मलामी

0
230

 

 

छेउमा जल्दै गरेको त्यो चितामा म हेरिरहेछु । उसको शरीर पूर्णरुपमा दाउराहरुको बीचमा सजिएको छ । उसलाई वरिपरिबाट आफन्तले घेरेका छन् । ऊ श्वासविहीन लडिरहेको छ । निर्जिव प्राण बिना ऊ एउटा मुढा जस्तै ढलिरहेको छ । उसको त्यो निन्द्रा अनन्तकालसम्मको लागि छ । अब ऊ कहिले फर्केर न आउने भएर आफ्नो त्यागी सकेको देह खरानी बनाउन कुरिबसेको छ । मेरो अन्तरमनमा एउटा प्रश्न चिन्ह उत्पन्न हुन्छ– ‘यो आर्यघाटमा धेरैले आफ्ना सम्बन्ध अनि आफ्ना प्रियजनसँगको नाता यही अन्त्य गरी जान्छन् । कतिले त्यसपछि आफूलाई कठोर बनाउँदै संघर्षशील जीवन बिताइरहन्छन् । रुँदै–रुँदै धेरैले आफ्ना आफन्तको शरीरको यो भौतिक जगतबाट बिदा दिन्छन् ।’

‘खै अलिकति घ्यू दिनु त ।’ –यो आवाजले म झस्किँदै छेउको चिताबाट म त्यो आवाजप्रति ध्यान दिन पुग्छु । शव जलाउनलाई तयारी गर्दैगर्दा एक व्यक्तिले घ्यू मागिरहेका थिए । त्यहाँ अर्को शव जलाउने तयारी भइरहेको थियो । ‘ल यो लिनुहोस दाजु ।’ –अर्को अधबैंशे मानिस हातमा घ्यु थमाउँदै भन्छ– ‘त्यो शरीरमा मजाले लगाइदिनुहोस् है । फेरि आगोले छिटो समाउँदैन । समय लाग्छ जल्न ।’
‘हुन्छ’ –पहिलो प्रतिक्रिया फर्काउँछ । अनि शरीरको विभिन्न भागमा घ्यू लगाइदिन्छ । दाउरामा घ्यू छरिदिन्छ । नदीको बगेको पानीलाई छुवाउँदै बनाएको चितामा पाँच तहको दाउरा राखिएको छ । मुनि मोटो अनि अलिक पातलो गर्दै माथि शव सुताउनेमा सहज होस् भनी एकनासले मिलाइएको छ । वरिपरि सयपत्री फूलको मालाले चितामा लड्न लागेको शवलाई सम्मान दिए झैं सजाइएको छ । त्यसमाथि शव राखेर माथि दाउरा थुपिएको छ । चितामा लडेको देहलाई माथिबाट ढाकिने गरी दाउराले छोपिएको छ । मुखको भाग थोरै देखाएर त्यहाँ दागबत्ती दिन तयारी पूर्णपाठ भइसकेको छ ।

छेउमा बसेको मलामीको संख्या अधिक छ । मलामी हेर्दा लाग्छ लडिरहेको देहको राम्रे अनि बाक्ला साथी थिए, आफन्त थिए अनि उसको राम्रो लोकाचार थियो । मलामीको भिडले पक्कै ऊ कोही प्रतिष्ठित व्यक्ति भएको स्पष्ट सन्देश दिइरहेको थियो । मैले पनि उसलाई यही मोहफसलमा चिनेको हुँ । उनीसँग मेरो कारोबारको शिलशिलामा भेट भएको थियो । एक पटक मेरो अफिसमा उनी आएका थिए । उनको बोल्ने शैली र सदाचारपनले मेरो मन जित्यो । उनलाई मैले पहिलो पटक भेटे जस्तो लागेन र लाग्थ्यो हामीबीच बर्षौंअघिको चिनजान थियो । क्रमिक रुपमा हाम्रो भेटघाट बढ्दै गयो । उनको आदार गर्ने प्रवृत्ति अनि शिष्टाचारले धेरैलाई सजिलै प्रभावित पार्न सक्थ्यो । मानौ उनको त्यो अदभूत क्षमता थियो । मिठासपूर्ण बोली अनि उनको माया गर्ने स्वभावले कोही किन आकर्षित नहुँदो होस् । म पनि त्यसैले उनको शुभचिन्तक एवम् साथी भए ।

