‘लम्की स्किन’ले मर्र्र्दै लैना गाई पशु सेवा विज्ञ केन्द्र जनशक्ति विहीन

0
75

भगीरथ भण्डारी,
इलाम।

इलामको रोङ गाउँपालिका –५ का मिलन नेउपानेको गाई गोठमै मर्यो । एक लाख रुपैयाँ दाम मोल्दै गरेको गाई एक्कासि विरामी भएर मर्यो । उनले उपचार गराउँदा–गराउँदै पनि गाई बचाउन सकेनन् ।

रोङकै मनलाल कट्टेलको गाई पनि बिरामी छ । सोही ठाउँका राजेन्द्र आचार्यको ब्याउन लागेको गाई १५ दिनदेखि विरामी छ, विरामी गाईका खुट्टा पाकेर पिप निस्किन थालिसकेको छ । इलाम नगरपालिका –१० गोदकका वीरेन्द्र मिश्रका ३ वटा गाई विरामी छन् । त्यहीँका राजकुमार रम्तेलका लैना गाई भकाभक बिरामी मरिरहेका छन् । गाई विरामी परेपछि किसान तीतेपाती र विभिन्न जडीबुुटी खोजेर गाई बचाउने उपाय खोज्दैछन् ।

इनपा –१० कै दमन्ता कोइरालाको गोठमा दिनमा १२ लिटर दूध दिने लैनो गाई ११ दिनदेखि बिरामी छ । ‘डाक्टरले दुइटा सुई लगाइदिए तर खुवाउने औषधि चाहिँ छैन भन्छन्,’– कोइराला भन्छिन् – ‘अलि अत्थवा चाहिँ भयो तर अब के उपचार गरेर गाई बचाउने भन्ने डाक्टरलाई पनि थाहा छैन रे ! सोही ठाउँका नवीन गौतमको दैनिक १८ लिटर दूध दिने गाई पनि मर्यो । घरायसी उपचार गदागर्दै १८ लिटर दूध दिने गाई उनले बचाउन सकेनन् । दुई साताअघि स्थानीय नरबहादुर पुर्कुटीको ५ लिटर दूध दिइरहेको गाई पनि म¥यो ।

उनीहरु मात्र होइन जिलाका अधिकांश किसानका गाई अहिले विरामी छन् । केही समययता गाईवस्तुमा ‘लम्की स्किन’ रोग फैलिएर गाई भकाभक मर्न थालेपछि किसान अताल्लिएका छन् । औषधोपचार हुन नसकेको रोगका कारण गाई मर्न थालेपछि जिल्लाका हजारौं किसान चिन्तामा छन् । गाईलाई ज्वरो आउने, शरीरभर फोका उठ्ने, तिनै फोका पाकेर कीरा पर्ने, खुट्टा सुन्निने जस्ता लक्षण गाईमा देखिएको किसान बताउँछन् ।

यस्ता लक्षण देखिएको केही दिनमा घाँस खान छाडेर पसारिने र मर्ने गरेको किसानको भनाइ छ । करिब तीन सातायता इलामका १० वटै पालिकामा यो रोगको संक्रमण फैलिँदै छ । पशु प्राविधिकका अनुसार उपयुक्त औषधि र उपचार नहुँदा अहिले यो रोग बढ्ने क्रममा छ । गोठमा गाई मरेपछि झिँगाका कारण पनि गोठमा बाँधिएको एउटा गाईबाट अर्काेमा यो रोग सर्ने गरेको अनुमान पशु प्राविधिकको छ ।

झापास्थित भेटेरीनरी अस्पतालका पशुप्राविधिक शितल भट्टराई रोगी पशुको नमूना प्रयोगशालामा पठाइएको भन्दै अहिले रोग नियन्त्रण हुन नसकेको र यसको खोप नभएको बताउछन् । उनले भने– हामीले खोपका लागि प्रयास गरिरहेका छौं, गर्मी मौसम भएकाले पशुलाई फोहोरबाट बचाउन पनि आवश्यक छ । यता इलाम नगरपालिकाले गाईहरुमा लम्की स्किन डिजिज जस्तै लक्षण भएको नयाँ रोग फैलिएको हुनाले गाईलाई मर्नबाट जोगाउन तथा पशुधनको सुरक्षा गर्न सल्लाह सुझाव मागेको छ । सोमबार सूचना गरी नगरपालिकाले सल्लाह सुझावको अनुरोध गरेको हो । रोङ गाउँपालिकाले विरामी भएका गाईहरुको उपचारमा खटिरहेको जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्र जनशक्तिविहीन

जिल्लाभरका पशुमा ‘लम्की स्किन’ले भकाभक मर्दै गर्दा इलाममा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनशक्तिविहीन छ । विगत साढे तीन महिनादेखि पशु प्राविधिक र कर्मचारी नहुँदा एक कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । तीन महिनादेखि एक्लै कार्यालय सञ्चालन गरिरहेको कार्यालय सहयोगी टंकप्रसाद खतिवडा बताउँछन् ।
बिहान कुचो लगाउनेदेखि लिएर बोका, सुँगुर खसी पार्ने काम पनि गर्नुपर्ने उनले बताए । इलाम नगरपालिका वडा –९ का रोमनाथ नेपाल १२ दिन गाई बिरामी भएको तर विशेषज्ञ डाक्टर उपलब्ध नभएको र अहिले गाई मरेको बताउँछन् । उनले भेटनरी अस्पताल भद्रपुरमा फोन गरेर जानकारी गराउँदा पनि सीमित जनशक्ति भएकोले कही दिन लाग्ने जवाफ पाएको बताए ।

इलामको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई कर्मचारी नभएकाले सम्पर्क कार्यालयको रुपमा सञ्चालन गरिरहेको छ । यहाँ कार्यरत पशु चिकित्सक डा. सञ्जय ढुङ्गाना गत माघ ३ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन हुँदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीहरू डिगबहादुर कार्की र भीम सङ्ग्रौलाले अवकाश पाएपछि प्रदेश मन्त्रालयले यहाँ जनशक्ति परिचालन गरेको छैन । डा. ढुङ्गाना सरुवा मिलाएर मन्त्रालयमा नै हाजिर गरिरहेका छन् ।

प्रयोगशाला, कार्यालय निवास सहितको संरचना रहेको इलामको पशु सेवा विज्ञ केन्द्रमा रहेका विभिन्न उपकरण पनि सञ्चालनमै नआई थन्किएका छन् । यहाँ रहेको कुटी काट्ने, साइलेज बनाउने, मिनिरल ब्लक बनाउने मेशिन र काउ सिड जस्ता उपकरण समेत प्रयोगविहीन बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here