हाम्रो पाठशालाको चौथो वार्षिकोत्सव

0
167

सुरुङ्गा ।

कनकाई नगरपालिका– ३ स्थित हाम्रो पाठशालाको चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल (कोइराला) को अध्यक्षता र कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पिताम्बर गौतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका शतप्रतिशत अभिभावकको उपस्थिति रहेको र हरेक विद्यार्थीको कम्तीमा एउटा प्रस्तुति रहेको बताइएको छ ।

स्थानीय उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न कार्यक्रममा नानीबाबुहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक शान्ति राई र विद्यार्थीहरू अदीति उप्रेती, प्रोनिस ढकाल र आर्या सिटौलाले स्वागत मन्तव्य राखेका थिए । कक्षा १,२ र ३ का सबै विद्यार्थीले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको १४ जना आमा अभिभावकको नृत्यलाई दर्शकले औधी रूचाएका थिए ।

हाल हाम्रो पाठशालामा २१६ जना विद्यार्थी अध्ययनरत छन् भने २९ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । हाल सो विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ३ सम्म पठनपाठन भइरहेको छ भने शैक्षिक सत्र २०८० देखि कक्षा ४ सुचारु गरिने भएको छ ।

कनकाई नगर क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्यका साथ स्थापित हाम्रो पाठशाला छोटो अवधिमै धेरै अभिभावकको आकर्षण बन्दै गएको छ । काठमाण्डौं र झापाका विभिन्न शैक्षिक संस्थामा विविध भूमिकामा रही उच्च शैक्षिक अनुभव हासिल गरेका विद्यालयका संस्थापक प्रिन्सिपल अखिलकुमार कोइराला कनकाई नगर क्षेत्रमा एक अग्रणी शिक्षाकर्मीका रूपमा सुपरिचित रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पिताम्बर गौतम, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का कनकाई नगर अध्यक्ष विनोद सुब्बा, विद्यालय अभिभावक सङ्घका एकाइ सभापति शिवकुमार कडेंल लगायतले बाल मनोविज्ञानलाई ख्याल गर्दै व्यावहारिक सिकाइ सहजीकरण गरिने विद्यालयको रूपमा ‘हाम्रो पाठशाला’ एक भरपर्दो शैक्षिक संस्था बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक मीरा प्रधानले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here