घाइतेको हेलिकप्टरमार्फत उद्धार

0
136

खोटाङ, 

बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् ।

महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो आज दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् ।

दुर्घटनाका गम्भीर घाइते तीनै जनालाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको वडाध्यक्ष टङ्कराम राईले जानकारी दिनुभएको छ । बिरामी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदै गर्दा मयुर आधारभूत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जानेक्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारमा काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले जानकारी दिनुभयो । दुर्घटना लगत्तै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here