अकाल मृत्युलाई रोकौं

0
108

यो वर्ष पनि राजधानी लगायतका ठूला शहरहरुमा वायु प्रदुषण उच्च भएको छ । बढेको प्रदुषणका कारण श्वासप्रश्वास तथा निमोनियाका रोगीहरुको चाप पनि उच्च भएको अस्पतालहरुले जनाएका छन् । यस वर्षको प्रदुषण बढ्नुको कारण जंगलमा लागेको डढेलो र वर्षा नहुनु नै रहेको वातावरण विभागले जनाएको छ । विभागका अनुसार राजधानी काठमाडौंका वायु प्रदुषण केन्द्रले वायु मण्डल प्रदुषित भएको जनाएका छन् । वायु प्रदुषणकै कारण केही दिनदेखि हवाई उडान पनि प्रभावित भएका छन् । विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको भन्दै पानी नपरेकाले हावा बहन नसक्दा प्रदुषण एकै ठाउँमा थुप्रिएको बताए । उनले बारा, पर्सा र चितवनबाट निस्किएको धुँवाले प्रदुषण बढाएको दाबी गरे ।

प्रदुषण बढ्नुमा सवारीको चापको समेत भूमिका रहन्छ । त्यसैले सवारीको समेत प्रदुषण मापन गर्ने गरिएको छ । पटक–पटक गर्ने गरिएका प्रदुषण जाँचका क्रममा मापदण्ड बाहिरका एकतिहाई सवारी भेटिने गरेका छन् । यसै पनि जलवायु परिवर्तन तीब्रगतिमा भइरहेको छ । यसका पछि मानवीय गतिविधि नै बढी जिम्मेवार छ । बढ्दो वन विनाश, औद्योगिकीकरण, विनाशक हातहतियारको उत्पादन र प्रयोग पनि प्रदुषणका कारक हुन् । बढ्दो जनघनत्वले पृथ्वीको सन्तुलनमा नकारात्मक असर गर्छ नै । यस्तोमा प्रदुषण नियन्त्रण गर्न सबै पक्ष, संस्था, व्यक्ति र राष्ट्रले सामुहिक प्रतिबद्धतासहित कार्यक्रम अघि बढाउनुपर्छ ।

यो समय सुख्खा, हुण्डरी र आगलागीको जोखिमको समय हो । पछिल्लो एक साताको अवधिमा देशका दुई सय ९० ठाउँमा डढेलो लागेको थियो । फागुनदेखि बैशाखसम्म डढेलो लाग्ने जोखिमयुक्त समय भएकाले यो समय प्रदुषण बढ्ने गरेको छ । बढ्दो प्रदुषणले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका रोगीहरुलाई बढी असर गर्छ भने अन्यले समेत मास्क लगाएरै निस्कनुपर्ने वातावरण विभागका प्रवक्ता पौडेल बताउँछन् । विगतका वर्षहरुको तुलनामा यो वर्ष हिउँदमा पानी परेन । त्यसले पनि प्रदुषण बढाउन मद्दत गरेको छ । यसै पनि दक्षिण एसियामा प्रदुषणकै कारण हरेक वर्ष बीस लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । त्यसमा पनि विश्वका दश प्रदुषित शहरमध्ये नौ वटा दक्षिण एसियामा र त्यसमध्ये काठमाडौं एक हो । अतः प्रदुषण नियन्त्रण गर्न सरोकारावाला निकायसँगै संघ, प्रदेश र स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । त्यसमा आममानिसको समेत सकारात्मक र सहयोगी, साथ आवश्यक हुन्छ । अन्यथा अकाल मृत्युको कारणलाई रोक्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here