युवाको उमेर १६ देखि ३५ वर्ष राख्ने कि !

0
78

काठमाडौँ,

नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकामा अब युवाको १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी र विभिन्न सरोकारावाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउने छलफल सुरु भएको हो । “सयुक्त राष्ट्र सङ्घ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ”, उहाँले भन्नुभयो, “१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो । चाँडै निष्कर्षमा पुग्छौँ ।”

राष्ट्रिय युवा परिषद् ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले युवाको उमेर १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ । संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ ।

कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताउनुभयो । विभिन्न देशमा युवाको परिभाषा पनि फरक फरक रहेको छ ।

भारतमा १६ देखि २९, चीनमा १८ देखि ३५, बङ्गलादेश र फिलिपिन्समा १५ देखि ३०, जर्मनीमा १४ देखि २६, दक्षिण अफ्रिकाले १५ देखि २९ वर्षका उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेका छन् ।

नेपाल पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन सकिरहेको छैन । ‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।

युवाको जनसङ्ख्या बढ्यो

नेपालमा युवाको जनसङ्ख्या बढेको छ । दश वर्षमा २ दशमलव २१ प्रतिशतले युवाको जनसङ्ख्या बढेको पाइएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत पुगेको छ । अर्थात् युवाको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार एक सय ७३ रहेको छ ।

यसभन्दा अघि २०६८ सालको जनगणनामा युवाको जनसङ्ख्या ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड ६ लाख ८९ हजार आठ सय ४२ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here