कनकाईका बुद्धिजीवीसँग मिसन ग्रासरूट

0
121

सुरुङ्गा ।

नेकपा (एमाले) को दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरूट) अन्तर्गत कनकाई नगरका बुद्धिजीवीसँग सुरूङ्गामा अन्तरक्रिया सम्पन्न भएको छ ।

शुक्रवार नेपाल बुद्धिजीवी परिषद् कनकाई नगर अध्यक्ष अखिलकुमार कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य एवम् कोशी प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाइँ मन्त्री तिलकुमार मेन्याङ्बोले प्रमुख अतिथिका रूपमा प्रशिक्षण दिएका थिए ।

मन्त्री मेन्याङ्बोले माक्र्सवादीहरू द्वन्द्ववादी हुने भएकाले हरेक वस्तु, घटनाक्रम र गतिविधिलाई सकारात्मक र नकारात्मक दुवै पाटापक्षबाट हेर्नुपर्ने बताए । उनले राजनीतिक क्रान्तिको चरण सकिएर मुलुक आर्थिक र सामाजिक क्रान्तिको चरणमा प्रवेश गरेकाले एकताबद्ध रूपमा सहभागितात्मक आर्थिक गतिविधिमा योजनाबद्ध रूपमा संलग्न हुन र अनुकरणीय नमुना प्रस्तुत गर्न पार्टी नेता, कार्यकर्ता र स्थानीय सरकारलाई सुझाव दिएका थिए ।

उनले मिसन ग्रासरूट जनसम्बन्ध थप सुदृढ गर्दै एमालेलाई जनआधारित कार्यकर्ता पार्टीको रूपमा विकास गर्ने वैचारिक तथा साङगठानिक सुदृढीकरण अभियान रहेको बताए ।
उक्त कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्तकुमार बानियाँले पार्टीलाई वैचारिक र सङ्गठनात्मक रूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न यो विशेष अभियानको आवश्यकता बोध गरिएको र अभियान सफल भएको बताए ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीविरूद्ध चौतर्फी घेराबन्दी, षडयन्त्र र आक्रमण हुँदा पनि त्यसलाई चिर्दै जनताको रोजाइको पहिलो पार्टी बन्न सफल भए पनि पार्टीको सङ्गठनात्मक जीवनमा देखापरेका अस्तव्यस्तता र अराजकताका कारण कमिटीगत परिचालनमा समस्या देखापरेका र निर्वाचनका सिलसिलामा विभिन्न गलत प्रवृत्ति प्रकट भएका कारण पार्टीले कैयौं महत्त्वपूर्ण स्थानहरू गुमाउनुपरेको हुँदा यस्ता समस्याको समाधान गर्ने अभियानको प्रमुख उद्देश्य रहेको नेता बानियाँले बताए ।

पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न रहेका व्यक्तिहरू अलग भइसकेकाले पार्टी सदस्य र आम जनसमुदायसम्म जाने यो अभियानले पार्टी जीवनलाई ऊर्जाशील बनाउन सफल भएकोे एमाले झापा जिल्ला कमिटी सदस्य एवम् कनकाई नगर इञ्चार्ज रविन्द्र लम्सालले बताए ।

राष्ट्रियताको पहरेदार, लोकतन्त्रको आधारस्तम्भ र सामाजिक–आर्थिक रूपान्तरणको संवाहकका रूपमा रहेको नेकपा (एमाले) नेपालको राजनीतिकै मूलधार र नेतृत्वदायी शक्तिका रूपमा थप सशक्त बन्ने नेता लम्सालको भनाइ छ ।

सर्वहारा श्रमजीवी वर्ग पक्षधरतालाई जोगाइराख्ने र विभाजनकारी, अवसरवादी, अराजकतावादी प्रवृत्तिबाट पैदा भएका असहजता र अन्यौललाई चिर्दै पार्टीलाई एकताबद्ध बनाउने र जनतासँगको सम्बन्ध र सौहार्द्रतालाई थप उच्च भावनाका साथ अगाडि बढ्न पार्टीलाई मजबुत बनाउन योजना निर्माण, कार्यान्वयन र अनुगमनमा भूमिका खेल्ने बुद्धिजीवीको मूल दायित्व रहेकोमा लम्सालको जोड थियो ।

नेकपा एमाले झापा जिल्ला कमिटी सदस्यहरू गोकर्ण ओझा, ओमप्रसाद पाठक, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतको आतिथ्य रहेको कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सल्लाहकार टीकाप्रसाद लामिछाने, कनकाई बौद्धिक समाजका अध्यक्ष हरिप्रसाद तिम्सिना, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर अध्यक्ष गोपीकृष्ण भट्टराई, कानुन व्यवसायी तारा बाराकोटी, बुद्धिजीवीहरू रामकुमार पाठक, बिनोद सुब्बा, बल्लभकुमार गौतम, जनार्दन पोखरेल, तिलक गजमेर लगायतले पार्टीलाई वैचारिक रूपमा स्पष्ट र सङ्गठनात्मक हिसाबले चुस्त पार्टी बनाउन सुझाव दिएका थिए ।

जनआधारित कार्यकर्ता पार्टीको रूपमा रहेको एमालेलाई भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ट रूपमा आबद्ध एवम् नयाँ चुनौतीहरूको सामना गर्न सक्षम एवं समाजमा सबैभन्दा तल रहेका जनताको हितका लागि प्रतिबद्ध पार्टी बनाउन केन्द्रीय नेतृत्व बढी जिम्मेवार हुनुपर्नेमा उनीहरूको जोड थियो ।

लोकप्रिय मतमा मुलुकको पहिलो र सङ्घीय संसदमा दोस्रो रहेको एमालेले गएको फागुन ५ गतेदेखि पार्टीको वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान देशभर एकसाथ शुरू गरेको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले कनकाई नगर कमिटी उपाध्यक्ष विनोद राना मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here