एकता र सद्भाव बलियो होस्

0
110

तराईबासी समुदाय विशेषको महत्वपूर्ण पर्व सिरुवा सम्पन्न भएको छ । मुख्यगरी राजवंशी जातिले मनाउने यो पर्व पूर्वी नेपालको झापा र मोरङमा तीन दिनसम्म मनाइन्छ । गनगाँई, ताजपुरिया, माझी लगायतका जातिले विक्रम सम्वतको पहिलो महिनाको पहिलो दिनदेखि यो पर्व मनाउने गर्छन् । परम्परा अनुसार पहिलो दिन अर्थात् बैशाख १ गते जल सिरुवा, २ गते काद सिरुवा र ३ गते अर्थात् तेस्रो दिन रंग खेलेर सिरुवा पर्व सम्पन्न हुन्छ । समुदायभित्रको विवाद, मतभेद, असमझदारी र मतभिन्नतालाई अन्त्य गर्दै आपसी सद्भाव, प्रेम र एकता स्थापित गर्ने उद्देश्यले मनाइने सिरुवा पर्वले सबैमा बन्धुत्वको भावना जाग्रत गरोस् ।

पछिल्लो समय नेपालीमा जातीय पहिचान र अस्तित्वको बोध गर्ने सचेतता, जागरुकता बढेको छ । त्यसैले लोप हुन थालेका सांस्कृतिक प्रचलन, मूल्य र मान्यताको संरक्षण र प्रवद्र्धन गर्ने लहर पनि चलेको छ । राज्यले पनि विभिन्न वर्गमा विभाजन गरी मूलप्रवाहमा ल्याउने नीति लिएको छ । त्यही सन्दर्भमा राजवंशी जाति पनि संगठीत हुँदै जातीय अस्मिता, विशिष्टता र मौलिकताको रक्षा गर्न लागेको छ । आपसको फुटले कुनै पनि जाति, वर्ग वा समुदायको उत्थान हुन नसक्ने सत्यलाई अनुभूत गरी झापाको भद्रपुर आसपास बस्ने यो समुदायले राजवंशी भाषिक, सांस्कृतिक संग्रहालय निर्माणको शुभारम्भ पनि गरेको छ । समुदायको हितकै निम्ति खुलेका कतिपय संस्थाहरु विचार, व्यवहार र कार्यशैलीको कारण टुक्रिएका बेला सबैलाई समेट्ने गरी संस्था निर्माणको काम अघि बढाएको बताइएको छ ।

राज्यले पछि परेका जातिको उत्थानका लागि विविध कार्यक्रमहरु अघि सारेको छ । त्यसका लागि शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाको प्रत्याभूतिका विषयमा पनि विशेष कार्यक्रमहरु सञ्चालन गरिएको छ । स्थानीय सरकारले पनि आफ्नो तहको धार्मिक, सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले विशेष दिन घोषणा गर्दै विदा दिन थालेको छ । यही क्रममा भद्रपुरमा रहेका राजवंशी समाजका अगुवाहरुको पहलमा शुरु भएको अभियानले आपसी विवादको अन्त्य गर्दै भाइचाराको सम्बन्ध विस्तार गरोस् । सबैमा मौलिकताप्रति प्रेम र अपनत्व बढाओस् । किनकि यही विशिष्टता नै नेपालीको पहिचान हो र पृथ्वीनारायण शाहले भने जस्तै विभिन्न फूलहरुको साझा फूलबारी पनि हो । यसको संरक्षणमै हामी सबैको अस्तित्व कायम रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here