अपराध रोक्न मनोपरामश

0
90

ठगी, लुटपाट, लागूऔषध, करणी र हत्याका समाचारले अखबारका पानाहरु भरिन थालेका छन् । दिनहुँजसो प्रकाशित यस्ता नकारात्मक समाचारहरुले हाम्रो मानसिकता र चरित्रको चित्रण गरिरहेको छ । तर, यस्ता समाचार प्रकाशित भइरहँदा पनि न ठगिने वा पीडित हुने क्रम घटेको छ न त दोषी र पीडकहरु हतोत्साही भएको देखिएको छ । अपराधको श्रृंखलामा सबैभन्दा बढी वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी सम्बन्धी घटनाहरु छन् । त्यसमा पनि विकसित देशहरुमा पठाउने भन्दै राम्रो तलब सुविधासहितको लोभ देखाएर अनधिकृत व्यक्तिहरुले नेपालीलाई लुटिरहेका छन् । यसरी विभिन्न क्षेत्र र विषयमा हुनसक्ने अपराध नियन्त्रण गरी समाजमा शान्ति र सुव्यवस्था कायम गर्न राज्यले विभिन्न इकाइहरु गठन गरेको छ । तिनले दिनहुँजसो नै अनियमित, अवैध र कानूनद्वारा वर्जित काम गर्नेहरुलाई पक्राउ गर्ने, अनुसन्धानबाट दोषी पाइए दण्डित गर्नेसम्मका काम गरिरहेका छन् ।

विद्यमान राजनीतिक घटनाक्रमका कारण आममानिसमा यसप्रति वितृष्णा चुलिएको छ । यसले राजनीतिक व्यवस्थाप्रति नै अविश्वास बढाएको छ । आममानिसको असन्तुष्टि र आक्रोश यति बढेर गएको छ कि समाज असहनशील बन्दै जाँदैछ । यस्तो अवस्थामा कतिपय अपराधहरु पनि सामान्य झैं हुन जान्छन् । त्यसैले अपराध नियन्त्रणका लागि राजनीतिक चेत, व्यवहार र प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्छ । जसका लागि नेता र नेतृत्वगणकै बोली, व्यवहार र कार्यशैलीमा परिवर्तन हुन जरुरी छ । राजनीतिको छाता ओढेर जघन्य अपराधहरु पनि लुकेका–लुकाइएका कतिपय घटनाहरुले समाजलाई हिंसा र अपराधको बाटोमा डोहो¥याइरहेको छ । त्यसैले आजको आवश्यकता हो कि आममानिसमा सहनशीलता, अध्ययनशीलता र अरुको नक्कल गरेर छिटो अघि बढ्ने मानसिकतामा परिवर्तन गर्नुपर्छ ।

अपराध विषयका विज्ञहरुले यसको उद्गमस्थल समाज नै रहेको बताएका छन् । त्यसैले यसको नियन्त्रण पनि त्यही समाजकै सहयोगबाट मात्र सम्भव हुन्छ । समाज त्यहाँ बस्ने नागरिकको समष्टि रुप हो, त्यसैले अपराध नियन्त्रणका लागि सम्बन्धित इकाइलाई सहयोग गर्नु नागरिकको कर्तव्य हुन जान्छ । अपराध अनुसन्धानका लागि नेपाल प्रहरी एसिया महादेशमै उत्कृष्ट मानिएको छ । तर, सफल अनुसन्धानमा बाधक देखिने केही कारणले कहिलेकाहीँ यो संगठन नै विवादित बन्ने गरेको छ । त्यस्ता विवादले पनि अपराधको मानसिकता र घटनालाई प्रश्रय दिएको छ । मानिसमा रिस, द्वेष, इष्र्या, घृणा जस्ता मनोभावनालाई हटाउन नसकिएसम्म अपराधको श्रृंखला सकिने छैनन् । त्यसैले मनोभावना परिवर्तन ल्याउने चेतना प्रवाह गर्ने कार्यक्रम ल्याइनु पर्दछ । त्यसो गरिए मात्र बढ्दो अपराध नियन्त्रण गर्न र सभ्य समाज निर्माण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here