गाई भैँसीमा लम्पी स्किन रोगको महामारी फैलिएपछि इलामका किसान चिन्तित

0
119

इलाम ।

गाई भैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । इलामको रोङ गाँउपालिका, सूर्योदय नगरपालिका लगायतका स्थानीय तहमा रोग देखा परेको जनाइएको छ ।

‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको पाइएको छ । किर्ना, भुसुना, झिँगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको छ ।

गाईभैंसीमा यो रोगको संक्रमणले त्रास सिर्जना गरेको रोङ गाउँउपालिका–१ का गणेश ढकालले जानकारी दिए । उनले भने– गाईभैंसीमा खटिरा आउने, ज्व्रो आउने र धमाधम मर्न थालेका छन् । यस्तो अवस्था तत्काल नियन्ण नगरे सबै सखाप हुन्छ ।

यता रोङ गाँउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो(सुवास)ले पशुमा देखिएको रोग नियन्त्रणका लागि द्रुत गतिमा काम भइरहेको बताए । सरकारी स्वास्थ्यकर्मीले मात्रै सेवा प्रवाह गर्न नसकिने भएपछि अहिले बिहान नीजि तथा सरकारी स्वास्थ्यकर्मीहरुसंग छलफल गरेर फिल्डमा खटाउने तयारीमा आफुहरु रहेको उनको भनाई छ ।

रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको जनाइएको छ । संक्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्ने बताइएको छ ।

उता खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा पालिएका गाईभैँसीमा लम्पी स्किन रोगको महामारी फैलिएपछि किसान चिन्तित बनेका छन् । गत माघ मसान्तदेखि गाउँपालिकाका सबै वडामा गाईभैँसीलाई लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोगको महामारी फैलिएको हो ।

गाई भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने रोगको महामारी देखिएको गाउँपालिकाका पशुशाखा प्रमुख डा सुशन ढकालले जानकारी दिए। “गाई भैँसीमा लागेको रोगको समस्या लिएर करिब एक सय जना किसान कार्यालयमा आइसकेका छन् । उनीहरूलाई आवश्यक औषधि तथा विषादी दिएर पठाउने गरिएको छ”, उनले भने, “लम्पी स्किन रोग नियन्त्रणका लागि भनेर अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले तत्कालै उपचार गर्न समस्या भएको छ ।”

छ वडा रहेको जन्तेढुङ्गा गाउँपालिकाको सबै वडाका किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिसकेको स्थानीय बासिन्दाले बताएका छन् । रोग लागेका पशुलाई सार्वजनिकस्थलमा चरणका लागि लैजान नहुने र रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गरेपछि नियन्त्रणमा सहज हुने पशु विज्ञले बताएका छन् ।

कतिपय किसानलाई लम्पी स्किन सार्ने झिङ्गा, लामखुट्टे र किर्ना मार्ने विषादी वितरण गरिएको गाउँपलिकाले जनाएको छ । विज्ञका अनुसार लामखुट्टे, भुसुना, झिङ्गा आदिको टोकाइबाट गाईभैँसीमा लम्पी स्किन सर्ने गरेको बताइएको छ । जन्तेढुङ्गा गाउँपालिकामा पालिएका पशुचौपायामध्ये सबैभन्दा बढी गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको स्थानीय यामबहादुर राईले बताए । “पहिलेपहिले साउने लागेको भनिन्थ्यो । उसबेला हप्ता/दश दिनमा पूर्णरूपमा ठीक हुन्थ्यो”, उनले भने, “अहिले एक पटक रोग लागेपछि लामो समयसम्म जिम्लिरहन्छ । सबैभन्दा बढी गोरुहरूमा रोगको लक्षण देखिएपछि समस्या भएको छ ।”

भारतबाट विसं २०७७ मा मोरङ हुँदै हाल देशका सबैजसो जिल्लामा लम्पी स्किन रोगको प्रकोप फैलिसकेको पाइएको छ । यो रोग सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखिएको थियो । पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश स्थानीय बासिन्दाले आफ्नो आम्दानीको प्रमुख स्रोतकारूपमा पशुपालन गर्दै आएका छन् । छिमेकी स्थानीय तहका किसानले पालेका गाई भैँसीमा महामारीका रूपमा लम्पी स्किन रोगको प्रकोप फैलिएपछि आसपासका किसानसमेत चिन्तित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here