‘जेठो छोराल अगाडि आउनुहोस् ।’ –पण्डित आवश्यक विधि गर्न छोरालाई डाक्दै थिए । मलामीहरु सबै हात–हातमा तुलसीको डाठ लिएर अन्तिम श्रद्धाञ्जली दिन हतार गर्दै थिए । हुन त आजकल मलामी जान ठूलो कुरा भएको छ । सबैलाई आ–आफ्नो हतार अनि व्यस्तताले गर्दा बस्न फुर्सद कहाँ हुदोरहेछ र ? यहाको मलामीमध्ये पनि धेरैलाई शवमा आगो झोसी सक्दा अन्तिम श्रद्धाञ्जली दिएर हिँड्न हतार किन नहुँदो हो ? नजिकका आफन्त तथा इष्टमित्र भने अन्तिम समयसम्म बसेर साथ दिइरहेका हुन्छन् । आगो दन्किएर बलेको छ । धँुवाको मुस्लोले वरिपरिको वातावरण कालो र प्रदुषणयुक्त पारेको छ । आगोसँगै त्यहाँ धेरैको सम्बन्ध जलेको छ । धेरैको हृदय रोएको छ । एक श्रीमतीले आफ्नो श्रीमान गुमाएकी छिन् । उनले आफ्नो सिउँदोको सिन्दुर गुमाएकी छिन् । सधैँ श्रीमतीको रक्षार्थ खट्छु भनी लगाइदिएको पोते गुमाएकी छिन् । सजाएर लाउन भनी हातमा लगाइदिएको चुरा गुमाएकी छिन् । उनले घरको बलियो रुपमा रहेको आफ्नो सबैभन्दा महत्वपूर्ण मान्छे गुमाएकी छिन् ।

त्यही नजिक रहेका उनका छोराछोरीले आफ्नो बाबा गुमाएका छन् । आमाको आडमा आफ्ना सन्तानलाई एक्लै छाडेर चितामा जलिरहँदा उनको आत्मा नजिकबाट जलिरहेको चिता र रोइरहेको आफ्नो सन्तान हेर्दै आफूलाई पुनः फर्काउने प्रयास गर्दै होला । त्यसैले उजाड आफ्ना सपना क्षणभरमा चकनाचुर भएको हेर्दै उनी आफ्नो सन्तान एवम् श्रीमतीलाई अलबिदा भनी रहेका होलान् ।
छोराको लामो कपाल काटिएर अहिले तालु चिन्डे बनाइएको छ । छेउमा ऊ दाहसंस्कारको विधि गर्दैछ । छोरी भने आमालाई सम्हाल्न खोज्दै आफू भकानिँदै रोइरहेकी छे । मन विक्षिप्त बनेर सबैतर्फ भड्किरहँदा आफन्त एवम् घनिष्ठ मित्रहरु भने समवेदना दिँदै मन दह्रो पार्न घरका सदस्यहरुलाई भनिरहेका छन् । एकजना आमा भन्दै थिइन्– ‘आखिर ढिलो–चाडोको कुरा न हो नानी । एकदिन सबैले यस संसर छाडेर जानै पर्छ, धैर्य गर । अब यी छोराछोरीको जिम्मा तिम्रो नै हो ।’ यी शब्द सुनिरहँदा श्रीमतीको धैर्यताको बाँध फुटेर झन् डाको छाडेर रुदै भन्छिन्– ‘हो नि आमा म यिनीहरुको सहारा हँु, तर अब मलाई साथ दिने मेरो श्रीमान नै नभएपछि म एक्ली भएकी छु । मेरो सहारा, मेरो शक्ति, मेरो मुटु नै नरहे पछि अब म भने कसरी जीवनयापन गर्नु ?’

अनुत्तरित हुँदै ती आमा त्यहाँबाट आफै रुँदै अन्त गएर बस्छिन् । त्यहाँबाट अर्को स्थानमा गएर बसिरहँदा उनले आफ्नो अतीत सम्झिँदै टोलाउन पुग्छिन् । सायद उनले पनि पहिला नै आफ्नो नजिकैको मान्छे गुमाइसकेकी होलिन् । उनलाई पनि असह्य पीडा भएको उनको आँखामा प्रष्ट देखिन्थ्यो । यत्तिकैमा अर्को शव लिएर फेरि केही मलामी आइपुग्छन् । जम्मा सात–आठ जनाको समूह त्यहाँ आएर दाहसंस्कार विधि गर्न थाल्छन् । उनीहरु सायद निम्न वर्गीय परिवारका हुनुपर्छ । उनीहरुको ठूलो समूह थिएन । उनीहरुको साथमा सिमित व्यक्ति थिए र त्यही सिमिततामा उनीहरुको दाहसंस्कार प्रक्रिया अगाडि बढिरहेको थियो । यो मलामीमा आउँदा पनि संख्या हेरिदोरहेछ । समूह हेरिँदारहेछन र अन्त्यमा आफूले कति आफन्त अनि मलामी कमाइयो भनी हेरिँदोरहेछ ।
‘रमेश सर अब घर जाने होइन ?’ –शिव सरले मलाई बोलाउँदै रहेछन् ।

‘हजुर म बस्छु एकछिन आज मेरो मन यतै भुलिएको छ । म बिस्तारै आउँछु । हजुर जाँदै गर्नुहोस् ।’ –शिव सरलाई उत्तर फर्काउँदै आफू त्यही बस्ने म निधो गर्छु । यता आगो दन्किरहँदा आधा मलामी फर्किसकेका थिए । अब सिमित थिए, त घर परिवार अनि उनीहरुका आफन्त अनि केही नातेदार । मलाई एकदिन उनले भनेको कुरा याद आयो– ‘बाबु न बिराउनु न बिगार्नु भन्छन् । मलाई त कसैले आएर एक इञ्च हल्लाउन पनि सक्दैन । म शक्तिशाली छु । कोही आए छोएमात्र पनि म उसलाई खरो जवाफ दिने गर्छु ।’
मैले सोधेको थिए– ‘हजुरलाई सबैले माया गर्दा हुन हजुरलाई किन पो कसैले केही गर्ने आँट गरोस् ?’

