी), बलराम पोखरेल (मधेस), सोमबहादुर सापकोटा (बागमती), दामोदर बाँस्तोला (गण्डकी), नलबहादुर रानामगर (लुम्बिनी), देवीप्रसाद न्यौपाने (कर्णाली), ध्रुवराज उपाध्याय (सुदूरपश्चिम) र महिला उपाध्यक्ष पवित्रा घिमिरे चयन भएका छन् ।

महासचिवद्वयमा देवी खड्का र दुर्गानन्द ठाकुर, सचिवहरूमा काशीनाथ दङ्गाल (खुला), वीरेन्द्रराज विष्ट (खुला), मञ्जु नेपाल (महिला), मीनबहादुर विक (दलित), तेजबहादुर गुरुङ (आदिवासी जनजाति), श्रीकृष्ण थापा (खस आर्य), श्यामसुन्दर महतो (मधेसी), घनश्याम चौधरी (थारू), मोहम्मद समिम (मुस्लिम) र रामबहादुर टमाटा (पिछडिएको क्षेत्र) छानिएका छन् ।

यस्तै कोषाध्यक्षमा सरस्वती रायमाझी र सहकोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी निर्वाचित भएका छन् । नयाँ अध्यक्षबाट कार्यसमितिमा १५ सदस्य मनोनयन हुनेछ भने संस्थापक अध्यक्ष कृष्ण थापा पदेन रहनेछन् । निर्वाचित पदाधिकारी र सदस्यहरूको नामावली निर्वाचन समितिका संयोजक अधिवक्ता प्राणनाथ न्यौपानेले घोषणा गरेका थिए ।

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले प्रमाणपत्र वितरण गरेका थिए । सम्मेलनले सामुदायिक विद्यालयको सुधारसम्बन्धी आठ बुँदे घोषणापत्र जारी गरेको छ । यही चैत २० र २१ गते काठमाण्डौँमा भएको सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

केन्द्रीय सदस्य पदमा निर्वाचित भए पछि कन्काई मावि सुरुङ्गाका विव्यस अध्यक्ष प्रसाईंले जुन जुन ठाउँका अभिभावक सजग, सतर्क र आफ्ना सन्तानको भविष्यप्रति साँचो अर्थमा क्रियाशील छन्, त्यो ठाउँको सार्वजनिक शिक्षा सुधारिएको पाइएकाले विद्यालय सुधारका लागि अभिभावकको विद्यालयप्रतिको चासो र दृष्टिकोण पहिलो कदम रहेको बताए ।

गुणस्तरीय सार्वजनिक शिक्षाका लागि छोराछोरी विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पुरा हुँदैन र सामुदायिक विद्यालयको समग्र सकारात्मक परिवर्तनका लागि समुदायको चासो, चाख, र चिन्ता हुन आवश्यक रहेकोमा उनको जोड थियो ।

अब केन्द्रीय समितिको निर्णय अनुसार हरेक स्थानीय तहमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका समितिहरू बनाउन पहल गरिने बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here