चीनले गरिव देशलाई ऋण दिँदा सम्झौता लुकाएको विश्व बैंकको आरोप

0
126

काठमाण्डौं ।

विश्व बैंकले अफ्रिकालाई चीनले दिएको ऋणप्रति चिन्ता व्यक्त गर्दै ऋणका नियम र सर्त थप पारदर्शी बनाउन आग्रह गरेको छ। विश्व बैंकका अध्यक्ष डेभिड मालपासले चीनले अफ्रिकाको विकासशील अर्थतन्त्रका लागि दिइरहेको केही ऋणप्रति आफू चिन्तित भएको बताएका छन्।

तर, चीनले भने कुनै पनि ऋण अन्तर्राष्ट्रिय नियमभित्रै रहेर दिईने जनाएको छ। यद्यपि गत वर्ष अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरूमा ब्याजदरमा भएको तीव्र वृद्धिले ऋणको भुक्तानीलाई महंगो बनाएको छ। किनभने त्यो उधारो धेरै विदेशी मुद्राहरू जस्तै अमेरिकी डलर वा युरोमा गरिन्छ। त्यसैले विकासशील अर्थतन्त्रहरूका लागि यो गम्भीर समस्या हो। मालपासले भनेका छन् –‘यो एक दोहोरो झगडा हो र यसको अर्थ आर्थिक वृद्धि सुस्त हुँदै गइरहेको छ।’

चीनले ऋण दिँदा सम्झौता गर्ने र अरु कसैलाई उक्त सम्झौतापत्र नदेखाउनु राम्रो नभएको पनि मालपासको भनाइ छ। ‘सम्झौता पारदर्शी हुनुपर्छ। पारदर्शी नहुने त्यस्ता ऋणहरु बाट टाढा बस्नु राम्रो हो।’ उनी भन्छन् – ‘अफ्रिकाका सरकारहरूलाई ऋणी बनाउन यस्तो खालको लोभ देखाएर प्रस्ताव गर्नु हुँदैन। किनकि यसले यसलाई धेरै पुस्तासम्मलाई बन्धक बनाउँछ।’

बेइजिङ हालका वर्षहरूमा विकासशील अर्थतन्त्रहरूलाई ऋण दिने सबैभन्दा ठूलो स्रोत बन्न पुगेको छ। विश्व अर्थतन्त्रका लागि कील इन्स्टिच्युटको नेतृत्वमा गरिएको नयाँ अध्ययनले विश्वव्यापी रूपमा चीनले सन् २०१६ र २०२१ बीच २२ देशहरूलाई आर्थिक उद्धारका लागि १८५ अर्ब डलर ऋण दिएको छ।

चीनले आफ्नो आर्थिक सहयोगमा अन्य देशको शोषण गरिरहेको आरोपलाई भने अस्वीकार गर्दै आएको छ। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले चीनले सम्बन्धित देशहरूको इच्छालाई सम्मान गर्ने र कुनै पनि पक्षलाई ऋण लिन बाध्य नपारेको दावी गरेका छन्।

‘हामीले कुनै पनि देशलाई ऋण तिर्न बाध्य पारेको छैन। हाम्रा ऋण सम्झौताहरूमा कुनै राजनीतिक सर्तहरू जोडिएका छैनन्। अरु कसैले पनि यसमा कुनै राजनीतिक स्वार्थ खोज्नु हुन्न।,’ निङले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here