चीनको युद्धकालीन सैन्य भर्ती ‘ ताइवानविरुद्ध लडाइँको तयारी

0
57

काठमाडौं ।

चीनले युद्धकालीन सैन्य भर्तीको नियम परिमार्जन गरेको छ । चीनको राज्य परिषद् र केन्द्रीय सैन्य आयोगले युद्धकालीन सैन्य भर्तीको नियम परिमार्जन गरेको जानकारी दिएका हुन् ।

ताइवानसँग तनाव जारी रहेकै समयमा बेइजिङले युद्धको अवस्थामा कस्ता व्यक्तिलाई सेनामा भर्ती गर्दा प्राथमिकता दिने भन्नेबारे नियम परिमार्जन गरेको हो ।

चीनको परिमार्जित युद्धकालीन सैन्य भर्ती नियमअनुसार अब पूर्वसेनाहरूलाई युद्धका अवस्थामा प्राथमिकताका साथ सेनामा भर्ती गरिनेछ । सैन्य विश्लेषकहरूका अनुसार पूर्व सेनाहरू चाँडै युद्धका लागि तयार हुन सक्छन् जसका कारण अनुभवी मानिसहरूलाई सेनामा भर्ती गराउँदा चीनलाई फाइदा हुनेछ ।

चीनको युद्धकालीन सैन्य भर्ती नियम परिवर्तन भएपछि यस कार्यलाई ताइवानविरुद्ध लडाइँको तयारी भनिएको छ । आगामी मे महिनादेखि परिमार्जित नियमहरू लागू हुनेछन् । चीनले विशेषगरी दक्षिण चीन सागर र ताइवानसँगको समुद्री क्षेत्रमा भूराजनीतिक चुनौतीको सामना गरिरहेको छ ।

गत शनिबारदेखि यसै हप्ताको सोमबारसम्म चीनले ताइवान वरपर तीनदिने सैन्य अभ्यास पनि गरेको थियो । चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताउँदै आएको छ । चीनले दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्छ तर चीन मात्र सो सागरको दाबीकर्ता राष्ट्र होइन । उता चीनले ताइवानलाई आफ्नो भूमि भएको बताउँछ, तर ताइवानले चीनलाई अटेर गरिरहेको अवस्था छ ।

दक्षिण चीन सागर दाबीकर्ता आसियन राष्ट्रहरू र ताइवानलाई अमेरिकाले खुलेरै समर्थन गरिरहँदा सो क्षेत्रमा चीनसँग ताइवान, आसियन राष्ट्रहरू र अमेरिकाको टकराब बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here