उनी भावुक हुँदै भन्दै गए– ‘जन्मेबाट अहिलेसम्म कसैको पिटाइ खाएको छैन, अब मर्ने बेला हेरौं को भाग्यमानी पर्ने हो ।’ यति भन्दै उनी गललल हाँसेका थिए । म उनको त्यो भावको अर्थ बुझ्न सकिरहेको थिइन् । त्यसैले पनि म अवाक बनी उनलाई केही उत्तर फर्काउन सकिनँ अनि फिस्स उनीसँग हाँस्दै कुरा मोडेको थिए ।

आज उनैको शव यहाँ चितामा जलिरहँदा म उनको त्यही वाक्य सम्झिन पुगेँ । नभन्दै अगाडिको दृश्य फरक देखियो । दन्किरहेको आगोसँगै दाउरा पनि सकिन लाग्दै थियो । लास जलाउने व्यक्ति भने लामो एउटा बास बोकेर त्यही जल्दै गरेको शवमा बारम्बार उनको शरीर माथि पिटिरहेका थिए । उनले त्यो शरीर गलाउन र छिटो जलाउन त्यसो गर्दै थिए । यो दृश्य देख्दा उनको त्यही भनाई याद आयो । सायद एकदिन सबैले पिटाई खाने रहेछ । उनलाई पिट्ने ती भाग्यमानी भने त्यही पोडे परेछ । जसलाई न उनले पहिला कहिले चिनेका थिए न वास्ता गरेका थिए । केवल मलामी आउँदा देखेका थिए होलान् उनले पनि तर आज उसैले उनको शरीर छिट्टै खरानी बनाउन हतार गर्दो भयो ।

उनले पहिला एकदिन भनेको थिए– ‘बाबु म जहाँ गए पनि त्यहाँको मानिसलाई खुशी पार्न पाए पुग्छ । मन आनन्द हुन्छ अरुको मुहारमा हासो देख्दा ।’
आज उनै मान्छेले उनका लागि सायद संसार रोइरहँदा ती पोडेको मनमा खुशी दिएका छन् । आखिर पोडेको त जागिर हो । उसलाई जति धेरै शव आयो त्यति धेरै फाइदा । पोडे लास जलाउँदै भए पनि छेउमा गएर साधारण दैनिकी झैं नम्र र मुहारमा तनाव थोरै पनि थिएन । चिता अब पूर्ण रुपमा जलिसकेको थियो । दाहसंस्कारको सबै काम सकिन लागेको थियो । सबै मलामी फर्किसक्दा रहेका आफन्त, इष्टमित्र अनि केही नजिकका छिमेकी मात्र बाँकी थिए । पण्डितले दाहसंस्कारको अन्तिम विधि गराउँदै छोराछोरी र श्रीमतीलाई जलिसकेको खरानी पानीले पखाल्न लगाउँदै छन् । त्यस पछाडि कपडा फेर्न लगाई अब अन्तिम तेर्ह (१३) दिने काजकिरियाको विधि गराउन सबैलाई घरतर्फ जाने संकेत दिए ।

म पनि उनै घरपरिवारसँग त्यहाँबाट निस्किएँ । म सोचनशील भए आखिर जीवन के रहेछ र एउटा रंगमञ्च बाहेक । ऊ आयो, आफ्नो जीवन निर्वाह गर्दैगर्दा अनेक सम्बन्ध कायम गर्दै, माया गाँस्दै, दुःख–सुख भोग्दै परिवारसँग रमाउँदै जीवनको अन्त्य कहिले हुने हो थाह नपाई एक्लै यस आर्यघाटमा सुतेर आफ्नो सबै भौतिक अस्तित्व मेटाउँदै ब्रह्मलिन हुनुपर्ने रहेछ । मानिस जति नै आयु भए पनि अझ बाँचौं भन्ने लाग्छ । उनले मलाई भनेका थिए– ‘म अझै २०–२५ बर्ष बाच्न चाहन्छु बाबु । अझ धेरैसँग आत्मियता गाँस्न मन छ । म अधुरै छु । अझ मैले धेरै सिक्नुछ ।’

मलाई अन्त्यमा एउटा भनाइ याद आयो –
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here